करण डेलीभरी ब्वाईबाट नेपाल आईडल-५



काठमाडौं ।

टेलिभिजन गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले चुमेका छन्। शनिबार राति नेपाल आइडलको स्टुडियोमा आयोजित ग्रान्ड फिनालेमा तीन अन्तिम प्रतिस्पर्धी मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्।

दर्शकको भोटका आधारमा विजेता चुनिएका उनले सो उपाधि जितेसँगै ट्रफीसहित २५ लाख रुपियाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्। करणले नेपाल आइडलको अडिसनमा संगी बोलको गीत गाएर निर्णायकको मन जितेका थिए। त्यस क्रममा उनले कार्पेट पसलमा डेलिभरी ब्वाईको रूपमा काम गर्ने बताएका थिए।

त्यस्तै, पोखराकी सलोमी गुरुङ फस्ट रनर्सअप भइन्। उनले ट्रफीसहित नगद १० लाख रुपियाँ प्राप्त गरिन्। दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड र दार्जिलिङकै मोहित भुजेल थर्ड रनर्सअप भए। उनीहरूले पुरस्कारबापत क्रमशः नगद पाँच लाख रुपैयाँ र स्कुटर पुरस्कार प्राप्त गरेका छन्।

ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धीसमेत रहेका गायक–गायिकाहरू प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यसै सिजनका उत्कृष्ट १० प्रतिस्पर्धीलगायतले प्रस्तुति दिएका थिए।

चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए। शोलाई रिमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्