महाभारतमा विभिन्न किसिमका झै–झगडा हुनु त स्वाभाविकै हो। तीमध्ये आफूलाई धेरै दुःख दिइरहेका दुर्योधनलाई पाण्डवले ठूलो आपद्बाट मुक्त गरी बचाइदिएको एउटा घटनाको प्रसंग यहाँ उल्लेख गरेको छु।
दुर्योधन कतिसम्म दुष्ट र धुर्त थिए भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो । साँच्चै भन्ने हो भने दुर्योधन भन्ने व्यक्ति जन्मजातै दुष्ट हुन् । उनको दुष्टता र धुर्तताको बारे जो–कोहीलाई पनि थाहा नभएको भन्ने नै छैन, सबैलाई यथार्थ थाहा छ। आफ्नो स्वार्थ र शत्रु साधनका लागि दुर्योधन जस्तोसुकै कर्म गर्न पनि पछि पर्दैनन्। एकपटक उनी कर्ण, सकुनी र दुशासनसँगै लागेर गाई निरीक्षण गर्ने बहानामा द्वैतवनमा गए । दुर्योधनले पाण्डवलाई दुःख दिने र जति सकिन्छ उति सास्ती दिने उद्देश्यले द्वैतवनमा गएका रहेछन् ।
पाण्डव द्वैतवनमा वनबासको समय कटाउन बसिरहेका थिए । उही समयमा युधिष्ठिर यज्ञ गरिरहेका थिए । देवताका राजा इन्द्रलाई के लाग्यो भने, दुर्योधन त्यत्तिकै द्वैतवनमा गएका होइनन् । दुर्योधन राम्रो नियतको मान्छे हुँदै होइनन् । उनको चालढाल ठीक छैन । उनी नराम्रो र खराब नियतले गइरहेका छन् भन्ने कुरा इन्द्रलाई लाग्यो । अनि इन्द्रले दुर्योधनलाई ठीक गर्नुपर्यो भनेर चित्रसेन नामक सेवक गन्धर्वलाई आदेश दिई भने– ‘जाऊ त्यो दुष्ट दुर्योधनलाई पाता कसेर यहाँ ल्याऊ ।’
इन्द्रको आदेश पाउनेबित्तिकै चित्रसेन द्वैतवनमा दुर्योधनलाई खोज्न गए । दुर्योधनसँगै कर्ण, दुशासन र शकुनीजस्ता नामी महायोद्धा र वीर सैनिकहरु पनि ल्याएका रहेछन्। साथै सैनिकहरुको संख्या पनि धेरै रहेछ । त्यसैले दुर्योधनले चित्रसेनलाई देखेर डराउनुपर्ने कारण थिएन । चित्रसेनको हाँकको प्रतिकार गर्न र युद्ध गर्न पनि दुर्योधन तयार भए । दुवै पक्षको बीचमा घमासान युद्ध भयो । अन्त्यमा पराक्रमी चित्रसेनले दुर्योधनलाई हराइदिए । अनि चित्रसेनले दुर्योधन र उनका साथीहरुसहित सबैलाई पाता कसेर लगे ।
दुर्योधनका एकजना बूढो मन्त्री भने कुनै तवरले आफ्नो ज्यान बचाएर भागेका रहेछन् । त्यहीँ नजिकै पाण्डवहरु छन् भन्ने कुरा पत्ता लगाएर खोज्दै–खोज्दै ती बूढा मन्त्री त्यहीँ पुगेछन् । उनले युधिष्ठिरलाई सम्पूर्ण हालखबर बताएर विन्तिभाउ गर्दै भन्न थाले– ‘प्रभु, दुर्योधन दुष्ट भए तापनि उनी हजुरकै भाइ हो, हजुरहरु इन्द्रसँग पनि लड्न सक्ने र हजुरहरुसँग त्यति धेरै शक्ति छ, सामथ्र्य छ । हजुरहरुले चित्रसेनको हातबाट दुर्योधनलाई मुक्त गरी बचाइदिनुप¥यो । हजुरहरुले नछोडाएमा एउटा कलंक हजुरहरुलाई लाग्ने हुन्छ । त्यो के हो भने, शक्तिशाली भएर पनि पाण्डवले आफ्नो कुलका दुर्योधनलाई आपद् भएको समयमा वास्ता गरेनन्, तमासा मात्र हेरेर बसे भनी लोकले भन्नेछन् । लोकलाजका लागि भए पनि हजुरले दुर्योधनलाई मुक्त गर्नुप¥यो । यसले हजुरकै यश–कीर्ति बढ्ने हो ।’
युधिष्ठिर पनि जानिफकार नै हुन् । धर्म, कर्म, ज्ञानगुणका कुरा सबै जानेका छन् । युधिष्ठिरलाई धर्मराजको रुप पनि हो भनिन्छ । ती बूढा मन्त्रीका यस्ता कुरा सुनेपछि युधिष्ठिर पनि चुप लागेर बस्न सकेनन् । उनले आफ्ना भाइहरुलाई तत्कालै बोलाएर दुर्योधनका मन्त्रीले ल्याएको खबर सबै सुनाए । अनि युधिष्ठिरले दुर्योधनलाई रक्षा गर्न शस्त्रअस्त्र सबै हतियार लिई तुरुन्त जान आदेश दिए । चित्रसेनको हातबाट दुर्योधनलाई मुक्त गर्नै पर्ने सुनाए ।
युधिष्ठिरले भने– ‘किनकि दुर्योधनको मन्त्री हाम्रो शरणमा आएकाले शरणको मरण गर्नुहुँदैन । शरणमा आएकालाई रक्षा गर्नु र उनको अनुरोधलाई पूरा गर्नु हाम्रो कर्तव्य हो । शत्रुको रक्षा गर्नु पनि ठूलो महिमा छ । शत्रुको रक्षा गर्दा राज्य प्राप्ति, पुत्र प्राप्ति र धनधान्य, ऐश्वर्य पनि प्राप्त हुन्छ । म यज्ञ गरेर नबसेको भए म आफैं जाने थिएँ । तुरुन्तै गएर दुर्योधनलाई चित्रसेनबाट मुक्त गर ।’ यसरी युधिष्ठिरले भाइहरुलाई आदेश दिन्छन् । भीमसेनले दुर्योधनको दुष्टताका बारेमा केही भन्न खोज्दा युधिष्ठिरले रोके । साथै चित्रसेन गन्धर्वलाई सम्झाइ–बुझाइ गर्नुपर्ने, सम्झाएर पनि नमाने आफ्नो बल र पराक्रमले दुर्योधनलाई मुक्त गर्नुपर्ने कुरा पनि युधिष्ठिरले भीमसेनलाई बताए।
यसरी युधिष्ठिरको आज्ञाले भीम, अर्जुन, नकुल र सहदेव आफ्ना दाजुको आज्ञा पालन गर्न जान्छन् । सम्झाइ–बुझाइ गरेर नमाने त्यो चित्रसेन गन्धर्वको रगत बगाउने प्रतिज्ञा अर्जुनले गर्छन् । अर्जुनको प्रतिज्ञा सुनेर दुर्योधनका ती बूढा मन्त्री सन्तोषको सास लिन्छन्। आफ्ना राजा मुक्त हुने आशा उनको मनमा पलाउँछ। अर्जुनको प्रतिज्ञा कति बलियो र सशक्त छ अनि उनको शक्ति–सामथ्र्य कतिसम्म छ भन्ने कुरा उनले बुझेका रहेछन्।
चारैजना भाइहरु दुर्योधनको मुक्तिका लागि जान्छन्। चित्रसेनलाई भेट्नेबित्तिकै अर्जुनले सम्झाइ–बुझाइ गरी दुर्योधनलाई छुटाउने प्रयास गर्छन् तर चित्रसेनले एउटै कुरा सुनेनन्। अनि बाध्य भएर अर्जुनले चित्रसेनसँग युद्ध गर्छन्। अर्जुनको पराक्रमको सामु चित्रसेनको केही सीप लाग्दैन, उनी पराजित हुन्छन्।
अन्तिममा अर्जुनबाट पराजित भएका चित्रसेनले आफ्नो परिचय दिँदै दुर्योधनलाई बन्दी गर्नुपर्ने कारण इन्द्रको इच्छाले हो भन्ने कुराको पनि अवगत गराउँछन्। यो कुरा सुनेर चारैजना भाइहरु अचम्मित हुन्छन्। उनीहरुले दुर्योधन र चित्रसेनलगायत सबैलाई युधिष्ठिरकहाँ लान्छन्। युधिष्ठिरले दुर्योधनको सबै कर्तुत सुन्छन्।
आफूलाई दुःख–कष्ट दिन नै दुर्योधन आएको रहेछ भन्ने कुरा युधिष्ठिरलाई स्पष्ट हुन्छ। तैपनि स्नेहपूर्वक दुर्योधन र उनका साथीहरुलाई युधिष्ठिरले मुक्त गरिदिन्छन् अनि घर जाऊ भन्दै पीठमा थपथपाएर पठाउँछन्। यसरी युधिष्ठिरले दुर्योधनलाई लज्जित हुनबाट बचाएर पठाउँछन्। शत्रुसमान भए पनि शरणमा आउँदा दाजुभाइ मात्र नभएर सबैलाई सहयोग गर्नुपर्छ भन्ने यस कहानीले दर्शाउँछ।
प्रतिक्रिया