मनसुनसँगै डेंगुको भय



यस वर्ष मनसुन शुरु भएसँगै लामखुट्टे वृद्धि हुने र डेंगु बढ्ने सम्भावना बढेर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसका साथै मन्त्रालयले नागरिकलाई लामखुट्टेबाट जोगिनका लागि आह्वान नै गरेको अवस्था छ।

यो अवस्थामा सरकारका हरेक निकायलाई तयारी अवस्थामा रहनसमेत मन्त्रालयले आह्वान गरेको छ। जनमानसमा फैलने महामारीबाट समयमै सजगता अपनाउन स्वास्थ्य मन्त्रालयले आह्वान गर्नु सकारात्मक कुरा हो। विगत वर्षमा असारको पहिलो साताबाटै मनसुन शुरु भइसक्थ्यो। यस वर्ष असारको दोस्रो हप्ता सकिन लाग्दा पनि मनसुन शुरु हुन सकेको देखिँदैन।

अब मनसुन शुरु भएपछि एकैपटक विगतमा भन्दा बढी पानी पर्न सक्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ। साथै मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र सङ्क्रमितको संख्यासमेत बढ्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस अवस्थामा नागरिक स्वयं सचेत भई जनस्वास्थ्यप्रति ध्यान दिनु जरुरी छ। घरवरिपरि पानी जम्न नदिने, झाडी सफा गर्ने, पूरा बाहुला भएको कपडा लगाएर मात्र घरबाहिर हिँड्ने, झ्यालढोकामा जाली राख्ने, झुलभित्र सुत्ने गर्नाले लामखुट्टेको टोकाइबाट बच्न सकिनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ। यस्तो अवस्थामा नेपाल सरकारले आयस्रोत कम भएका र टहरामा बसोबास गर्ने नागरिकहरुलाई आर्थिक अवस्था हेरी निःशुल्क झुल वितरणका साथै जनचेतना जगाउनु जरुरी छ। यो राज्यको दायित्व पनि हो।

सन् २००९ पछि बर्खा शुरु भएपछि मात्र देखिने डेंगु रोग पछिल्ला वर्षहरुमा हिउँदमा पनि देखिन थालेको छ। यसले डेंगुको विकराल अवस्था जनाउँछ। यसको निर्मूल हुनुको सट्टा वर्षेनि बढ्दो क्रममा छ। डेंगु फैलाउने लामखुट्टेले दिउँसै टोक्ने र छिटोछिटो अण्डा पारी हप्तामै लाखौँ संख्यामा लामखुट्टे वृद्धि गर्छ।

डेंगु भएका लामखुट्टेले पार्ने अण्डामै डेंगु हुने र नयाँ जन्मने लामखुट्टे जन्मजातै डेंगु लिएर जन्मने हुन्छ। त्यसैले डेंगुबाट जोगिन यसको टोकाइबाट जोगिनु मात्र नभई लामखुट्टे नै नष्ट गरी थप लामखुट्टे जन्मन दिनुहुँदैन । बर्साद शुरु नहुँदै विगत ६ महिनामा ७२ वटा जिल्लामा १ हजार २ सय ४१ जना डेंगुका बिरामी फेला परिसकेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरको छ।

डेंगु रोगको लक्षणमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशी बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको धेरै दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु मुख्य हुन् । बान्तामा रगत देखा पर्ने, नाक वा गिजाबाट रगत आउने, रक्तश्राव हुने, पेट दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, बेहोस हुनेजस्ता लक्षण देखा परेमा समेत स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ।

डेंगु न्यूनीकरणका लागि मन्त्रालयले सातै प्रदेश तथा सबै स्थानीय तहहरुमा बर्सादको समयमा हुन सक्ने डेंगुलगायत अन्य स्वास्थ्य विपद्का लागि द्रुत प्रतिकार्य समिति तथा टोलीहरुलाई तयारी अवस्थामा रहन र आवश्यक भएको अवस्थामा परिचालन हुन पत्राचार गरिसकेको छ।

रोगको बारेमा विभिन्न सञ्चारमाध्यममा सन्देशमूलक सूचना सम्प्रेषण र रोगको नियन्त्रण गर्न प्रतिकार्य योजना बनाउन गतिविधिहरूका साथ आवश्यक सामग्रीसमेत तयारी अवस्थामा राखिएको समेत जनाइएको छ। सरकारी निकाय मात्र नभएर निजी क्षेत्र र जनस्तरबाट पनि लामखुट्टे नष्ट गर्नका लागि प्रयास अपरिहार्य छ।

प्रतिक्रिया दिनुहोस्