हचुवाको नीति



काठमाडौं महानगरले राजधानीको सम्पदा क्षेत्रलाई ‘भेहिकल फ्री जोन’ बनाउन लागेकामा सर्वत्र विरोध भएको छ। महानगरको कार्यपालिकाको बैठकले प्रस्ताव गरेको नीति तथा कार्यक्रमको ३८ औ बुँदामा विश्व सम्पदासूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भु महाचैत्यलाई कामपाको मातहतमा सञ्चालन र व्यवस्थापन गर्नका लागि समेत आवश्यक समन्वय र कानुनी प्रबन्ध गर्ने उल्लेख छ।

सोही बुँदामा विश्व सम्पदा सूचीमा सूचीकृतबाहेक नयाँसडक, हाँडीगाउँजस्ता प्राचीन पुरातात्विक र विशेष महत्वका क्षेत्रलाई फ्री भेहिकल जोनको रुपमा विकास गरिने उल्लेख छ। महानगरको सो प्रस्तावको विषयमा स्थानीय र सम्पदाप्रेमीले विरोध जनाएका छन्।

उनीहरुको विरोधको स्वरमा वडा नं. २२ र २३ ले समेत साथ दिएको छ। आदिवासी स्थानीयको गाँस, बास र कपाससँग जोडिएको विषयलाई हचुवाको भरमा सवारीसाधन गुड्न नदिने भनी गरेको निर्णयको स्थानीय र अन्य व्यापारीले विरोध गरेका छन्। हुन त यो प्रस्ताव पास भइसकेको छैन। मेयर बालेन्द्र साहले पेलेरै भए पनि सम्पदा क्षेत्रलाई भेहिकल फ्री जोन बनाउने योजना बनाएका छन्।

प्राचीन सम्पदा नगरी र प्राचीन व्यापारिक थलोको जीवन्तता के हो ? पूर्वाधारविना घट्दै गएको ग्राहक र पर्यटकलाई भोलि फेरि त्यही स्थानमा फर्काउने के योजना छ ? यावत् विषयमा ध्यान दिन छाडेर एकलौटी निर्णय गर्न खोेज्नु कामपाको ठूलो कमजोरी हुन सक्छ ।

हुन त मेयर साहको सो प्रस्तावको एमाले, नेपाली कांग्रेस र एकीकृत समाजवादीको वडा अध्यक्षले संशोधन गर्न माग गरिसकेका छन्। यस विषयमा मेयर बालेन्द्र साहले निर्दलीयताको रुप देखाउँदै नगरसभामा दललाई पार्टीको धङधङी त्यागेर आउन चुनौती दिएका छन्। मेयरले दिएको चुनौती वडा अध्यक्षले सामना गर्नुपर्ने हो वा मेयर आफैँले ? यसको निर्णय आगामी १० गते हुनेछ।

अभियन्ताले स्थानीयबीच झगडा, वैमनस्यता सिर्जना गर्न, वडा अध्यक्षलाई विभाजित गर्न मेयर साहले विभिन्न हर्कत गर्न थालेको आरोप लगाएका छन्। स्थानीयसँगको सहमतिविना दूरगामी असर पर्ने काम गर्नु किमार्थ हुँदैन। विनाआधार प्राचीन व्यवसाय मासिने गरी गरेको निर्णय मान्य नहुने स्थानीयको भनाइ छ। फ्री भेहिकल जोन बनाउँदा त्यहाँको व्यवसाय के हुने ? भन्ने कुराको विश्लेषण नगरी गरेको निर्णय मान्य हुँदैन।

यसअघि महानगरले न्युरोडलाई सवारी निषेधित क्षेत्र बनाउने योजनाअन्तर्गत नै पहिलो चरणमा नयाँसडकको पार्किङ हटाएको थियो । पार्किङ हटाएलगत्तै फुटपाथ ठूलो बनाउन थालेको थियो। सडक विभाग र वडा कार्यालयको विरोधपछि फुटपाथ विस्तार रोकिएको छ। फेरि फ्री भेहिकल जोनको नाममा न्युरोडवासीलाई पलायन गर्न खोजिरहेको भान भएको स्थानीयको भनाइ छ।

विदेश वा स्वदेशको अन्य स्थानसँग दाँजेर राजधानीको केही प्राचीन क्षेत्रमा भेहिकल फ्री जोन बनाउँदा योजना तयार गर्नुपर्छ, गुरुयोजना बनाउनुपर्छ। त्यति मात्रै होइन, जनप्रतिनिधि र सरोकारवाला निकायसँग छलफल गरेर मात्र निर्णय लिनु उचित हुन्छ। होइन भने स्थानीयको व्यवसाय र प्राचीन इतिहास मासिने गरी भेहिकल फ्री जोन बनाउनुहुँदैन । यस विषयमा कामपाको ध्यान जानु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्