विश्वलाई जलवायु परिवर्तनले बहुतै सङ्कट सामना गर्नुपरेको छ। यसरी जलवायु परिवर्तन हुनुको मुख्य कारण खनिज इन्धन नै हो। विश्वका खनिज इन्धन उत्पादन गर्ने देशहरूले एकै पटक विस्थापित गर्न नसके पनि क्रमशः उत्पादन घटाउँदै जाऔं। सन् २०५० सम्ममा खुद शून्य कार्बन उत्सर्जन गर्नुपर्छ। यो निर्णय गर्न अत्यावश्यक छ। जलवायु सङ्कट समाधानका लागि बहुपक्षीय बैंक स्थापना गर्नुपर्ने आवश्यकता पनि भैसकेको छ। इन्धनको विषयमा हामीले महत्वाकांक्षी नतिजा हासिल गर्नुपर्ने अति जरुरी भैसकेको छ।
समय घर्किसकेको छ। यो खनिज इन्धनलाई चरणबद्ध ढङ्गले विस्थापित गर्न र जलवायु परिवर्तनको विश्वव्यापी चुनौती सामना गर्नलाई बहुपक्षीयताको महत्व कोप–२८ ले पुनः पुष्टि गरेको छ । पृथ्वीवासी हरेक प्राणी र पृथ्वीकै लागि पनि यो सम्मेलन महत्वपूर्ण रहने र कार्बनशून्य गर्ने प्रक्रियालाई (डिकार्बोनाइजेसन)ले नयाँ रोजगारी पनि सिर्जना गर्ने बताउँदै विकसित राष्ट्रले यसलाई सजिलो पार्न विकासोन्मुख राष्ट्रलाई वित्तीय र प्राविधिक सहयोग पनि गर्नुपर्छ भनी संयुक्त अरब इमिरेट्स (युएई) दुबईमा सम्पन्न सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भन्नुभएको भनी पत्र–पत्रिकामा प्रकाशित भएको छ ।
हामी सबैको साझा घर हो पृथ्वी । पृथ्वी नै जलवायु परिवर्तनका कारण सङ्कटग्रस्त छ । लगातार तापमान बढ्दा पृथ्वीको प्राकृतिक प्रणाली बिथोलिएकोले मानव अस्तित्वसँगै पृथ्वीमा आश्रित जीवजन्तु पनि अति सङ्कटमा छन् । जलवायु सङ्कटको गम्भीरता र जोखिमताको हिसाबले नेपाल विश्वकै अग्रसूचीमा छ । हाम्रो हिमालयका पहाड तातेर हिउँ हराइसकेको छ। हिउँ–पहिरो जाँदाजाँदै अब विस्फोटनको सँघारमा पुगिसकेका छन् । त्यसै त हाम्रो गरिबी, भूगोल तथा सामाजिक कारणले धेरै–धेरै जोखिममा थियौं, जसलाई जलवायु परिवर्तनले झन्–झन् उकुसमुकुस परिरहेको छ । अब बाँकी पहाड, तराईका जङ्गल पनि तापक्रम बढेर डढेलोले सखाप हुने हो कि भन्ने हामीलाई ठूलो त्रास छ ।
निकट भविष्यमा नै हाम्रो देश अफ्रिकाका गर्मी भनिएका देश र खाडी प्रदेशजस्तै हुने सम्भावना पनि देखिएको छ । विश्वका गर्मी भनिएका देशमा बसोबास गर्ने मानिसहरूसमेत अब आफ्नो देशमा बस्न, अड्न नसकेर शीतल खोज्दै बाँकी बचेकाहरू उत्तरतर्फ लाग्ने सम्भावना छ । हालै प्रकाशित केही पत्रिकाहरूमा एसिया र अफ्रिकाका ‘स्लम’ क्षेत्रका मानिस जलवायु परिवर्तनको पहिलो मारमा छन् भनी उल्लेख गरिएकोले उक्त उल्लेख भएजस्तै हाम्रो देशका बासिन्दा हाम्रो गरिबी, भूगोल र सामाजिक तथा हिमालयमा हिउँ कत्ति नहुनु, हिमालय काला पहाडमा परिवर्तन हुनुसमेतका कारणले भविष्यमा सबैभन्दा पहिले जलवायु परिवर्तनको चपेटामा पर्ने सम्भावनामा पुगिसकेका छौं । यसरी जलवायु परिवर्तन हुनुपर्ने मुख्य कारण खनिज इन्धन नै हो, यसकारण यसलाई विस्थापित गरौं । एकै पटक नसके पनि क्रमशः गरौं भनी महासचिव गुटेरसले भन्नुभएको पनि छ । तर जलवायु परिवर्तन हुनुमा कुन–कुन देशको हात छ भनेर कसैले भनेको पाइएको छैन ।
बर्सादको झरी :
यससम्बन्धमा मेरो (म अहिले ९२ वर्षको भएँ) अनुभव यस प्रकार छ– २००१ साल भाद्र महिनाको कुरा हो । मेरो हजुरबुबा पण्डित उमानाथ न्यौपाने करिब ७३ वर्ष उमेरका व्यक्तिले भैंसी बाँधेको स्याउलाको छाप्रोमुनि गई भैंसीलाई देखाएर भन्नुभएको थियो (उहाँकै शब्दमा)– ‘यी भैंसीका सिङमा भाद्र महिना लागेपछि झ्याउ उम्रन्थ्यो, अब झ्याउ उम्रन छोड्यो । आकाशबाट पानी आउनै छोड्यो । पोहोर–परारको झरी अब कहाँ गयो ?’ मसमेतका ४/५ जना बूढापाका व्यक्तिका अगाडि उहाँले यसरी भन्नुभएको थियो । त्यति बेला म १२ वर्षको मात्र थिएँ । त्यसपछि हरेक वर्ष बर्सादको समयमा उहाँका ती शब्द, ती वाणी मलाई सधैँ गुञ्जिरहेका छन् । स्मरण रहोस्, बर्सादको समयमा पनि भैंसी बाहिरै पानी पर्ने ठाउँमै कीलो–दाम्लोमा राख्ने चलन थियो । उहाँले यो पनि भन्नुभयो– ‘पूर्वबाट आउने हावा नआई पानी पर्दैन । लामो झरी बर्संदैन । पूर्वबाट ५/६/७ दिनसम्म हावा चल्यो भने त्यति नै दिन पानी पर्छ। पूर्वबाट हावा चल्नै छोड्यो । किन हावा चल्न छोड्यो ?’ यसरी यो पनि उहाँले प्रश्नजस्तै गरी भन्नुभएको थियो।
२००१ सालको बर्सादभन्दा अहिले १० गुणा पानी पर्न कम भैसकेको छ । पूर्वबाट आउने हावा किन बन्द भयो भनी विचार गर्दा, समुद्रमा जहाँ बढी गहिरो छ त्यहाँ नै पृथ्वीभित्रबाट खनिज इन्धन ग्यास उत्सर्जन भई समुद्रको पानीलाई मडारी, उथलपुथल बनाई, त्यही पानी उम्लेको जोड्ने हावा सिर्जना गरी त्यही हावा पूर्वबाट पश्चिमतर्फ आउने र त्यसको २/३ घण्टा वा ४/५ घण्टापछि अथवा कहिले हावासँगै पानी आउने । त्यसपछि हावा सिर्जना भई, ग्यासको मात्रा बढेर ग्यास वृद्धि भई, ग्यासले नै पानी बोकेर उठाई, आकाशमै पुर्याई, ग्यासकै शक्तिले बादल पनि बनाई ठूला–ठूला पानीका मुस्ला समुद्रबाट उठाई, हावाको मद्दतले सबैतिर फिँजाई पानी पार्ने, आँधीबेहरी आउने पनि त्यही ग्यासको शक्ति रहेछ । वैज्ञानिकहरूले त्यही ठाउँ पत्ता लगाई बंगलादेश, मलेसिया आदि दक्षिणपूर्वी एसियाका देशहरूले समुद्रभित्र पाइप गाडी, त्यो खनिज इन्धन पाइपद्वारा निकाली, ट्याङ्करभित्र हाली, बाहिर निस्कने बाटो बन्द गरिदिएकोले पूर्वबाट आउने हावा, पानी सबै बन्द भयो । पूर्वबाट आउने हावा पुस–माघमा ३/४/५ दिन चल्यो भने त्यति नै दिन झरी हाली हाम्रा हिमालयमा हिउँ भरिने रहेछ । पूर्वबाट हावा यिनै कारणले चल्न पनि छोड्यो, पानी पर्न पनि छोड्यो र हाम्रा हिमालय काला पहाडमा परिणत पनि भए । र, हाम्रो देशमा जलवायुमा परिवर्तन आयो । अनि यो सङ्कट उत्पन्न भयो ।
एसियाको दक्षिणपूर्वमा पर्ने देशहरूले मात्र खनिज इन्धन उत्पादन ५० प्रतिशत कम गर्ने हो भने मात्र पनि आधा पृथ्वी जलवायु परिवर्तनको सङ्कटबाट केही मुक्ति पाउने थियो । यसबाहेक रूस तथा खाडी प्रदेशका देशहरूबाट पनि ५० प्रतिशत खनिज इन्धन समुद्रबाट निकाल्न कम गर्ने हो भने सारा पृथ्वी नै जलवायु सङ्कटबाट धेरै मात्रामा उन्मुक्ति (राहत) पाउने थियो । यसरी जलवायु परिवर्तन हुनुका कारण यिनै हुन् भनी हाम्रो देशका विद्वान्, विशेषज्ञहरूले प्रस्टरुपमा भनेको पाइएको छैन तापनि यो निश्चय हो कि जलवायु परिवर्तनबाट उन्मुक्ति पाउन खनिज इन्धन निकाल्न कम गर्नै पर्छ । यससम्बन्धमा कदम चाल्नै पर्छ । अरू उपायबाट केही दिन कम भएजस्तै होला, तर दीर्घकालीन मुक्ति हुँदै हुँदैन ।
विश्वमा जलवायु परिवर्तनका सम्बन्धमा धेरै सम्मेलन, बैठक भए । तर अब यसै गर्ने, यही तरिकाले विश्वका जनतालाई जलवायु परिवर्तनको चपेटाबाट मुक्त गराउने भन्ने ठोस निर्णय भएको पाइएको छैन । नेपालमा, मेचीदेखि महाकालीसम्मका हामी नेपाली हिमालयको काखमा बसेका भाग्यमानी नेपाली थियौं । अब त्यो भाग्यमानीबाट दुःखी नेपालीमा परिणत भयौं, किनभने एसियाका दक्षिणपूर्वी देशहरूले समुद्रबाट खनिज इन्धन निकाली हाम्रो देशमा आउने हावा र पानी बन्द गरिदिएकोले । आठ–दश वर्षयता कहिले–कहिले पानी त पर्छ तर त्यो पानीको रुप कस्तो छ भने कुनै एउटा गाउँमा पानी पर्छ अनि त्यो गाउँमा पहिरो जान्छ । जनधनको ठूलो क्षति गर्छ । तर त्यो पानी एक किलोमिटर परको गाउँमा कत्ति पनि परेको हुँदैन । नेपालभरि यही हालत छ । सबैतिर सन्तुलित तरिकाले झम्झम् झरी पर्ने, देशैभरि एकै पटक पर्ने यो सबै शक्ति त्यही ग्यासको रहेछ । त्यही शक्ति विश्वभरका भान्सा–भान्सामा पुग्यो । अब कसरी झरी पर्छ ?
खानेपानीको हाहाकार :
पहिले–पहिले सन्तुलित तरिकाले रातभरि, दिनभरि असार–साउनमा झम्झम् पानी पथ्र्यो । त्यसरी पानी परेपछि मूल फुट्यो भन्ने चलन थियो । त्यसरी मूल फुटेपछि तराईका जमिनमा ४/५ फीट खन्दैमा पानी निस्कन्थ्यो, अब ४५÷५० फीट पाइप गाडे पनि पानी आउन मुस्किल भैसकेको छ। त्यसरी मूल फुटेपछि विशेष गरी पहाडका गाउँमा घरभित्रै पानी उम्रेर सम्हाल्न निकै मुस्किल पर्दथ्यो । जहाँनेर पानी पलायो त्यही ठाउँबाट सानो कुलोजस्तो बनाएर घरबाहिर त्यो पानीलाई निकाल्ने, तर्काउने चलन थियो । यो स्थिति कतिपय घरमा देखिन्थ्यो । खोल्साखोल्सीमा जताततै पानी पलाउँथ्यो । पीचरोड थिएन । त्यति बेला मूल बाटैमा पनि जुत्ता लगाएर पैदल हिँड्न निकै मुस्किल पर्दथ्यो । त्यसरी बर्सादमा पानी पलाएपछि वैशाख–जेठमा पनि खानेपानी सुक्तैनथ्यो । अब त्यो मूल फुट्ने गरी झरी पर्ने (पानी पर्ने ) दिन कहाँ गए ? खानेपानीको पनि हाहाकार भैसकेको छ ।
हाम्रो देशको जमिनमध्ये पहाडी पाखोलगायत ८० प्रतिशतभन्दा बढी नै खेतीयोग्य जमिन आकाशे पानीको भरमा छ । आकाशे पानी पर्नै छोडेपछि अब जनताको के हालत होला ? यस्तै स्थिति रहिरहने हो भने अब ५/७ वर्षमा मेलम्चीको पानी पनि सुक्ने डर भैसकेको छ । सुनकोशी र त्रिशूलीमा पनि यही हालत हुन सक्छ। यी सबै कुरा विचार गरी हाम्रो सरकारले सक्रियताका साथ कदम चाल्नु अति जरुरी भैसकेको छ ।
स्मरण रहोस्, ७०/७५ वर्षपहिले नेपालका धेरै पानी पर्ने स्थान इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापा, विराटनगर थिए। अब पूर्वबाट पानी आउन छोडेकोले पश्चिमी हावाको प्रभावले पोखरामा बढी पानी आउनेजस्तो भएको छ । तर त्यो पनि केही वर्षमा कम हुने सम्भावना देखिन्छ । यी सबै कुरा हाम्रो देशका जलवायु विशेषज्ञहरूले सरकारमा जानकारी गराइसकेकै होलान् ।
अब जलवायु परिवर्तनबाट केही प्रतिशत भने पनि उन्मुक्ति पाउन खनिज इन्धन निकाल्ने देशहरूले विकासशील देशहरूलाई इन्धन ननिकालेबापत के–कति क्षतिपूर्ति गर्नुपर्छ, वैज्ञानिकहरूद्वारा मूल्याङ्कन गराई, क्षतिपूर्ति गराई खनिज इन्धनलाई विस्थापित गर्नुपर्छ। पहिले जति प्रतिशत सकिन्छ, क्रमशः कम गर्दै जाऔं । यो काम संयुक्त राष्ट्रसंघलाई अनुरोध गरी हाम्रो सरकारले सक्रियताका साथ अघि बढाउनुपर्छ र कामको सफलता हात नलाग्दासम्म यसैमा लागिरहनु सरकारको दायित्व भैसकेको छ ।
प्रतिक्रिया