जर्मनी र स्वीजरल्याण्ड युरो कपको नकआउट चरणमा



 काठमाडौं ।

जर्मनी र स्वीजरल्याण्ड जारी युरो कपको नकआउट चरणमा पुगेका छन्। गए राति सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्।

यस खेलमा निकलस फुलक्रुंगले ९० मिनेटपछिको इन्जुरी समयमा गोल गर्दै जर्मनीलाई हारबाट बचाएका थिए। यस अघि स्वीजरल्याण्डका लागि खेलको २८औँ मिनेटमा डान एन्डोएले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। यो बराबरीपछि जर्मनीको समूह ए मा ३ खेलमा ७ अङ्कसहित शीर्ष स्थानमा रहेको नक आउट चरणमा पुगेको छ भने स्वीजरल्याण्ड ३ खेलमा ५ अङ्कसहित समूहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ।

त्यस्तै समूह ए बाट हंगेरीले स्कटल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अङ्क बटुलेको छ र समूहमा तेस्रो भएको छ। हंगेरीको पनि नकआउट चरणमा छानिने सम्भावना रहेको छ।

सबै ६ समूहका तेस्रो स्थानमा रहने शीर्ष चार देश नक आउट चरणमा छानिने हुनाले यसको टुङ्गो भने समूह चरणका सबै खेल पछि लाग्ने छ। त्यस्तै ३ खेलमा एक अङ्क हासिल गरेको स्कटल्याण्ड भने युरो कपबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्