रौतहटमा बस दुर्घटना : एकको मृत्यु, ८ घाइते



रौतहट ।

ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका  जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य ८ यात्रु घाइते भएका छन् ।

गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी रामेश्वर स्वातीले बताएका छन् ।

दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरुको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ । एकजना यात्रु २६ बर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको हुँदा उनको उपचार ग्राण्डी अस्पताल गरुडामा  भईरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताएकी छिन्।

अन्य सात जना घाइतेहरुको शिवनगर र गरुडामा उपचार भईरहेको छ । दुर्घटना पछि बसका चालक र सहचालक फरार रहेको  दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। एकजना प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्रगतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्