निराशाजनक नतिजा



राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक भएको नतिजालाई विश्लेषण गर्ने हो भने सन्तोष लिने ठाउँ छैन। यसपटकको यो नजिता हेर्दा नेपालको शिक्षा प्रणालीलाई नै आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ।

एसईईमा सहभागी भएका विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत मात्रै कक्षा ११ का लागि योग्य भएको सार्वजनिक नतिजाले देखाएको छ। सरकारले शिक्षा क्षेत्रमा लगानी गरे अनुरुपको प्रतिफल नदेखिनुले वर्तमान शिक्षा प्रणाली नै असफल भएको त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ। अहिले विद्यार्थी फेल भएको होइन, शिक्षकको पढाउने क्षमताको बारेमा प्रश्न उठ्न थालेको छ।

यसपटकको नतिजामा १ सय ८६ जनाको जीपीए ४ आएको छ । बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १ दशमलव ६० बाट २ सम्म जीपीए ल्याउने ६ जना रहेका छन्। यस्तै जीपीए २ देखि २ दशमलव ४० ल्याउने २ हजार ९५० जना, जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने ७८ हजार ८७४ र जीपीए ३ दशमलव २० देखि ३ दशमलव ६० ल्याउने ६८ हजार २५६ जना अनि ३ दशमलव ६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना विद्यार्थी रहेका छन् ।

यसपटक पास हुनेभन्दा फेल हुनेको संख्या बढी रहेको छ। फेल हुनेको संख्या ५२ दशमलव १४ प्रतिशत रहनुले नेपालको शिक्षा नीतिको बारेमा नकारात्मक टिप्पणी उठ्न थालेको छ। यसरी नकारात्मक टिप्पणी आउनुलाई अस्वाभाविक मान्न सकिँदैन। ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी एसईईमा सहभागी भएकोमा २ लाख ४२ हजार ९२ जना मात्रै उत्तीर्ण हुनुले पनि बहुसंख्यक विद्यार्थीको शैक्षिक अवस्था कमजोर रहेको देखाँउछ। झन्डै एक दशकदेखि पास र फेल केही नभनी लाब्धांक उपलब्ध गराउँदै आएको बोर्डले यसपटकबाट पास र फेल छुट्याएर लब्धाङ्क उपलब्ध गराउन शुरु गरेको छ।

एसईईलाई फलामे गेटको रुपमा आम विद्यार्थीले लिने गरेका छन्। यसपटकको नतिजा हेर्दा एसईई साँच्चिकै फलामे गेट नै त होइन ? भन्ने विद्यार्थीमा मनोभावना सिर्जना भएको देखिन्छ। यस नतिजालाई लिएर सामाजिक सञ्जालमा भएको टिप्पणीलाई आधार मान्ने हो भने समस्या विद्यार्थीमा भन्दा पनि पढाउने शिक्षकमा रहेको देखिन्छ।

गुणस्तरीय शिक्षाको नारा दिएर जति विद्यार्थी अनुत्तीर्ण गरिएको छ, यसले राज्यले विद्यार्थीमाथि भद्दा मजाक त गरिरहेको होइन भन्ने आशंका पनि पैदा भएको छ। नेपालका प्रायः सबै निकायहरु उल्टो गतिमा हिँडिरहेको बेला शिक्षा क्षेत्रमा देखिएको विकृति र विसंगतिका कारण ठूलो संख्यामा इसईईमा विद्यार्थी अनुत्तीर्ण भएको भन्दा फरक पर्दैन।

सरकारले सामुदायिक विद्यालयको स्तर बढेको भनेर जुन प्रकारको प्रचार गरिरहेको छ, त्यो भ्रम मात्रै रहेछ भन्ने सार्वजनिक भएको परिणामले देखाउँछ। त्यसैले अब नेपालको शिक्षा प्रणालीका बारेमा बहस गर्ने बेला आइसकेको छ। यसपटक एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई !

प्रतिक्रिया दिनुहोस्