प्रदेशमन्त्री नारायण बुर्जाले भने- बाँझो खेत राखेर धान दिवस मनाउनु राम्रो हाे ?

546
Shares

उदयपुर ।

कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरले गाउँमा खेत बाँझो राखेर युवा जनशक्ति विदेश पलायन भएको अवस्थामा धान दिवस मनाउनु उपयुक्त नहुने बताउनु भएको छ ।

शनिबार उदयपुरको त्रियुगा नगरपालिका ५ देउरी र उदयपुरगढी गाउँपालिकाको ७ नं वडाको अधेरीमा आयोजित राष्ट्रिय धान दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री बुर्जाले गरिखाने खेत अर्थात् वर्षभरी खान पुग्ने खेत बाँझो राखेर विदेश पलायन हुने संस्कारले देशलाई घाटा भएको हुँदा अब भाषणमा होइन किसानका समस्या समाधान गरी उत्पादन वृद्धिमा हामीले ध्यान दिनु पर्ने बताउनु भयो ।

 

मन्त्री बुर्जाले अब विदेशमा गएका युवा जनशक्तिलाई नेपालमा बोलाएर बाँझो खेतमा खेती गरेर कृषि उत्पादन बढाउन र आत्म निर्भरताको बाटोमा लाग्न प्रेरणा दिनु पर्ने र यसकालागि तीनै तहका सरकारले युवाहरुलाई कृषिमा लाग्न मल बिऊ, सिंचाई तथा अन्य प्राविधिक सहयोग र प्रविधिमा पनि आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले नेपाललाई कृषि प्रधान देश भनिन्छ र हामीले परम्परागत रुपमा कृषिलार्य पेशाका रुपमा मानेकोले यसको परिवर्तित समय अनुसार जलवायु मैत्री कृषि धान उत्पादनमा जोड दिनु पर्ने बताउनु भयो ।

उपसभामुख दनुवारले हाम्रो जीवन यापन कृषि मै निर्भर रहेकोले आउँदा दिनहरुमा निर्यात गर्न सकिने गरी कृषि उत्पादन बढाएर समृद्धिको बाटोमा लाग्न मद्दत पुग्ने गरी आत्मनिर्भतातिर ध्यान दिनु पर्ने अवस्था आएको बताउनु भयो । त्रियुगा ५मा भएको कार्यक्रमको अध्यक्षता मेयर बसन्त बस्नेतले गरेका थिए भने जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी, कृषि ज्ञान केन्द्रका प्रमुख योगेन्द्र यादव लगाउतकाले मन्तव्य दिएका थिए ।

उदयपुरगढी ७ मा भएको कार्यक्रम ७ नं वडाध्यक्ष भुवन मगरको अध्यक्षतामा भएको थियो भने उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का लगायतकाले कृषि उत्पादनमा आउने समस्याका बारेमा समाधानकालागि पहल गरिदिन मन्त्री बुर्जा र उपसभामुखको ध्यानाकर्षण गराएका थिए ।