कला प्रर्दशनी गर्दै नेत्र रोगीलाई सघाउँदै सिद्धार्थ



काठमाडौं ।

पेसाले उनी नेत्र अनुुुसन्धान विज्ञ हुन, तर यसमा मात्र सिमित छैनन्। उनी अर्थात् सिद्धार्थ रञ्जित। सिद्धार्थले नेत्र अनुसन्धान पेसासँगसँगै आफ्नो अलौकिक कलालाई पनि सँगसँगै अगाडि बढाउँदै आएका छन्।

बाल्यकालदेखि नै चित्रकलामा रुचि राख्ने कलाकार रञ्जितले व्यावसायिक जीवनसँगै आफूमा निहित कला र फूर्सदको सदुपयोग गरी बनाएका चित्रकला तथा मोडल मिनिचर आर्टको प्रर्दशनी गर्ने भएका छन्। ब्युटिफूल नेचर नाममा हुने यो उनको तेस्रो एकल कला प्रदर्शनी हो।

सामाजिक सेवामा समेत सक्रिय रञ्जित आफैँले २०५२ सालमा स्थापना गरेको युवा नेत्र सेवानामक संस्थामार्फत विभिन्न गाउँमा आँखा शिविर लिएर पुग्छन्। उनी शिविरमा जाँदा भेटिएका ढुंगा बटुलेर घरमा ल्याउँछन् र त्यसलाई आफ्नो सीप र मिहिनेत प्रयोग गरी मूर्त रूप दिन्छन्। ‘म ढुंगामा कला देख्छु, छरपष्ट ढुंगालाई संगालेर घर ल्याएर फुटाल्छु र जोड्छु। त्यसलाई आकार दिन्छु,’ सिद्धार्थले सुनाए, ‘दिउँसो खासै फुर्सद हुँदैन। त्यस कारण राती ९ देखि १२ बजेसम्म बसेर काम गर्छु।’

अध्ययनको सिलसिलामा अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयमा नेत्र विज्ञानसम्बन्धी अध्ययन गर्न पुगेका उनले त्यहाँ पहिलो चित्रकला प्रर्दशनी गरेका थिए। प्रदर्शनीबाट संकलित रकम त्य“हा रहेको नेपाल अस्ट्रेलिया एसोसियसनलाई सहयोग गरेका थिए। त्यस्तै, सन् २००८ मा काठमाडौंमा आयोजित पिस अफ नेचरनामक दोस्रो प्रदर्शनीमार्फत संकलित एक लाख रुपिँया सामाजिक सेवाका लागि हस्तान्तरण गरेका थिए।

यसपटक भने उनले १७ वर्षको मिहिनेतले सिर्जित कला प्रदर्शनीमा राख्न लागेका छन्। आगामी असार २९ गते राजधानीको टेकुस्थित भिभा ब्याक्वेटमा हुने एकदिने प्रदर्शनीमा उनका ३५ चित्रकलाका साथमा एक दर्जनजति मोडल मिनिचर आर्ट हुनेछन्। जसको मूल्य ३५ सयदेखि दुई लाख ५० हजार रुपियाँसम्म हुनेछ। ‘पहिले बुद्ध भगवान्को मिनिचर आर्ट धेरै बनाएको थिएँ भने अहिले शिव भगवान्को ७, ८ वटा आर्ट प्रदर्शनको लागि तयार गरेको छु,’ सिद्धार्थले सुनाए।

सिद्धार्थ कला र चित्रकलामा आकर्षित हुनुमा एक घटनाको भूमिका रहेछ। ‘एकदिन मैले बाल मन्दिरमा साथीहरूले चित्र बनाएको र कपी तथा चकलेट पाएको देखेँ। त्यो देखेर सरलाई सोधेँ सर उनीहरूले किन चकलेट र कापी पाएका? सरले उनीहरूले राम्रा चित्र बनाएका कारण पुरस्कार पाएका हुन्। तिमी पनि सिक राम्रो चित्र बनाउ अनि यस्तै पुरस्कार पाउँछौं’ सिद्धार्थले सम्झिए, ‘त्यसपछि चित्रकला सिक्न थालेँ।विभिन्न चित्रकलामा भाग लिएर पुरस्कार पनि जितेँ। ६ क्लासदेखि शुरू भएको त्यो कला आजसम्म पनि निरन्तर चलिरहेको छ।’

अध्ययन गरेर अस्ट्रेलियाबाट फर्केपछि त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा आधुनिक मेशिनबाट आँखा परिक्षण शुरू गरेका सिद्धार्थले पहिलोपटक सन् १९९३ मा नारायणहिटी राजदरबार पुगेर तत्कालीन राजा वीरेन्द्रको आँखा जाँच गरेका थिए।

त्यसैगरी २०५२ साल पौष १ गते स्थापना भएको उनको युवा नेत्र सेवानामक संस्थाले स्थापनाको पहिलो दिन नै ९९ जना मानिसको आँखाको शल्यक्रिया गरेको थियो। त्यसयता उनले गुल्मी, लुम्बीनी, नगरकोटलगायत विभिन्न स्थानमा आँखा शिविरमार्फत उपचार र शल्यक्रिया गर्दै आएका छन्।

सन् २०१० देखि उनले एक कप चियानामक अभियान पनि चलाएका छन्। ‘दिनको एक कप चियाबराबरको रकम एक वर्षमा ७ हजार तीन यस हुन्छ। कसैको एक कप चिया सहयोगले कसैको गुमेको दृष्टि फर्काउने मेरो प्रयास हो। हरेक वर्ष यस अभियानका विभिन्न देशमा रहेका चार सय ५० सदस्यले सहयोग गर्नुहुन्छ र त्यसबाट संस्थामार्फत विपन्न नागरिकको आँखाको मोतिविन्दुको शल्यक्रिया गर्छौँ’ नेपाल आँखा अस्पतालमा करिब दुई दशक जागिर खाएर सेवा गरेका उनी भन्छन्, ‘समाज सेवाको हुटहुटीले जागिर छोडेको थिएँ। काम गर्ने समय र सेवा सुविधा बढाएको थियो तर अस्पतालमा पूरै समय दिँदा समाज सेवा गर्ने समय नमिल्ने भएकाले म जागीर छोडेर सामाजिक सेवामा लागेको छु।आफूले पाएको शिक्षा र सिपबाट मानवसेवा र राष्ट्रसेवा गर्न पाउँदा खुशी हुन्छु।’ अबको प्रदर्शनीबाट संकलित रकमसमेत नेत्र ज्योतिमा खर्च गर्ने सिद्धार्थले सुनाए।

प्रतिक्रिया दिनुहोस्