पत्रकारको कार्यालयमा मध्यरात ताला



हेटौंडा ।
नेपाल पत्रकार महासंघको निर्वाचनको संघारमा नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडास्थित नेपाल पत्रकार महासंघको कार्यालयमा मध्यरात ताला लगाएको छ । उसले शुक्रबार राति सवा ११ बजे ताला लगाएको हो । युनियनले महासंघ कार्यालयमा कालो ब्यानर पनि टाँगेको छ ।
युनियन मकवानपुरले महासंघको हेटौंडा–४ स्थित कार्यालयमा मागसहित कालो ब्यानर झुण्ड्याएको छ । महासंघ सदस्यता विवादको विषयलाई टुङ्ग्याएरमात्र निर्वाचन गर्नुपर्ने युनियन मकवानपुरको माग छ । सदस्यता विवादको विषयलाई पूर्णरुपमा बेवास्ता गर्दै नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया अगाडि बढाउन लागिएको भन्दै नेपाल प्रेस युनियन मकवानपुरले ७ बुँदे माग अगाडि सारेको छ ।
विशेषगरि पत्रकारको शुद्धीकरण र नयाँ सदस्यता वितरणको विषयमा असहमति जनाउँदै युनियनले कार्यालयमा तालाबन्दी गरेको छ । तालाबन्दी गर्नुअघि युनियन अध्यक्ष सुवास बिडारीले विज्ञप्ति प्रकाशन गरी युनियनका मागसहित धारणा सार्वजनिक गर्नुभएको थियो ।
विज्ञप्तिमा भनिएको छ–महासंघले सदस्यता वितरणमा अलोकतान्त्रिक निर्णय गरेको छ । सदस्यताको किनारा लगाउने वैधानिक विधि हुँदा जिल्ला र प्रदेशको सिफारिसलाई समेत लत्याएर केन्द्रले क्रियाशील पत्रकार नै छुट्ने गरी एकपक्षीयढंगबाट सदस्यता वितरण गर्दा क्रियाशील पत्रकारलाई अन्याय भएको हाम्रो ठहर छ ।
युनियन जिल्ला अध्यक्ष बिडारीको नेतृत्वमा महासंघ पुगेको टोलीले महासंघको सदस्यता विवादलाई विधानअनुसार टुङ्ग्याउन माग गरेको छ । ‘महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस र पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिइएको आवेदनको उजुरीलाई समेत बेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिनु गलत हो,’ उहाँले केन्द्रको हस्तक्षेपकारी निर्देशनअनुरुप मकवानपुरमा गठन गरिएको गैरपत्रकार सदस्य रहेको निर्वाचन समिति तत्काल खारेज गर्न युनियन मकवानपुरको माग रहेको बताउनुभयो ।
युनियनले हाल सदस्यता वितरणमा देखिएको विवादका सम्बन्धमा मिहीनढंगबाट छानविन गर्न माग गरेको छ । महासंघ विधानअनुसार चल्दैन भने कानुनी प्रक्रियामा जान बाध्य हुने युनियनले चेतावनी दिएको छ । महासंघको निर्वाचन घोषणा गरेर प्रक्रिया सुरु भइसकेको छ । निर्वाचनका लागि महासंघको निर्वाचन समितिले मतदाता पत्रकारका अन्तिम नामावलीसमेत प्रकाशत गरिसकेको अवस्था छ । युनियनको आन्दोलनसँगै महासंघको निर्वाचन फेरि प्रभावित भएको छ । महासंघले असार २२ गतेका लागि निर्वाचनको मिति तोकेको छ ।
पेशागत आबद्धता भन्दा राजनीतिक आस्थाका आधारमा सदस्यता दिएर चरम विवादमा परेको नेपाल पत्रकार महासंघको कार्यसमिति निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्नसमेत असफल भएको छ । महासंघ वर्तमान कार्यसमितिले सदस्यता शुद्धीकरण अभियान ल्याएको थियो ।
गैरपत्रकारलाई बिदाइ गरेर पत्रकारितामा क्रियाशीललाई मात्र सदस्य बनाउन सुरु भएको अभियान पेशागत आवद्धताभन्दा पनि संगठननिकट हो वा हैनमा केन्द्रित भएको आरोप छ । शुद्धीकरणमा क्रियाशील सदस्य महासंघबाट बाहिरिने र गैरपत्रकार हाबी बनेका छन् । क्रियाशील पत्रकारको सदस्यता स्वीकार भएन ।

प्रतिक्रिया दिनुहोस्