वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर



काठमाडौं ।

बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन्।

सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा आइतबार विवाह गरेका हुन्। सोनाक्षी र जहीरको परिवारले न हिन्दु र मुस्लिम रीतिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए । त्यसैले उनीहरूले कोर्ट म्यारिज गरेका हुन्।

विवाह दर्तापछि उनीहरूले मुम्बईको वर्लीमा रिसेप्शनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरूको सहभागिता रहेको थियो। विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सात वर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन्।

उनीहरूले भनेका छन्-‘हामी दुवैको परिवार र भगवानको आशीर्वादले विवाह गरेका हौँ । सात वर्षअघिको आजको दिन हामी दुवैले एक अर्काको आँखामा माया देखेका थियौँ। हामीले प्रेमलाई सबैभन्दा शुद्ध रूपमा देख्यौँ र यसलाई कायमै राख्ने निर्णय गरेका थियौँ । यस प्रेमले हामीलाई चुनौती र सफलताहरू पार गरेको छ र हामी यो क्षणमा आइपुगेका छौँ जहाँ हाम्रो परिवार र भगवान दुवैको आशीर्वादले हामी अहिले पति र पत्नी बनेका छौँ।’

विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्