बीएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन



काठमाडौं ।

चिकित्सा शिक्षा आयोगले झापामा रहेको बीएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सम्बन्धन दिने निर्णय गरेको हो।

यसअघि सर्वोच्च अदालतले बीएन्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन आयोग तथा काठमाडौं विश्वविद्यालयलाई परमादेश जारी गरेको थियो। सोही परमादेशअनुसार आयोगले बीएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो।

बैठकमा सहभागी एक सदस्यका अनुसार आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बीएन्डसीका विषयमा सर्वोच्चले परमादेश नै दिइसकेको भन्दै धेरै अल्मलिन नपर्ने भन्दै अगाडि बढ्नुपर्ने बताउनुभएको थियो। प्रधानमन्त्रीको धारणापछि सबै सदस्यहरूले सम्बन्धन दिने विषयमा सहमति गरेका थिए।

‘सम्मानित अदालतबाट नै परमादेश आइसकेकाले यो विषयमा इफ बट केही गर्नु हुँदैन । अदालतको आदेशअनुसार नै अगाडि बढौं,’ बैठकमा प्रधानमन्त्रीले गरेको प्रस्तावको भनाइ उद्धृत गर्दै ती सदस्यले भने– ‘अदालतको आदेशको सम्मान गर्नपर्छ। अब यो विषयलाई त्यहीअनुसार नै अगाडि बढाऊँ । उक्त अस्पतालका पूर्वाधारहरू राम्रा छन् । मैले पनि अस्पतालमा पुगेर हेरेको थिएँ।’

प्रधानमन्त्रीको प्रस्तावपछि बहुमत सदस्यले ताली बजाउँदै उक्त प्रस्ताव पास भएको ती सदस्यले जानकारी दिए। बालुवाटारमा मंगलबार बसेको आयोगको १४ बैठकको प्रमुख एजेन्डा नै त्यही विषय थियो। बैठकमा आयोगका सहअध्यक्षहरू स्वास्थ्यमन्त्री प्रदीप यादव र शिक्षामन्त्री सुमना श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दै १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। उक्त परमादेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्