जंगबहादुरले यसरी फिर्ता ल्याए चार जिल्ला



नेपालका सुदूरपश्चिमका चार जिल्लालाई तत्कालीन समयमा र अहिलेभन्दा केही समयअगाडिसम्म पनि नयाँ मुलुक भनेर चिन्ने गरिन्थ्यो । लोक सेवाको परीक्षामा समेत नयाँ मुलुकका बारेमा प्रश्न सोध्ने चलन थियो। तर नेपालको सुदूरपश्चिमका ती चार जिल्ला (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) लाई किन नयाँ मुलुकका नामले सम्बोधन गरिएको हो ? भन्ने बारेमा देशको बारेमा चिन्ता राख्ने आम नेपालीले जान्नै पर्ने हुन्छ ।

नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह र उनका उत्तराधिकारी बहादुर शाह, राजेन्द्रलक्ष्मीले समेत देशको सीमा बढाउन गरेका विभिन्न अभियानले हालको नेपालभन्दा झन्डै आधा गुणा बढी क्षेत्रफलको भूभाग नेपालको सिमाना कायम भएको थियो। तैपनि पछि विदेशीसँगको युद्धमा नेपाली सेनालाई हराएर नेपालको निकै भूभाग विदेशीले आफ्नो बनाउन सफल भएको थियो भन्ने इतिहासका विभिन्न घटनाले देखाउँछन्। तिनमा पनि नेपालको तिब्बतसँगको युद्धमा नेपाली सेनाको हार भएर धेरै भूभाग गुमाउन बाध्य बन्नुपरेको थियो।

नेपाल र तिब्बतबीचको युद्धमा हार बेहोरेको नेपालले सन् १८४७ मा वेत्रावतीको सन्धि गर्नको लागि भनेर एक प्रतिनिधि मण्डल चीन गएको थियो। उक्त प्रतिनिधि मण्डलको नेतृत्व सौरथसिंह पन्तले गरेका थिए। सन्धिको लागि चीन पुगेको नेपाली प्रतिनिधि मण्डलका सदस्यहरुलाई चीनमा स्वागत–सत्कार गरिनुको बदला उनीहरुलाई लुट्ने र दुःख दिने काम पनि गरियो। तीमध्ये जो कमजोर थिए, तिनीहरु उतै मरे। कति जना नेपाल फर्कने क्रममा बाटोमा खाना नपाएर भोकले मरे। एकजना सेनाका लेफ्टिनेन्ट भीमसेन कुँवर मात्र नेपाल आइपुग्न सफल भए। लेफ्टिनेन्ट भीमसेन कुँवरले चीनमा आफूहरुलाई उनीहरुले गरेको दुव्र्यवहारका सबै घटना सुनाएपछि रिसले तातेका जंगबहादुर राणले भोटमाथि आक्रमण गरेर जित्ने र आफ्ना सैनिकको प्रतिनिधि मण्डललाई गरेको दुव्र्यवहारको बदला लिने योजना बनाएका थिए। तर वेत्रावतीको सन्धि नेपालका लागि अपमानजनक हुनुका साथै चिनियाँहरुको पक्षमा भएको थियो । तथापि थापाथलीको सन्धिले तिब्बतले नेपाललाई हरेक वर्ष १० हजार रुपियाँ चाँदीको सिक्का तिर्नुपर्ने सर्तमा सबै कुरा टुंगिएका थिए ।

अंग्रेज शासकले भारतमा आफ्नो साम्राज्यवादी नीति कायम राख्दै र आम भारतीय नागरिकलाई हेप्दै, पेल्दै जान थालेको थियो। अंग्रेज शासकको यौ रबैया आम भारतीय नागरिकलाई मन परेको थिएन र उनीहरुको मानसमा असन्तोषको भावना उत्पन्न हुन थालेको थियो। सन् १८५० मा त्यो असन्तोषको भावना समेटिएर विद्रोहको रुप धारण गर्न पुग्यो। जसको फलस्वरुप सिपाही विद्रोहको नाम दिएर भारतीयहरु अंग्रेजको शासनबाट मुक्त हुन र स्वतन्त्र हुनको लागि स्वतन्त्रता संग्रामको अभियानमा लागे। यो विद्रोहलाई दबाउनको लागि नेपालका तत्कालीन राणा प्रधानमन्त्री जड्गबहादुरलाई सेना सहयोगको लागि अनुरोध भयो ।

इस्ट इन्डिया कम्पनीको भरथेगमा टिकेको राणा शासनका शासक प्रधानमन्त्री जंगबहादुरले यो अवसरलाई सुनौलो अवसर ठानेर सन् १८५७ जुलाई ७ का दिन ६ रेजिमेन्ट गोर्खाली सेना अंग्रेजको सहायतार्थ भारततिर पठाए। अर्कोतर्फ लर्ड केनिडको अनुरोधमा जंगबहादुर स्वयंकै नेतृत्वमा तीन पल्टन सेना लिएर सन् १८५७, डिसेम्बर १० का दिन भारतको लखनौतिर प्रस्थान गरे । जंगले गोर्खाली सेनाको बलमा भारतमा हुँदै गरेको सैनिक विद्रोह दबाउन सफल भए। उनले गोरखपुरदेखि लखनौसम्मका विभिन्न स्थानमा हुँदै गरेका विद्रोहलाई दबाउने र विद्रोहीलाई पूर्णरुपमा नियन्त्रणमा लिएर अंग्रेजकै प्रभुत्व कायम गराइदिन जंगबहादुर सफल भए। पछि नेपाली फौज नेपाल फर्कंदाको समयमा नेपाली (गोर्खाली) सेनाले लखनौ लुट गरेर आए भन्ने कुराको चर्चासमेत इतिहासका पानामा पाइन्छ। यसबारेमा वि.सं. १९३२ वैशाख महिनाको ९ गते मंगलबारको दिन स्थापना गरिएको कालमोचन घाटको शिलापत्रमा जंगबहादुर स्वयंले वर्णन गरेको कुरो जस्ताको त्यस्तै रहेको छ । जुन यस प्रकार रहेको छ :
‘श्रीनेपाल मुलुकका माहाजन रयेत ….. आउन्या हिन्दुस् थानमा रह्याका बृटिस् सर्कारका फौज औ जगाजगाका राजारजौटाहरु उठी बृटिस् सर्कारसँग हंगामा गरी जगाजगामा रह्याका मिम बाबाः बबिनहरुलाई मार्दा अस्त्रिहत्या बालहत्या ग¥याका हेरिरहन मुनासिव छैन भनी आफ्नु ४१ वर्षको उमेर हुँदा बृटिस् सर्कारका मद्दत निमित्त आफ्नो फौज पठाई हंगामा गन्र्या रेबिलहरुसँग लडाञी गरी फेरि भारी फौज ली आफैँ गै लडाञी गरी गोरखपुर फत्ये गरी बृटिस् सर्कारका कम्यांडर इन चिफसँग सामेल भै लषनौ लडाञी गरी लषनौ फत्ये गरी यस्तै रीतले रेबिल्हरुसँग २५ लडाञी गरी आफ्ना अंकल र ज्यामर्दिले बृटिस् सरकारसँग दोस्ती बढाउँदा ७२ सालमा बृटिस् सर्कारतर्फ गयाको नेपालका पश्चिमतर्फको मुलुक बृटिस् सर्कारबाट श्रीनेपाल सरकारमा सपुर्त गराई बेलायत्का कुइन बादसाह बात वजिरका नाउँमा ः जिसिबी भन्र्या इलाकाष र तक्मा षलिता ….. इति संवत् १९३१ साल मिति चैतशुदि १५ रोज ३ शुभम् ।’

भारतीय सिपाही विद्रोह दबाउन र शान्तिपूर्ण वातावरण सिर्जना गर्न नेपाली फौज सफल भएपछि भारतमा शासन जमाएर बसेको ब्रिटिस सरकार जंगबहादुरको उक्त कार्यबाट ज्यादै सन्तुष्ट र खुशी भयो । यो खुशीको क्षणलाई कसरी कायम राखेर पछिसम्मका लागि आभारी बनाइराख्ने ? भन्ने रणनीति अपनाउन ब्रिटिस सरकारले चाह्यो । ब्रिटिस शासकहरुका बीच धेरै सरसल्लाह गरेपछि अन्त्यमा सुगौली सन्धिबाट हरण भएको राप्ती नदीदेखि काली नदीसम्मको मैदानी भाग नेपाललाई नै फिर्ता गरेर जंगबहादुरले लगाएको गुनको बदला तिर्ने निर्णय भयो । त्यस बेलाको नयाँ मुलुकको रुपमा चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाको सीमारेखा २७८ किलोमिटर रहेको छ । यसको क्षेत्रफल भने ९२०७ वर्गकिलोमिटर रहेको छ ।

अंग्रेज सरकारले विजय र निष्कण्टक साम्राज्य चलाउन पाउने त्यो खुशीको क्षणलाई आभारीका साथ उल्लासमय बनाउन खोजेको भए पनि कूटनीतिक चातुर्यमा अब्बल जंगले नयाँ मुलुकका रुपमा आफूले फिर्ता पाएको भूमिको नापनक्सा नगरी केवल बोलीको भरमा मात्र फिर्ता लिन चाहेनन् । रात रहेपछि अग्राख पलाउँछ भन्ने उखानले उनको मानसलाई धक्का दियो ।

जंगले नापनक्साबेगर फिर्ता नलिने मनसाय प्रकट गरेपछि ब्रिटिस कमिस्नरद्वारा त्यस क्षेत्रको सर्वेक्षण गराई ७ फिट अग्ला २५२ जंगे खम्बा (जंगे पिल्लर) निर्माण गर्न लगाइयो । यो काम झन्डै दुई वर्षको समय खर्चेर सम्पन्न गरेपछि जंगे पिल्लरका साथै दशगजा क्षेत्रसमेत कायम हुन पुग्यो।

यसरी दुई वर्ष लगाएर जंगबहादुरको इच्छानुसारको संरचना तयार पारेपछिको समय अर्थात् सन् १८६० को १५ नोभेम्बरका दिन दुवै देशका बीच सीमा सन्धि हुन पुग्यो । सुगौली सन्धिदेखि गुमेका नेपालका यी क्षेत्र साढे चार दशक लामो कालखण्डपछि पुनः नेपालकै भूभागको नाम पाए।

नेपाल र ब्रिटिस कम्पनीको सरकारका बीच भएको यस सन्धिमा भारतका भाइसराय गभर्नर जनरल अल केनिडका तर्फबाट लेफ्टिनेन्ट जनरल जर्ज र्‍याम्स र नेपालका तर्फबाट तत्कालीन महाराजाधिराज सुरेन्द्रविक्रम शाहका तर्फबाट जंगबहादुर राणाले नोभेम्बर १ सन् १८६० मा काठमाडौँमा संयुक्तरुपमा हस्ताक्षर गरेका थिए । यसलाई गभर्नर जनरलले कलकत्तामै १५ नोभेम्बर सन् १८६० मा अनुमोदन गरेका थिए । उक्त सन्धिको शुरुवाती अनुच्छेदमा ‘यो भूभाग नेपाल दरबारबाट खटाइएको कमिस्नरको उपस्थितिमा ब्रिटिस सरकारबाट नियुक्त कमिस्नरले दुई देशबीचको सीमारेखामा सीमांकन गरी, पक्की स्तम्भहरु ठड्याई सो सीमाक्षेत्र विधिवत् नेपाली अधिकारीलाई सदाका लागि हस्तान्तरण गरियो’ आदि कुरा उल्लेख भएको पाइन्छ । यो सीमाक्षेत्र शान्तमय तरिकाले पुनस्र्थापना गरी सदैव नेपालको अधीनमा रहने सुनिश्चितताका लागि दुई राष्ट्रबीच यो सन्धि गरिएको छ भन्ने विवरणसमेत उल्लेख गरिएको छ ।

आजको सन्दर्भमा नेपालका राणा शासनका संस्थापक व्यक्तित्व जंगबहादुर राणाको मूल्यांकन गर्दा आजका गणतन्त्रका नेतृत्वको तुलनामा धेरै गुणा देशभक्त व्यक्तिको रुपमा मूल्यांकन गर्न सकिन्छ । शायद आज नेपालमा गणतान्त्रिक शासन व्यवस्था स्थापित भएर चल्दै गरेको कालखण्डमा कुनै पनि नेतृत्वले नेपाली सेना भजाएरै किन नहोस् जंगबहादुरले कुनै विदेशीलाई आभार प्रकट गर्नेसम्मको गुण लगाएर आफ्नो विगतमा गुमेको भूभाग फिर्ता ल्याउन सक्ने कसैको हिम्मत छैन । बरु त्यसको उल्टो कौडीको भाउमा स्वदेशको माटो, नदीनाला, प्राकृतिक उपहार आदि कुरा जनताका आँखामा छारो हाल्दै बेचेर आफ्नो कहिल्यै नभरिने भुँडी भर्नतिर उद्यत् हुन्छन् । नेपालमा विगतमा आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले खोलिएका सयभन्दा अधिक उद्योगधन्दाहरु कौडीका भाउमा बेच्ने काम गरिसकेका छन् ।

जंगबहादुर रणालाई देशको जति माया थियो हालका शासकलाई थोरै पनि माया छैन भन्ने कुरा यिनका दैनिकका हर्कतबाट देख्दै र सुन्दै जान पाइन्छ । इतिहासका पानामा उल्लेख भएअनुसार जंगबहादुर राणालाई उनी नेपालका प्रधानमन्त्री हुनुभन्दा अगावै धेरै पटक मार्ने प्रयास नभएका होइनन्। वि.सं. १९०३ को भण्डारखाल पर्व, वि.सं. १९०५ मा चौतारिया गुरुप्रसाद शाहले हतियार र पत्रसहित पठाएका हत्याराबाट आफ्नो हत्या हुनबाट जोगिएका थिए। तेस्रो पटक वि.सं. १९०७ को फागुन ६ गते उनी बेलायत भ्रमणबाट फर्कनासाथ हत्या गर्ने योजना बनेको भए पनि उनी बच्न सफल भएका थिए। वि.सं. १९०८ पुसमा भोटुसिंह बस्न्यातले जंग र उनका सबै भाइको एकै चिहान पार्ने उद्देश्यले षड्यन्त्रको रचना गरेका थिए। पछि उक्त षड्यन्त्रको पोल खोलिँदा बस्न्यातसहितका मतियार तीनजनालाई चित्वनको औलो क्षेत्रग्रस्त क्षेत्रमा खेती गर्न जान बाध्य पारेका थिए।

जंगलाई मार्नको लागि पाँचौँ पटकको षड्यन्त्र पनि सफल भएन । पाँचौँ षड्यन्त्रको रुपमा वि.सं. १९३३ मा लखन थापाले गोरखामा जंगविरुद्ध सैन्य संगठन गरेका थिए। उनको उद्देश्य के थियो भने, जंग गोरखा आएकै बेला उनको हत्या गरेर अधिराजकुमार उपेन्द्रलाई राजा बनाई शासन सत्ता आफू हत्याउने दाउमा उक्त षड्यन्त्र गरेका भए पनि उनी असफल बन्न पुगे । यसरी अनेक षड्यन्त्रबाट जोगिएका जंगले चार जिल्ला फिर्ता ल्याएकोमा उनको प्रशंसा र कदर गर्नै पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्