जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान: अख्तियारका सचिव दङ्गाल र  नायक नायिकाले गरे वृक्षारोपण



काठमाडौँ । 

पशुपतिनाथ मन्दिरको मृगस्थलीमा आज (सोमबार) बृहत् वृक्षारोपण गरिएको छ । धार्मिक एवं पर्यटकीय स्थल पशुपतिनाथ मन्दिरको मृगस्थली श्लेषमानतक बनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगालको प्रमुख आथित्यतामा वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रममा सचिव दंगालले नेपालकै नयाँ र पहिलो अभियानमा सामेल हुने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

उनले जन्मदिनलाई भड्किलो नबनाई विदेशी रीतिरिवाजलाई भित्रिन नदिन विश्वभर नै यो अभियान पु¥याउनुपर्ने आवश्यकता रहेको तर्क गरे । यो सकारात्मक सोच समाजमा रहेका विभिन्न वर्ग तथा समुदायका व्यक्तिमा पु¥याउनुपर्ने छ’, उनले भने, ‘सबै नेपालीको जन्मदिनमा एउटा बिरुवा रोप्यो भने मात्र पनि वातावरण स्वच्छ हुने छ । यो अभियान विश्वसामु फैलिनु पर्छ ।’ समाजका अगुवाहरूले र सबैले आ–आफ्नो तर्फबाट जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाई छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित रौतहटबाट सुरुवात गरिएको कुनै व्यक्ति तथा सङ्घसंस्थाबाट कुनै प्रकारको सहयोग नलिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियान अन्तर्गत सहभागी सबैले आ–आफ्नो जन्मदिन सम्झिएर रुद्राक्ष, पिपल, चन्दनलगायतका बिरुवा रोपण गरिएको अभियानका संयोजक तथा आयोजक संस्थाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले बताए । उनले अभियानलाई विश्वभर फैलाउन हरेक संघसंस्थाका कर्मचारी, कलाकार, पत्रकार तथा समाजका अगुवा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरे ।

वृक्षारोपण अभियानमा उपस्थित वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाले काठमाडौँमा मात्र नभई यो अभियान देशभर नै केही हदसम्म फैलिएको र अझै पनि सरोकारवाला सबै लागि पर्नुपर्ने तथा आफ्नो जन्मदिनलाई भव्य रूपमा सत्कर्म गरी मनाउन आवश्यक रहेको बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक रवीन्द्र बोहोरा, नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बैंकर्सका प्रतिनिधी यज्ञप्रकाश न्यौपाने, राष्ट्रिय उपभोक्ता हित सङ्घीय नेपालका अध्यक्ष प्रेमलाल महर्जन, पूर्व मिस नेपाल सुगारिका केसी, विश्व हिन्दु महासङ्घकी अध्यक्ष अस्मिता भण्डारी, समाजसेवी विराट मैनाली, राष्ट्रसेवक नवराज अधिकारी कृषि विकास बैकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने  लगायतले यो अभियानमा उपस्थित भएर बिरुवा रोपण गर्न पाउँदा खुसी लागेको बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले सो अभियानले समाजमा सहयोगी भावना उत्पन्न गराउने बताए । साथै, नेपाल प्रहरीको तर्फबाट पनि सो अभियानमा ऐक्यबद्धता जनाएर आफ्नो संगठनमा रहेका प्रहरीहरुको जन्मदिनमा बृक्षरोपण गरी सत्कर्ममा जोड्ने  प्रतिबद्धता  पनि जनाए ।

 कार्यक्रममा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले यो अभियानले जन्मदिन तथा अन्य शुभकार्यमा पनि सामाजिक सद्भाव कायम राख्ने बताईन् । उनले भनिन्,–‘यो अभियानमा जोडिन पाउँदा ज्याँदै खुसी छु । मैले अन्य कार्यक्रम गरी बृक्षरोपण गरेपनि यो अभियानसंग जोडिएर पहिलो पटक आज वृक्ष रोपेँ । अब म आफ्ना हरेक जन्मदिन बृक्षरोपण लगायत अन्य सत्कर्म गरी मनाउँछु र यहीँ प्रेरणा बाँड्न चाहन्छु ।’

अभिनेत्री रजनी केसी, मोडल तथा अभिनेता कुन्साङ बम्जन, चलचित्र पत्रकार, निर्देशक तथा निर्माता लक्ष्मण सुवेदी लगायतले पनि आ–आफ्नो तर्फबाट कलाको क्षेत्रबाट पनि यो अभियानलाई थप सार्थक बनाउन अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा धर्मेन्द्र झा, सञ्जीव झा, सिद्धान्त झा, श्याम सापकोटा, भिमप्रसाद सापकोटा र सुमन धिताल चौलागाईले जन्मदिनको उपलक्ष्यमा बृक्षरोपण गरेका थिए भने कार्यक्रममा उपस्थित झन्डै डेढ सय जनाले जन्मदिन परेकाहरुलाई साथ दिँदै आफ्नो जन्मदिन सम्झिएर बृक्षरोपण गरेका थिए ।

पछिल्लो समयमा यो अभियानले राष्ट्रिय अभियानको रुप लिएसँगै बिभिन्न क्षेत्रहरुबाट पनि यो अभियानमा ऐक्यबद्धता जनाउने व्यक्तिहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । असार ६ गते तार्केश्वर नगरपालिका वडा  ४मा  पनि बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिने पनि आयोजक संस्थाका अध्यक्ष चौलागाईले यही कार्यक्रम मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्