वन समूहको खाता फुकुवा नगरे महासंघ अदालत जाने



उदयपुर ।

 सामुदायिक वन उपभोक्ता महासङ्घसँग आबद्ध भएका सामुदायिक वन उपभोक्ता समितिको बैंक खाता फुकुवा नगरेमा डिभिजन वन कार्यालय गाईघाट र कटारीका विरुद्धमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराउन जाने तयारीमा रहेको छ ।

डिभिजन वन कार्यालयले ७ लाख ५० हजारसम्मको बैंक खाता खुल्ला गरेको तर सोभन्दा माथिको खाता रोक्का राखेकोमा महासंघले खाता खुल्ला गर्न पटक पटक पत्राचार गरेको भए पनि हालसम्म पनि खुल्ला नगरेकोले सरोकारवाला निकाय डिभिजन वन कार्यालयका विरुद्धमा उच्च अदालत जाने तयारी महसंघले गरेको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले दिएको जानकारी अनुसार डिभिजन वन कार्यालय उदयपुरसँग पत्राचार गरेर रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरिएको तर हालसम्म पनि फुकुवा नभएको हुँदा काममा बाधा भएकोले कानुनी उपचारमा जान लागेको बताए ।

अध्यक्ष बस्नेतले दुई उदयपुरमा रहेको गाईघाट र कटारी डिभिजन वन कार्यालयसँग आंशिक रुपमा रोक्का  रहेको न समूहको खाता फुकुवा गर्नका लागि पत्राचार भएको छ तर सुनुवाइ नभएको बताए ।

वन ऐन २०७६ले गरेको व्यवस्था बमोजिम सामुदायिक वन उपभोक्ता समूहहरु स्वायत संस्थाका रुपमा रहेको अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था भएको हुँदा व्यक्ति वा सो सरह स्वतन्त्र रुपले आर्थिक कारोबार गर्न पाउने व्यवस्था भएकोले कानुनले दिएको अधिकार प्रयोग पाउनु पर्ने र सो व्यवस्था कार्यान्वयनमा ल्याउनु पर्ने बस्नेतले बताए ।

वन समूहको खाता बन्द गरिएको सन्दर्भमा खाता खुल्ला गराउन सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरको विस्तारित बैठकले जिल्लाका दुबै वन डिभिजन कार्यालयमा पत्राचार गर्ने निर्णय गरेको र सो निर्णय कार्यान्वयन नभएकोले महासंघ उच्च अदालत जाने तयारीमा रहेको अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्