विषादी विक्री गर्ने काभ्रेका पसलहरुमा अनुगमन

1.4k
Shares

काभ्रे।

काभ्रेपलाञ्चोक जिल्लामा रहेका विभिन्न क्षेत्रका विषादी विक्री गर्ने पसलहरुको अनुगमन गरिएको छ । विषेषगरी बनेपा, पाँचखाल र पनौती क्षेत्रमा विषादी विक्री गर्ने पसलहरुको संख्या धेरै छ । ग्रामीण क्षेत्रको केन्द्रका रुपमा रहेका र कृषि क्षेत्रको पकेट मानिएका यि भेगहरुमा विषादीको प्रयोग धेरै हुने गरेको छ । विषादी न्यूनीकरण गर्न पटक पटक प्रयास भए पनि उत्पादनमा आउने कमीका कारण कृषकहरुले आफू खुसी विषादी प्रयोग गर्न थालेका छन् ।

मानव तथा जीवजन्तुहरुमा विषादीका कारण हुन सक्ने असर न्यूनीकरण गर्ने उद्देश्यले विषादी पसलहरुमा विक्री भएका विषादीहरुको अवस्था तथा त्यस्ता विषादीहरु भए नियन्त्रणमा लिने र कारबाही गर्ने उद्देश्यले अनुगमन गरिएको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख भोजराज सापकोटाले बताए । ‘काभ्रेपलाञ्चोक जिल्ला भित्र रहेका विषादी ब्यवसाय संचालन गरिरहेका खुद्रा तथा थोक विक्रेताहरुको संयुक्त अनुगमन गरिएको छ’–प्रमुख सापकोटाले भने–‘जीवनाशक विषादीका कारण मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल प्रभावलाई नियन्त्रण गर्न बनेको ऐनको कार्यान्वयनका क्रममा विषादी विक्री गरिने पसलहरुको अनुगमन गरिएको हो ।’

जीवनाशक विषादी ब्यवस्थान ऐन २०७६ ले दिएको अधिकार प्रयोग गर्दै कृषि तथा पुशपन्छी विकास मन्त्रालय अन्र्तगत रहेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न कार्यालयको प्रतिनिधित्वमा विषादी विक्री गर्ने पसलहरुको संयुक्त अनुगमन गरिएको हो ।

जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, भण्डारण, विक्री, वितरण, ओसारपसार, प्रयोग, विर्सजन जस्ता कार्यलाई निमयन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकुल प्रभावलाई नियन्त्रण गर्न बनेको ऐनको कार्यान्वयनका क्रममा जिल्ला जिल्लामा अनुगमन बढाईएको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सापकोटाले बताए । अनुगमनमा प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ वातावरण संरक्षण अधिकृत मनोज प्र्रोख्रेल, अधिकृतहरु टंकमाया आचार्य र स्तुती आचार्य, जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत दिपेश उप्रेती, जिल्ला समन्वय समिति काभ्रेका अधिकृत भरत सापकोटा, कृषि विकास कार्यालय लगायतका कार्यालयबाट संयुक्त अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा विगतका वर्षहरुमा भन्दामा विषादी विक्री गर्ने पसलहरुको व्यवस्थापन, सुरक्षाको मापदण्ड, दर्ता तथा नविकरण, म्याद गुज्रेका सामानहरु नराख्ने र सरकारले रोक लगाएका विषादीहरु विक्री नगरेको पाईएको अधिकृत स्तुती आचार्यले बताईन् । ‘अनुगमन गरिएका पसलहरुमा आफ्नो र कृषकहरुको सुरक्षाका लागि आवश्यक पर्ने मास्क, पन्जा, एप्रोन तथा अन्य सामाग्रीहरु विक्रीका लागि राख्न र त्यस बारेमा जानकारी गराउन आवश्यक निर्देशन दिएका छौं’–अधिकृत स्तुती आचार्यले भनिन–‘केही  पसलहरुमा एग्रो भेट, भेटेरिनरी तथा खाद्यान्नका केही  सामाग्रीहरु पनि राखिएको फेला परेको छ । फरक फरक उदेश्य राखिएका त्यस्ता सामाग्रीहरु विक्री गर्न फरक फरक अनुमति लिनु आवश्यक छ ।’ केही  पसलहरुमा भएका व्यवस्थापकीय सुधारका लागि सुझाव दिएको उनले बताईन् । टोलीले बनेपाका १४ वटा र पाँचखालका आधा दर्जन पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पसलहरुलाई अझै व्यवस्थित रुपमा विषादीहरु सुरक्षित रुपमा विक्री गर्न र सुरक्षाका उपाय अपनाउन सुझाब दिईएको छ ।