सत्ता आरोहणमा धैर्यताको अपहरण

1.69k
Shares

सत्ता, पद र प्रतिष्ठा प्राप्त हुने अलिकति पनि सम्भावना देखिनासाथ हामीकहाँ प्रस्तावित पात्रले धैर्यता गुमाउने आम संस्कार देखिन्छ। दीर्घकालीनरुपमा आफूलाई लाभ हुँदैन भन्ने देख्दादेख्दै पनि सत्तामा सानो साझेदारीका लागि हामफाल्ने प्रवृत्तिले मुलुक र समाजलाई सकारात्मक योगदान दिन त सक्दैन नै, स्वयम् सत्तामा जान हतारिने राजनीतिक दल र व्यक्ति पनि अन्ततोगत्वा नोक्सान बहन गर्न बाध्य हुन्छ।

नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी आदि तुलनात्मकरुपमा साना भनिएका राजनीतिक दल किन साना भए भनेर समीक्षा गर्दा पृष्ठभूमिमा हतारमा सरकारमा जाने प्रवृत्ति कारणका रुपमा देखा पर्दछ ।

‘भिजनरी’ र भ्रष्टाचार विरोधी नेताका रुपमा चिनिएका डा. बाबुराम भट्टराईको २०७२–७३ सालको प्रभाव हेर्दा, उनको आह्वानमा नयाँ शक्ति पार्टीमा आबद्ध हुन आएका हजारौं सामाजिक अगुवा व्यक्तिहरुको भीड देख्दा अब नयाँ शक्तिको युग आयो, पुराना शक्तिहरु धराशयी भए भन्ने लागेको थियो।

राजधानीको टुँडिखेल शहीद मञ्चमा खुलारुपमा शपथ लिने हजारौं अगुवाहरुको भीडलाई हाँक्ने नेताहरु जब सत्तामा सहभागी भइहाल्ने निर्णयमा पुगे, तब पतनको सिलसिला शुरु भयो । पुराना राजनीतिक शक्तिले नयाँ शक्ति पार्टीमाथि षड्यन्त्र गरे, निर्वाचन चिन्हसमेत लिन दिएनन्। अन्य विचार मिल्ने दलसँग मिलेर चुनाव लड्न बाध्य नयाँ शक्ति पार्टी आज स्वतन्त्र अस्तित्वका साथ मैदानमा उभिएको देखिन्न। डा. बाबुराम भट्टराईको स्वच्छ छविका कारण नेसपाको आह्वानमा नयाँ शक्तिका सदस्यहरु पुनः गोलबद्ध हुन लागेको देखिन्छ। आठ वर्षअघि सत्तामा जाने हतार नगरेको भए र चुनाव चिन्हमाथिको धाँधलीलाई समयमै चिर्न सकेको भए आज डा. भट्टराईको नेतृत्वको राजनीतिक शक्तिले सत्तामा निर्णायक भूमिका निर्वाह गरिरहेको हुन्थ्यो, सम्भवतः मुलुकले प्रस्ट ‘भिजन’का साथ विकासको गति लिइरहेको हुन्थ्यो ।

आज सरकारले जनमतको कदर गर्न सकिरहेको छैन। प्रतिनिधिसभामा तेस्रो हैसियतको नेकपा माओवादी केन्द्रले कार्यपालिका प्रमुखको भूमिका पाइरहेको छ। प्रत्यक्ष निर्वाचनमा १७ सिट जितेको माओवादी केन्द्रले समानुपातिकका समेत गरेर ३२ सिट बनाएको छ, ८८ सिटवाला पुरानो राजनीतिक शक्ति नेपाली कांग्रेसमाथि शासन गरिरहेको छ । अहिले ७९ सिटको दोस्रो ठूलो राजनीतिक दल पनि सरकारमा सहभागी भएको छ, प्रत्यक्षतर्फ केवल ६ सिट जितेर कुल २१ सिट क्षमता बनाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र जसपा पनि आज सरकारमा छन् । तर मिलिजुली सरकारले कुनै ‘भिजन’ दिन सकेको छैन, हिजो नेका सत्तामा रहँदा पनि त्यस प्रकारको भिजनको सम्भावना थिएन । पाँच दिशामा फर्किएका र पञ्चमुखी घोडामा सवार भएका सत्ताधारीले सरकार जोगाउनु मात्र ठूलो कुरा भएको छ, मुलुकलाई विकासको दिशामा अघि बढाउन सम्भव छैन ।

नीतिगतरुपमा नै अस्थिर सरकार नेपालको नियति हुन पुगेको छ। वर्तमान नीतिगत आधार र निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एक्लो राजनीतिक दलको बहुमत प्रायः असम्भव देखिन्छ । २ सय ७५ संख्याको प्रतिनिधिसभामा १ सय ३८ एक्लै ल्याउने हैसियतको कुनै राजनीतिक दल मुलुकमा देखिन्न ।

यसरी हेर्दा तुलनात्मकरुपमा ठूलो दल भएर पनि जसरी नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाएन, दोस्रो ठूलो प्रभावको एमाले पनि तेस्रो ठूलो माओवादी केन्द्रको मातहत हुन पुग्यो, यसबाट राजनीतिक अस्थिरता त निम्तियो नै । ठूलो भएर पनि सानो भागमा चित्त बुझाउनुपर्‍यो, अन्यायमा परेँ भन्ने सोचले नेताहरुलाई सत्ता साझेदार दलमाथि षड्यन्त्रकारी बन्न प्रेरित त गर्छ नै, निष्कर्षमा राजनीतिक अस्थिरताको जन्म हुन्छ।

यस्तोमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अवधारणाले राजनीतिक स्थिरता प्रदान गर्छ । सत्तामा जानकै लागि आज जनप्रतिनिधिहरु ठूलो रकम लगानी गर्ने र निर्वाचन जित्ने दौडमा लागेका छन्, भ्रष्टाचार बढेको छ, यसलाई रोक्न पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणा उपयोगी देखिन्छ ।

यस ‘भिजन’ का साथ डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई पुनर्जीवन दिने अभियान शुरु गरेको देखिन्छ । यही धारणामा सहमत राजनीतिक दलहरु जसपाको निकट पुगेका पनि छन् । तर, बलियो दृष्टिकोण र आफ्नो प्रधानमन्त्री तथा अर्थमन्त्रीको छोटो कार्यकालमा मुलुकको कूटनीतिक तथा आर्थिक विकासमा आकर्षक गति दिन सफल भएका उनलाई असफल बनाउन पुराना राजनीतिक शक्तिहरु पासा फालिहाल्छन् । उनीसँग सहकार्य गर्न जान लागेका प्रभावशाली साना–ठूला शक्तिलाई पुराना दलका नेताहरुले ठीक त्यसरी नै प्रभावित पार्दछन्, जसरी महाभारतका दुर्योधनले दुर्वासा ऋषिलाई पारेका थिए । १० हजार शिष्यका साथ दुर्वासा ऋषिले जुन बेला पाँच पाण्डवको कुटीमा गएर भोजन गराउन भने त्यतिखेर मनचिन्ते कसौंडीमा केही थिएन । दिनको एकपटक मात्र भोजन तयार हुने त्यस कसौंडीमा पुनः भोजन तयार हुन सम्भव थिएन । अब पाँच पाण्डवले दुर्वासाको श्राप पाउनु निश्चित थियो । दुश्मनलाई श्रापित बनाउन दुर्योधनले चालेको कदम श्रीकृष्णले महाभारतमा असफल बनाए पनि नेपालको आजको राजनीतिमा दुर्योधनहरु मात्र छन्, श्रीकृष्ण छैनन् । पाँच पाण्डवलाई बचाउन कोही आउनेवाला छैन ।

संघीय लोकतान्त्रिक बहुदलीय व्यवस्था हामीले नीतिगतरुपमा स्वीकार गरेको प्रणाली हो । प्रगतिशील र अत्याधुनिक लोकतान्त्रिक अभ्यासमा यस व्यवस्थालाई विश्वमै एक आदर्श मानिन्छ । तर, निर्वाचनमा समानुपातिक प्रणाली र व्यवस्थापिकाभित्रबाट कार्यपालिका गठन गर्ने नीतिगत प्रावधानका कारण भ्रष्टाचार र निर्धनताले नेपालीको घाँटी थिचेको थिच्यै छ । पार्टी चलाउन खर्च पुगेन भन्दै दलका नेताहरु सत्तामा जान हतारिन थाले । भ्रष्टाचार र कमिसन पार्टीलाई बचाउने आधार बन्न पुग्यो । निष्कर्षमा मुलुकको सम्पूर्ण आर्थिक, मानवीय तथा भौतिक स्रोत–साधन सरकार बनाउने र भत्काउने खेलमै सीमित हुन पुग्यो । नयाँ दृष्टिकोणका साथ मुलुकलाई अघि बढाउन सकिएन, विकासको गति समाउन पाइएन । निकट भविष्यमा त्यस प्रकारको अवस्थामा प्रवेश गर्न सक्ने सम्भावना पनि देखिएन ।

तेस्रो ठूलो पार्टी माओवादी केन्द्रका नेता प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो ठूलो पार्टी नेपाली कांग्रेसलाई सरकारबाट गलहत्याएपछि नेकाभित्र यतिखेर पुनः सरकारमा जान अनेक उपायको खोजी यसरी भइरहेको छ, जसरी डुब्न लागेको जहाजबाट बाहिर निस्कन मुसाहरु आतुरी देखाउँछन् । बुधबारको नेपाल समाचारपत्रमा जीवन शर्माको अग्रपृष्ठमा समाचार छ, पार्टी सभापति देउवालाई सर्वाधिक आतुरी छ भने महामन्त्री गगन थापा अहिले सरकारमा नजाने, २०८४ को आमचुनावका लागि तयारी गर्ने मनस्थितिमा छन् ।
पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने– ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिऊँ । एमाले, माओवादी, घण्टी, जोजो–जसजसले चलाएका छन्, चलाउन दिऔँ, चलाऊन्, सरकारतिर हामी हेर्दै नहेरौँ, र यति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔँ । तलैबाट पार्टीको एकता पनि गरौँ । हार्दिकता पनि बढाऔँ ।’ २०८४ को निर्वाचन जित्ने गरी काम गर्न पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिँदै उनले भने ।

आगामी चुनावमा ४० प्रतिशत मत ल्याउन सक्ने गरी अगाडि बढिए अहिलेकै निर्वाचन प्रणालीमा एकल सरकार चलाउने तागत मात्रै नभएर कांग्रेससँग संविधानमा लेखिएका कुराहरू सकारात्मक ढंगले कार्यान्वयन गर्न सक्ने तागत हुने थापाको भनाइ छ । तर, सधैँ सत्ताको सपनामा रमाएर काम नगर्ने एकथरी सांसदहरूमा सरकारको विकल्प सरकार मात्रै देख्ने प्रवृत्ति छ।

यस अवस्थामा कांग्रेस बलियो प्रतिपक्ष नै भएर बस्नुपर्छ, जनताका मुद्दालाई सदनदेखि सडकसम्म उठाउने, स्थानीय र प्रदेश सरकारमा जिम्मेवारी पाएका सदस्यहरूले जनताले महसुस गर्ने गरी काम गर्ने र अर्कोपटक चुनावमा जनताको मन र मत जितेर राम्रो अंक ल्याउने गरी संगठन मजबुत बनाउने दृष्टिकोण थापा पक्षको देखिन्छ। तर, कांग्रेस संस्थापन पक्षका सांसदहरू वर्तमान सरकार चाँडै ढल्ने र कांग्रेस सत्तामा जाने सपना देखिरहेका छन् । राजनीतिक दलका नेताहरुको यस्तै सपनाका कारण स्थायी सरकारको सम्भावना टर्ने गरेको छ । विगतमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले पूर्ण बहुमतको आफ्नो पार्टीको सरकार हुँदाहुँदै पार्टीभित्रकै विवादलाई व्यवस्थित गर्न नसकेर मध्यावधि निर्वाचनमा जाने गल्ती गरेका कारण नेकाको साख सदाका लागि कमजोर भयो। बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि झन्डै दुई तिहाइ बहुमतलाई थेग्न सकेनन्, दुई–दुईपटक संसद् विघटन गर्ने गल्ती गरे। आज पनि सरकार बनाउने र भत्काउने गल्तीहरु भइरहेका छन्।

शुक्रनीतिमा शासक कस्तो हुनुपर्छ भनेर व्याख्या गरिएको छ– ‘पिता, माता, गुरुभ्रात बन्धुवैश्रवणो यमः, नित्यं सप्तगुणैरेषां युक्तो राजा न चान्यथा।’ अर्थात् माता, पिता, गुरु, भाइ, बन्धु, कुवेर र यम गरी सात व्यक्तिका सद्गुण जोसँग छ त्यस्तो शासक सफल हुन्छ, अन्यथा सफल हुन्न। शासकले जनताको पालना पिताले आफ्ना छोराछोरीलाई गरेझैँ गर्नुपर्छ, माताले जस्तै पूर्ण भावनाका साथ जनताको प्रवद्र्धन गर्नुपर्छ, दाजुभाइले जस्तै सघाउनुपर्छ, गुरुले जस्तै जनताको मार्गदर्शक बन्नुपर्छ, उनीहरुका लागि कुवेर भएर राज्यकोष खर्च गर्नुपर्छ तर गल्ती गर्ने जनतालाई यमराज भएर वस्तुवादी ढंगले सजाय गर्नुपर्छ।

कुरा रामराज्यको गरौं वा छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आएर ओलीलगायतका नेतालाई पढाएको, अथवा दक्षिणका छिमेकी प्रधानमन्त्री नरेन्द्र मोदीको, सबैले सत्तामा बस्ने व्यक्ति त्यागी हुनुपर्छ, जनताका लागि समर्पित हुनुपर्छ, निजी स्वार्थलाई अगाडि सार्नुहुन्न र शासकले जनताको सेवकका रुपमा आफूलाई प्रस्तुत गर्नुपर्छ भन्ने पाठ नै सिकाएका छन् । तर हामी कसैको पाठ ग्रहण गर्दैनौं । हतारमा सत्तामा जाने र फुर्सदमा पछुताउने गरिरहेका छौं । तर, यस प्रकारको त्रुटि कहिलेसम्म गरिरहने ?