–परीक्षामा सहभागी ४ लाख ४४ हजार ७ सय ८५ जना
–२ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने
–२ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४
–२ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९
काठमाडौं ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ। परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो।
नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका हुन्। ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन्। एईईको नतिजा कमजोर र खस्किएको शिक्षाविद्हरूले बताएका छन्। विज्ञका अनुसार शिक्षकको लापरबाही, सरकारको बेवास्ता, भौतिक पूर्वाधारको अभाव, दक्ष जनशक्तिको अभावलगायतका कारणले नतिजा खस्किएको विज्ञहरूको भनाइ छ ।
यो पटक बोर्डले नयाँ ‘लेटरग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।
बोर्डका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या २ लाख ४२ हजार ३ सय १३ रहेको छ । तीमध्ये २ विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । यिनीहरू यही साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। उक्त परीक्षाको नतिजा १ महिनामा प्रकाशित हुने बोर्डले जनाएको छ । ग्रेडवृद्धि हुने विद्यार्थी भने यसै शैक्षिक सत्रमा कक्षा ११ मा पढ्न पाउनेछन्।
त्यस्तै, २ भन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्नेछ। प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलोपटक एसईईको नतिजा सार्वजनिक गरिएको हो।
नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ। उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ।
हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनैपर्छ। उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन्। उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन।
गणितमा सबभन्दा बढी अनुत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनिवार्य विषयमै सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड पाएका छन्। कुनै एउटा विषयमा ननग्रेड पाउने विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।
कक्षा १० मा नेपाली, अंग्रेजी, गणित, विज्ञान तथा प्रविधि, सामाजिक शिक्षालाई मुख्य अनिवार्य विषय मानिन्छ । नतिजाअनुसार अनिवार्य गणितमा सबैभन्दा धेरै विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । अनिवार्य गणित परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा १ लाख ७७ हजार ९ सय ८५ जना विद्यार्थीको गणित विषयमा एनजी (ननग्रेड) आएको हो।
अनिवार्य गणितपछि अनिवार्य विषयकै रूपमा पढाइ हुँदै आएको विज्ञान तथा प्रविधि विषयमा समेत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् । विज्ञानमा १ लाख २६ हजार ९३३ जनाले ननग्रेड पाएका छन्। अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षामा ४ लाख ६४ हजार ३ सय ३२ जना विद्यार्थी सहभागी थिए। त्यस्तै, अनिवार्यअन्तर्गत नै रहेको अंग्रेजी विषयमा १ लाख १३ हजार ३ सय ८३ जना अनुत्तीर्ण भएका छन्।
अनिवार्य अंग्रेजी विषयको परीक्षामा ४ लाख ६४ हजार ७ सय १९ जना विद्यार्थी सहभागी थिए । त्यस्तै, सामाजिक अध्ययनमा ७३ हजार ८ सय ७७ जना र अनिवार्य नेपालीमा ६९ हजार ५ सय ३२ जना विद्यार्थीले ननग्रेड पाएका छन्। अनुपातका रूपमा अनिवार्य विषयको तुलनामा ऐच्छिक विषय लिएका विद्यार्थीको अनुत्तीर्ण दर कम छ।
गणित, अर्थशास्त्र, वातावरण, भूगोललगायत विषय विद्यार्थीले ऐच्छिक रूपमा छनोट गरेर पढ्न पाउँछन् । नतिजाअनुसार अर्थशास्त्रमा ६९ हजार ४ सय १६ जना विद्यार्थीले एनजी अर्थात् ननग्रेड पाएका छन् । ऐच्छिक अर्थशास्त्र विषयमा २ लाख २७ हजार ८ सय ४० जना विद्यार्थी सहभागी थिए।
त्यस्तै, ऐच्छिक गणितमा २० हजार ३ सय ५२ जनाले एनजी पाएको बोर्डले जानकारी दिएको छ। यो विषयमा कुल विद्यार्थीमध्ये १ लाख ६० हजार २ सय ६९ जना विद्यार्थीले परीक्षा दिएका थिए । ऐच्छिक वातावरण विषयमा ३ हजार ५ सय ११ जनाले एनजी ल्याएका छन् । यो विषयमा २१ हजार १ सय ३० जना विद्यार्थी सहभागी थिए ।
शिक्षामा बजेट उच्च उपलब्धि न्यून
शिक्षामा बजेट उच्च विनियोजन गरिए पनि उपलब्धि न्यून देखिएको छ। सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ। यो कुल बजेटको ११.९८ प्रतिशत हो। अर्थ मन्त्रालयअन्तर्गत जम्मा बजेटको ११.९८ प्रतिशत छ।
यसै गरी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको थियो। आगामी वर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरिएको थियो।
यो कुल बजेटको ११.२६ प्रतिशत हो। चालु आर्थिक वर्ष २०७९/८० का लागि शिक्षामा कुल १ खर्ब ९६ अर्ब ३३ करोड रुपियाँ छुट्याइएको थियो। जुन कुल बजेटको १०.९४ प्रतिशत हो।
क्रेडिट आवरलाई लचिलो बनाउनुपर्छ
हामी ग्रेडिङ सिस्टम र क्रेडिट आवरमा गइयो। अबको काम भनेको क्रेडिट आवरलाई लचिलो बनाउतिर लाग्नुपर्दछ। त्यो भनेको के हो भने विद्यार्थीले प्राप्त गरेका कुरालाई जम्मा पारेर कक्षा ११ मा लगेर जोड्नुपर्दछ। कक्षा ११ मा नपढेको कोर्स पढ्छ र नपुगेको कोर्स पुनः दोहोर्याउँछन्। जे पढे पनि क्रेडिट आवर पुगे हुने प्रणाली अवलम्बन गर्नुपर्दछ । त्यति गरे समाधान निस्कन्छ । होइन भने समाधान निस्कँदैन ।
स्रोत, साधन र जनशक्ति कमजोर देखिन्छ
सरकारले शिक्षामा लगानी गतिलो गरेको छैन। विद्यालय भनेको शिक्षक र प्रधानाध्यापकले मात्र हुँदैन। विद्यालयमा शिक्षक, कर्मचारीको दरबन्दी पुगेको छैन । सरकारले आवश्यकताअनुसार विद्यार्थीलाई पढाउन चाहिने स्रोत, पैसा र जनशक्ति दिएको छैन। विद्यालयमा गैरशिक्षकको दरबन्दी छैन । त्यस्तै, सरकारले एउटा ठूलो विद्यालयका लागि लेखापाल, कार्यालय सहायक, लाइब्रेरियन, सामग्री व्यवस्थापकलगायत कर्मचारीको व्यवस्थापन गर्न सकेको छैन । परीक्षा लिने प्रणाली पनि उपयुक्त छैन । अहिले च्याट जीपीटी, एआईको समयमा जुन प्रकारको प्रश्न सोधिएको र प्रश्न सोधिन्छ, यो एकदमै पुरातन छ । यसले पनि विद्यार्थीको सही मूल्यांकन गर्न सकेको छैन । कक्षाकोठाको सिकाइ पनि रचनात्मक हुन सकेको छैन । शिक्षकले पनि परीक्षा कसरी लिइन्छ भनेर पढाउनुपर्ने हुन्छ । परीक्षा, विद्यार्थीको वास्तविक प्रतिभाको जाँच गर्ने रचनात्मक तरिकाको हुनुपर्दछ । अर्को विषय भनेको कक्षा १० को एसईई आवश्यक छैन । राम्रो शिक्षा प्रणाली भएका मुलुकले कक्षा १० र १२ मा परीक्षा लिँदैनन् । कक्षा १२ को परीक्षा उचित किसिमको लिनुपर्दछ। यो पुरातन मोडलको परीक्षा अझै लिने हो भने विद्यार्थी अझै फेल हुन्छन् ।
शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ
शिक्षामा लगानी पुगेको छैन । लगानीअनुसार प्रतिफल पनि प्राप्त छैन । शिक्षण सिकाइको अवस्था कमजोर छ । नतिजा कमजोर हुनमा अन्य तत्व पनि कमजोर देखिन्छ । नतिजा कक्षा एसईईको मात्र बिग्रिएको होइन। कक्षा ८ र ५ को नतिजा पनि बिग्रिएको मन्त्रालयको तथ्यांकले देखाउँदछ । परीक्षा सुधार गर्न शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्दछ । शिक्षाको संयन्त्रले काम गरेको छैन । शिक्षकले पढाए नपढाएको अनुगमन गर्नुपर्दछ । फेल हुनुमा विद्यार्थी दोषी छैनन् । शिक्षकको भूमिका अहम् रहन्छ । ३ घण्टा परीक्षा लिएर फेल बढी भए भन्नु गलत हो । शिक्षकलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ ।
विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन हुँदैन
राजनीतिक दलहरूले विद्यालय र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार हुँदैन, मुख्य तीनवटा राजनीतिक दलहरूले शिक्षा क्षेत्र र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन जुन दिनसम्म रोकिँदैन, त्यो दिनसम्म नेपालको शिक्षा यस्तै हुन्छ,।
बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेन
शिक्षामा २० प्रतिशत र स्वास्थ्यमा ७ प्रतिशत बजेट विनियोजन हुनुपर्छ भन्ने विश्वव्यापी नियम रहेको भए पनि अहिले शिक्षा क्षेत्रतर्फ खासै राम्रो बजेट विनियोजन नभएको र विनियोजन भएको बजेटको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाले शिक्षा क्षेत्र खस्किएको हो । यसमा सरकारकै बढी लापरबाही छ ।
प्रतिक्रिया