भारतले जित्यो टी-२० विश्वकपको उपाधि



काठमाडौं ।

भारतले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ। गए राति सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनाउन सक्यो। उसका लागि हेनरिक क्लासेनले ५२ रन बनाए। त्यस्तै क्विन्टन डे ककले ३९ रनको योगदान दिए। ट्रिस्टन स्टब्सले ३१ रन बनाए।

भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए। त्यस्तै जसप्रित बुमराह र अर्शदीप सिंहले दुई/दुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो। यस अघि भारतले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। त्यस्तै अक्षर पटेलले ४७ रन बनाए। शिवम दुवेले  २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई/दुई विकेट लिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनले एक एक विकेट हात पारे।

यो सहित भारतले दोस्रो पटक टी- २० विश्वकपको उपाधि जितेको छ। यस अघि भारतले २००७ मा पहिलो टी- २० विश्वकप जितेको थियो। त्यस्तै पहिलो पटक फाइनलमा पुगेको दक्षिण अफ्रीका भने उपविजेता बनेको छ।

प्रतिक्रिया दिनुहोस्