सय विकेट लिने पहिलो नेपाली बलर बने सन्दीप



काठमाडौं ।

स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा १ सय विकेट लिने पहिलो नेपाली बलर बन्नुभएको छ । सन्दीपले सोमबार टी–२० विश्वकप क्रिकेटअन्तर्गत बंगलादेशविरुद्ध २ विकेट लिँदै १ सय विकेट पुर्‍याउनुभयो।

उहाँले वेस्टइन्डिजको किंग्सटाउनको मैदानमा बंगलादेशका जाकेर अलीलाई सयौं विकेटको शिकार बनाउनुभएको थियो। उहाँले ५४ इनिङमा सयौं विकेट लिनुभएको हो भने यो टी–२० अन्तर्राष्ट्रियमा दोस्रो छिटो १ सय विकेटमा पुगेको क्षण हो।

यो फम्र्याटमा सबैभन्दा छिटो अफगानिस्तानका राशिद खानले ५३ इनिङमा १ सय विकेट लिने कीर्तिमान राख्नुभएको छ । उहाँ एकदिवसीय क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली बलरसमेत हुनुहुन्छ।

सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सयौं विकेट लिने विश्वका १६औं बलर हुनुहुन्छ। यो सूचीमा सर्वाधिक विकेट लिने बलर न्युजिल्यान्डका टिम साउदी रहनुभएको छ । उहाँले १ सय २५ खेलमा सहभागिता जनाउँदै १ सय २२ इनिङमा १ सय ६२ विकेट लिनुभएको छ।

नेपालको तर्फबाट सन्दीपपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिनेमा करण केसी हुनुहुन्छ। उहाँले ९० विकेट लिनुभएको छ। यसपछि अविनाश बोहराले ७५ विकेट र सोमपाल कामीले ६१ विकेट लिइसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्