चौहानले २७ बलमै शतक प्रहार गरे



काठमाडौं ।

गत फेबु्रवरीमा कीर्तिपुरस्थित त्रिवि मैदानमा जान निकोल लोफ्टीइटनले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमान रचेका थिए। उनले नेपालविरुद्ध नेपालकै खेलाडी कुशल मल्लले एसियन गेम्समा मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गरेको कीर्तिमानलाई पछि पारेका थिए।

लोफ्टीले ३३ बलमा शतक प्रहार गरेर सर्वाधिक छिटो शतकको कीर्तिमान बनाएको चार महिना पनि टिकेन । सोमबार इस्टोनियाका ब्याटर साहिल चौहानले उनको कीर्तिमान ध्वस्त गरिदिए। चौहानले साइप्रसविरुद्धको टी २० अन्तर्राष्ट्रिय खेलमा २७ बलमै शतक प्रहार गरेर कीर्तिमान राखेका हुन्।

३२ वर्षीय साहिलले क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक प्रहार गरेको कीर्तिमानलाई समेत ओझेलमा पारिदिए । रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका गेलले पूणे वारियर्सविरुद्ध छिटो शतकको कीर्तिमान राखेका थिए।

यद्दपि टी १० मा इंग्ल्यान्डका विल ज्याक्सले २५ बलमा शतक प्रहार गरेको सबै फरम्याटको क्रिकेटमा अहिलेसम्मको छिटो शतक हो। तर, टी १० क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता नहुनाले यो कीर्तिमानको खासै महत्व रहेन। ज्याक्सले सन् २०१९ मा दुबईमा भएको टी १० खेलमा सर्रेबाट खेल्दै लंकाशायरविरुद्ध २५ बलमा ११ छक्का र ८ चौकासहित शतक प्रहार गरेका थिए।

१८ छक्काको कीर्तिमान

साहिलले छिटो शतकको कीर्तिमान राख्नुका साथै एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत रचेका छन्। उनले साइप्रसविरुद्ध १८ छक्का प्रहार गरेका थिए । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाई र न्युजिल्यान्डका फिन एलेनको समान १६ छक्काको कीर्तिमान तोडेका हुन् ।

६ खेलको सिरिजअन्तर्गत दोस्रो खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याएको इस्टोनियाले १३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । चौहान ४१ बलमा ६ चौका र १८ छक्कासहित सर्वाधिक १ सय ४४ रनमा नटआउट रहे।

एकदिवसीयमा डिभिलियर्स अगाडि

दक्षिण अफ्रिकाका एबी डिभिलियर्स एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी हुन्। डिभिलियर्सले सन् २०१५ मा वेस्टइन्डिजविरुद्धको खेलमा ३१ बलमा शतक प्रहार गरेका थिए । उनको यो विश्व कीर्तिमान अहिलेसम्म तोडिन सकेको छैन।

यसैगरी टेस्ट क्रिकेटमा भने न्युजिल्यान्डका पूर्व खेलाडी ब्रेन्डन म्याककुलमले सन् २०१६ मा अष्ट्रेलियाविरुद्धको खेलमा ५४ बलमै शतक प्रहार गरेर कीर्तिमान रचेका थिए।

प्रतिक्रिया दिनुहोस्