सुपर ८ मा खेल्ने टोलीको टुंगो



काठमाडौं ।

अमेरिका र वेस्ट इन्जिजमा जारी क्रिकेट टी २० विश्वकपको सुपर ८ मा खेल्ने टोलीको टुंगो लागेको छ। समूह डी को अन्तिम चरणका खेल सोमबार सकिएपछि सुपर ८ मा खेल्ने ८ टोलीरूको टुंगो लागेको हो।

यस समूहको अन्तिम खेलमा नेपाललाई हराएसँगैं बंगलादेश सुपर ८ मा स्थान बनाउने अन्तिम टोली बनेको हो । चार समूहमा प्रत्येकबाट शीर्ष दुई–दुई टोली सुपर ८ मा पुगेका हुन् ।

समूह ए बाट भारत र सह–आयोजक अमेरिका तथा समूह बी बाट अस्ट्रेलिया र इंग्ल्यान्ड छनौट भएका हुन् । यसअघि समूह ए बाट भारत र पाकिस्तान सुपर ८ मा पुग्ने अनुमान लगाइएको थियो । तर, अमेरिकाले पाकिस्तानलाई हराएर स्तब्ध नतिजा निकालेपछि पाकिस्तानको सुपर ८ संभावना त्यही नै सकिएको थियो ।

यस्तै, समूह सी बाट सह–आयोजक वेस्ट इन्डिज र अफगानिस्तान तथा समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश छनौट भएका हुन्। समूह सी मा पनि स्तब्धपूर्ण नतिजा निस्कँदा उपाधि दावेदारीमध्ये एक टोली न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिनु परेको थियो। अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको थियो।
नेपालको संभावना थियो

समूह डी मा रहेको नेपालको सुपर ८ को संभावना बनेको थियो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग हार बेहोरेको नेपालले दोस्रो खेलमा श्रीलंकासँगको खेल वर्षाको कारण खेल्न पाएन। नतिजा नआएपछि अंक बाँडिदा नेपालले एक अंक पायो। नेपालले अर्को दुई खेल जितेमा सुपर ८ मा पुग्ने संभावना बनेको थियो।

नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकालाई हराइसकेको थियो। तर, अन्तिम बलमा २ रन बनाउन नसक्दा नेपालले एक रनले हार बेहोर्नु परेको थियो। यदि यो खेल जितेको भए नेपालले बंगलादेशलाई पनि हराउने मनोबल प्राप्त हुन्थ्यो। बंगलादेशविरुद्धको खेलले पनि स्पष्टै गरेको थियो कि दक्षिण अफ्रिकालाई हराएको भए नेपाल अहिले सुपर ८ मा हुन्थ्यो।

भारत र अस्ट्रेलिया एउटै समूहमा

गत भारतमै सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपमा फाइनल खेलेका दुबै टोली भारत र अस्ट्रेलिया सुपर ८ तर्फ एउटै समूहमा परेका छन्। समूह १ मा अस्ट्रेलिया, भारत, अफगानिस्तान र बंगलादेश रहेका छन्। यस्तै, समूह २ मा इंग्ल्यान्ड, अमेरिका, वेस्ट इन्डिज र दक्षिण अफ्रिका परेका छन्।

गत एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको थियो। भारत समूह चरणदेखि नै कुनै पनि खेल नहारी फाइनल पुगेको थियो। तर, फाइनलमा अस्ट्रेलियासँग भारत पराजित हुँदै उपाधिबाट विमुख हुनु परेको थियो। यसपटक भारतले अस्ट्रेलियासँग बदला लिने मौका छ।

प्रतिक्रिया दिनुहोस्