शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै बुटवलले ल्यायो २ अर्ब ९९ करोडको बजेट 



बुटवल।

शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालु तर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको आगामी आर्थिक वर्ष २०८१।०८२ को वार्षिक बजेट तथा कार्यक्रम पेश गरेकी हुन् ।  बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ८५ करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन् । बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ । वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल सञ्चालन गर्ने गरी पर्याप्त बजेट विनियोजन गरेको अर्यालले बताइन् ।

यस्तै, बुटवलले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा १ सय बेडको अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्टाएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगरमातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधासम्पन्न बनाउन  १ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताइन् ।

बुटवलले बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ नि:शुल्क उपलब्ध गराउने, जेष्ठ नागरिक लक्षित बाआमासँग नगरप्रमुख कार्यक्रममार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य हेरचाह गर्ने र उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रमअन्तरगत गर्भवती महिलालाई निशुल्क प्रयोगशाला सेवालाई निरन्तरता दिएको छ ।

शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने उदेश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने कार्यक्रम ल्याएको उपप्रमुख अर्यालले बताइन् ।  बुटवलले शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रमअन्तरगत ५ करोड छुट्टाएको छ ।

छोरी पढाऔँ, कार्यक्रमका लागि ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उद्देश्यले २५ लाख रुपैयाँ छुट्टाएको छ ।

बुटवलले विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम र विद्यालय खाजा कार्यक्रमअन्तरगत कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई खाजा खुवाउने विद्यालयहरुमा  १० रुपैयाँ थप गरी  २५ रुपैयाँ गराउनेजस्ता नयाँ कार्यक्रम बजेटमा समावेश गरेको छ । बजेटमार्फत् जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्वपूणर् स्थानलाई नगरको गौरव सम्पदाका रुपमा प्रवद्र्धन गर्ने भनिएको छ । जितगढी किल्लानजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् ।

बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरी पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमले बजेटमा स्थान पाएको छ । बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणका लागि १ करोड, पैदलमार्गमा शिव मुर्ति निर्माणका लागि १ करोड रुपैयाँ र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि १ करोड रुपैयाँ बजेटमा समावेश छन् ।

बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीय स्थलहरु जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने, रात्रीकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा देखिने कार्यक्रमका रुपमा रहेका छन् ।

बुटवललाई रोजगार र स्वरोजगारका समेत स्थापित गर्न गृहिणी महिलाहरुलाई रोजगार, स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन्।

बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम समावेश छन् ।

खेलकुदमा बुटवल १६ डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न १ करोड छुट्टाएको छ ।
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्टिएको छ ।
बुटवलको नगरसभाको आगामी बैठक असार २१ गते बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्