कीर्ते गरी प्रमुख प्रशासकीय अधिकृत, अख्तियारमा १० भन्दा बढी उजुरी



बारा ।

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ।

नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जैसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षरसमेत किर्ते गरी पेस गरेको कागजातको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको हो।

मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारेर उहाँले प्रमुख प्रशासकीयको जिम्मेवारी लिनुभएको थियो । उहाँले सोमबार नगरपालिकामा हाजिर भएर पदभार ग्रहण गर्नुभएको थियो। नगर उपप्रमुख नजमु सेहर र कर्मचारीहरूले कार्यालयमा उहाँको स्वागत गरेका थिए।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८१ असार ९ गते चलानी नम्बर २४७४ पत्रबाट पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हरिओमप्रसाद जैसवाललाई दिइयो तर पछि थाहा भयो उहाँले सरकारी पत्र र मेरो हस्ताक्षरसमेत दुरुपयोग गर्नुभएको रहेछ’ –सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख कलवारले भन्नुभयो ।

आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि नगरपालिकाले मिति २०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काज\सरुवा सहमति दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सो पत्रमा किर्ते गरेको पाइएको छ।

घटनाको जानकारी पाएलगत्तै जैसवाललाई दिएको जिम्मेवारी खोसेर सरकारी कागजको किर्ते गरेकोमा कानुनी कारबाहीका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरीक्षण कार्यालय, कलैया बारामासमेत पत्रचार गरी जानकारी गराएको नगर प्रमुख कलवारले बताउनुभएको छ ।

सिम्रौनगढ नगरपालिकाको भनिएको पत्रको आधारमा जैसवाललाई स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा ४ अनुसार पालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटिएसम्म काम गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विण्णुप्रसाद ज्ञवालीले जनाउनुभएको छ ।

‘जयसवाल सो नगरपालिकामा कार्यरत रहेका कर्मचारीमध्ये सबैभन्दा उच्च तहको कर्मचारी हो भनी सिफारिस भएर आएकाले कानुनबमोजिम जिम्मेवारी दिइएको हो’, उहाँले भन्नुभयोे– ‘तर, कार्यालयको पत्र किर्ते गरी ल्याइएको भन्ने बारेमा आफूहरूलाई कुनै जानकारी छैन ।’

यसअघि २०७८/७९ मा जैसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा उहाँलाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा केही समयअघि मात्रै सफाइ पाएका उहाँविरुद्ध अख्तियारले अहिले पनि १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको सिम्रौनगढ नगरपालिका एक कर्मचारीले जानकारी दिएका छन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराले समेत यस घटनाको अनुसन्धान शुरू गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले जिल्ला प्रहरी कार्यालयमा कर्मचारीले सरकारी किर्ते कागजात बनाएको भनेर निवेदन आएकाले अनुसन्धान शुरू गरेको बताउनुभयो।

लामो समयबाट आन्तरिक विवादका कारण प्रमुख प्रसाशकीय अधिकृतविहीन अवस्थामा रहेको सिम्रौनगढमा यसअघि प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउँदा भएको विवादमा गोलीसमेत चलेको थियो। सो घटनामा प्रहरीको गोली लागेर स्थानीय एक मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्