अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी नगदसहित सम्मानित



क्रिकेट टोलीलाई २ करोड भन्दा बढी
एरिकाले पाइन् १९ लाख ५० हजार
पलेसाले पाइन् १३ लाख
कबड्डीले पायो ४८ लाख १० हजार

काठमाडौं।

युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रीय पदक विजेता खेलाडीहरूलाई आइतबार नगदसहित सम्मान गरेका हुन् । सो अवसरमा आईसीसी पुरुष क्रिकेट टी–२० विश्वकप फाइनल एसियामा दोस्रो भएको राष्ट्रिय क्रिकेट टोलीलाई २ करोड ४ लाख ७५ हजार नगद पुरस्कारसहित सम्मान गरियो ।

क्रिकेट टोलीका १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाईंले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक बसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हात पारे । यो कार्यक्रम गरिरहँदा क्रिकेट टोली टी २० विश्वकप खेल्न वेस्टइन्डिजमा रहेको छ।

त्यस्तै, चीनको हाङचाऔमा भएको १९औँ एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गरिन् । प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले १ लाख ९५ हजार प्राप्त गरे ।

त्यसैगरी, चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गरिन् । प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गरे ।

एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टोलीका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गरे । यसरी कबड्डी टोलीले ४८ लाख १० हजार नगद प्राप्त गरे ।

खेल मन्त्रीको १ सय दिन

सोही कार्यक्रममा मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिन पूरा भएको कार्यप्रगति विवरण पनि सार्वजनिक गरेका थिए । विवरणमा भएका २१ बुँदाहरूमध्ये प्रमुख बुँदाहरू यस्ता छन् ।

–मुलपानी क्रिकेट मैदानमा डिपिआर तयार भएको तथा कीर्तिपुरमा स्कोरबोर्ड र फ्लडलाइट जडानको लागि प्रक्रिया अगाडि बढाइएको,

–१० औं राष्ट्रिय खेलकुद आयोजनका लागि कर्णाली प्रदेशसँगको सहकार्यमा खेल पुर्वाधार निमार्णलाइ तिव्रता दिइएको,

–स्पोटर््स विज्ञान अध्ययनका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको

–राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग मिलेर वार्षिक क्यालेन्डर सार्वजनिक गरिएको

–क्रिकेट, बास्केटबल, कराते, ट्रायथलन, ई–स्पोर्टसलगायतका ११ अन्तर्राष्ट्रिय प्रतियोगिता भएको ।

प्रतिक्रिया दिनुहोस्