सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा योग विज्ञान शिविर



काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपालको आयोजनामा पतञ्जलि योग समितिले मंगलबार ‘१०औँ अन्तर्राष्ट्रिय योग दिवस’को अवसरमा प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ रङ्गशालामा योग विज्ञान शिविर सञ्चालन गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको योग विज्ञान शिविरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला सङ्घका पदाधिकारी, पतञ्जलि योग समितिका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, सिनियर तथा जुनियर अधिकृत तथा विल्लादार जवानहरूको समेत उपस्थिति रहेको थियो।

महानिरीक्षक अर्यालले शारीरिक रूपमा स्वस्थ्य, मानसिक तवरले शान्त र आध्यात्मिक हुनको लागि योग अभ्यास निकै आवश्यक रहेको बताउँदै योगले राष्ट्रसेवक कर्मचारीहरूलाई समेत ऊर्जा प्रदान गर्ने उल्लेख गरे। उनले विगत केही वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण युनिटहरूमा अन्तर्राष्ट्रिय योग दिवस तथा अन्य अवसरहरूमा समेत योग अभ्यास सञ्चालन गर्दै आइरहेको चर्चा गर्दै सुरक्षा निकायमा गरिने कसरत र अभ्यासले शारीरिक रूपमा तन्दुरुस्त बनाउने र मानसिक रूपमा तन्दुरुस्त हुन योग अभ्यास आवश्यक रहेको बताए।

महानिरीक्षक अर्यालले निकट भविष्यमा समेत सशस्त्र प्रहरी बल नेपाल र पतञ्जलि योग समितिको सम्बन्ध अझै बढी प्रगाढ हुने विश्वास व्यक्त  गरे । उनले योग शिविर सञ्चालनमा प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने पतञ्जलि योग समिति तथा योग गुरुहरूप्रति आभार प्रकट गरे।

प्रतिक्रिया दिनुहोस्