सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार रामप्रसाद न्यौपानेलाई



काठमाडाैं । 

सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् । स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्य योगदान पुर्‍याएको भन्दै न्यौपानेलाई सो पुरस्कार प्रदान गरिएको हो ।

बरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित पुरस्कार सो पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ साथै सम्मान पत्र रहेको छ ।काठमाडौँमा आज आयोजित विशेष समारोहमा न्यौपानेलाई कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा। सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै कोशीका निवर्तमान मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रका लागि स्वास्थ्य पत्रकारिताको विशेष महत्व रहेको चर्चा गर्दै पत्रकारहरुले यसलाई बुझेर अघि बढ्न सुझाव दिए । उनले एक जना चिकित्सकले गल्ती गर्दा एक जना बिरामीलाई असर गर्ने तर एक जना स्वास्थ्य पत्रकारले एउटा बाक्यमा गल्ती गर्दा लाखौं करोडौँलाई असर गर्न सक्ने भन्दै सम्वेदनशील हुन आग्रह गरे ।

उनले शारदा सुदर्शन देवकोटा फाउण्डेशनले स्वास्थ्य पत्रकारहरुलाई सम्मान गर्ने थालनी गरेकोमा खुशी व्यक्त गर्दै यसले पत्रकारहरुलाई प्रोत्साहन तथा सकारात्मक उर्जा प्रदान गर्न मद्धत मिल्ने बताए । कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष डा। देवकोटाले आफ्नो बाबा पत्रकार रहेको र पत्रकारिता सम्मानित पेशा हो भन्ने आफूहरुलाई बुझाएको भन्दै बुबाको सम्झनामा मञ्चसंग जोडिएको बताईन् ।

‘आज म छु बुबाकै कारण छु , उहाँले पत्रकारिता सम्मानित पेशा हो भनेर हामीमा छाप छोडेर जानु भयो । त्यसैले उहाँको सम्मानमा हामी छोराछोरीले पत्रकारितासंग कुनै न कुनै रुपमा जोडिएका हौँ ‘ उनले भनिन् । उनले पुरस्कारबाट स्वास्थ्य पत्रकारितामा थप निखारता आउने विश्वास गरिन ।

कार्यक्रममा पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति प्राडा संगिता भण्डारीले फाउण्डेशन र मञ्च मिलेर गरेको काम उदाहरणीय भन्दै यसलाई थप परिस्कृत गर्दै लैजानु पर्ने बताईन् । उनले आगामी दिनमा स्वास्थ्य पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि समेत फाउण्डेशन र मञ्चले काम गर्न सक्ने बताईन् ।

यस्तै गैरआवासीय नेपाली संघ(एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले फाउण्डेशन र मञ्चको सहकार्यलाई अन्तराष्ट्रिय रुपमा पनि लैजान सकिने बताईन । उनले स्वास्थ्य सचेतनामा मञ्च र स्वास्थ्य स्वास्थ्य पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै एनआरएन पनि अभियानमा जोडिन सकिने बताईन ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्यमा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहन गर्ने कार्यमा फाउण्डेशनसंग सहकार्य गरेको भन्दै भविस्यमा यसको दायरा अझ फराकिलो बनाई अघि बढ्ने बताए । उनले कोभिडको मध्य तिरबाट फाउण्डेशनसंग सहकार्य गर्दै आइरहेको भन्दै चौथो संस्करणसम्म आईपुग्दा यसले नयाँ उचाई प्राप्त गरेको बताए ।

कार्यक्रममा पुरस्कृत पत्रकार न्यौपानेले सम्मान तथा पुरस्कारले पत्रकारहरुमा थप हौसला र उत्प्रेरणा जाग्ने भन्दै आफूलाई छनौट गरेकोमा आयोजक प्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्