दक्षिण अफ्रिकाले अभागी ट्याग मेट्यो



काठमाडौं ।

दक्षिण अफ्रिकाको क्रिकेट टोलीले पहिलो पटक विश्वकपको फाइनलमा पुगेर अभागी ट्याग लागिरहेको छापलाई मेटेको छ।

बिहीबार भएको टी २० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो।

अफगान टोली ११.५ ओभरसम्म खेल्दै ५६ रनमै अलआउट भएपछि सेमिफाइनल खेल छिटै सकिएको थियो। जवाफमा दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा जित निकालेको थियो। दक्षिण अफ्रिकालाई जित दिलाउन मार्को यान्सेन र ताबरेज शाम्सीले ३÷३ विकेट लिँदा कागिसो राबादा र एनरिच नोर्येले २/२ विकेट लिए ।

यो हारसँगै अफगानिस्तानको विश्वकप यात्रा सेमिफाइनलसम्मै सीमित भयो। यसअघि अफगानिस्तानले न्युजिल्यान्ड र अस्ट्रेलिया जस्ता टोलीलाई हराएर प्रतियोगितामा स्तब्ध नतिजा निकालेको हो।

दक्षिण अफ्रिकाको भने यो ३२ वर्षमा पहिलो विश्वकप फाइनल हो। दक्षिण अफ्रिकाले १९९२ देखि एकदिवसीय क्रिकेट विश्वकपमा निरन्तर भाग लिँदै आएको छ। यस्तै २००७ देखि शुरु भएको टी २० विश्वकपमा पनि दक्षिण अफ्रिकाले लगातार सहभागिता जनाएको छ।

दक्षिण अफ्रिका राम्रो टोली भएपनि विश्वकप फाइनल पुग्न नसक्दा अभागी टोलीको ट्याग लगाइएको थियो । टी २० विश्वकपअन्तर्गत सेमिफाइनलमा २००९ मा पाकिस्तानसँग र २०१४ मा भारतसँग पराजित भएको थियो।

यस्तै एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत सेमिफाइनलमा १९९२ मा इंग्ल्यान्डसँग, १९९९, २००७ र २०२३ मा अस्ट्रेलियासँग तथा २०१५ मा न्युजिल्यान्डसँग पराजित भएको थियो। समग्रमा दक्षिण अफ्रिकाले ७ विश्वकप सेमिफाइनलमा पराजयको सामना गर्नु परेको थियो।

प्रतिक्रिया दिनुहोस्