कृषकले पाए गाई नुहाउने मेसिन



हेटौंडा ।

 पछिल्लो समय दुग्ध उत्पादनसँग जोडिएका हेटौंडा–१३, पदमपोखरीका कृषकलाई अनुदानका सामग्री हस्तान्तरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०-०८१ मा स्वीकृत वार्षिक प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (सशर्त अनुदान) बाट पशुपालनमा रहेका किसानलाई सामग्री हस्तान्तरण गरिएको हो ।

पशुमा लाग्ने विभिन्न रोग लम्पी, खोरेत संक्रमणको समयमा आवश्यक हुने स्प्रेपम्प, काउम्याट, घाँस काट्ने मेसिन, गाई नुहाउने मेसिन, पानीट्यांकीसहित सामग्री ८२ पशुपालक किसानलाई वितरण गरिएको थियो ।

उपमहानगरपालिकाको आर्थिक सहयोगमा गाई प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा पशुपालनका लागि आवश्यक सामग्री हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले हस्तान्तरण गरिन् । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उत्पादनसँग जोडिँदै आयआर्जनमा लाग्न आग्रह गरिन।   पूर्वाधार विकाससँगै उत्पादनसँग जोडिएर अघि बढ्न उनले सुझाव दिइन् । सामग्री प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आयआर्जनमा बढावा दिन उनले आग्रह गरिन।

आधाभार कृषक समूह अध्यक्ष फेञ्चु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष पेम्बा लामा, वडा सदस्यहरु सानुमाया नेपाली, उत्तम गोम्जा, दावा लामा, वडा सचिव केशब बोहरा, पशुसेवा केन्द्र हेटौंडा–१३ प्रमुख प्रदीप शाह र पशुप्राविधिक कविता चौलागाईंलगायतको आतिथ्यता थियो ।

प्रतिक्रिया दिनुहोस्