१३ करोडभन्दा बढी ठग्ने कलंकी ट्रेड सेन्टरका ६ सञ्चालक पक्राउ

4.32k
Shares

काठमाडौँ।

कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने उक्त सेन्टरका ६ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पङ्गेनी, काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरन्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेका छन्।

कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

पक्राउ परेका ६ जनालाई जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।