मध्यकलियुग मानिने आजको समयमा समाजमा अनेक जटिलताहरू देखिएका छन्। आज हामीसामु जीवनको अस्तित्व र मूल्यका प्रश्न बारम्बार तेर्सिने गरेका छन्। अहिले मानवजीवनको जटिल आयामहरूमा मानिसको समय गुज्रिरहेको छ।
सामाजिक, आर्थिक तथा राजनीतिक जटिलताले मानिसभित्र ऐँठन पैदा गरिदिएको छ। आजकल नेपालका नागरिकहरूमा नेपाली भएर बाँच्नुमा गर्व महसुस हुनुभन्दा पनि देशलाई छोडेर विकसित देशहरूमा बसाइँ सर्न पाउँदा बढी गर्वको महसुस भएको पाइएको देखिन्छ । यस्तै खालको सामाजिक अवस्था र राजनीतिक व्यवस्थाले निम्त्याएका परिस्थितिहरू र त्यसले जन्माएको नेपाली मानसिकताको सगोल चित्रण गरिएको कविताहरूको सङ्गालो हो, ‘अर्धब्रह्म’ ।
राम के.ए.सी.द्वारा रचिएको यस कवितासङ्ग्रहमा नेपालमा राजनीतिक व्यवस्था र नेतृत्वकर्ताहरूको विकृत मानसिकताको परिणामस्वरूप उब्जिएका परिस्थितिहरूको चित्रण पाइन्छ । लेखक के.ए.सी.ले यसमा मानवीय जीवनको मूल्य खोज्ने प्रयास गरेका छन् । साथै वर्तमान समाजमा छोरीचेलीको अस्तित्वमाथि नेपाली परम्परा, संस्कृति र समयले पटक–पटक सिर्जना गर्ने प्रश्नहरूले छोरीचेलीलाई कतिसम्म पीडा दिन्छ भन्ने परिस्थितिको चित्रण गर्ने प्रयास गरेका छन् ।
‘अर्धब्रह्म’ शीर्षकको शीर्ष कवितामा सामाजिक परम्पराले छोरीलाई अछूत मानिरहँदा त्यही कुरामा विद्रोह गर्न नसक्दा एउटी छोरी कतिको लाचार भएर पीडा सहन बाध्य हुनुपर्छ भन्ने परिस्थितिको यथार्थ चित्रण गरेका गरिएको छ ।
‘विज्ञप्ति’ शीर्षकको कवितामा वर्तमान समयको डरलाग्दो यथार्थलाई देखाउने प्रयास लेखकले गरेका छन् । पटक–पटक बलात्कारको सिकार भएर निर्दोष छोरीले अकालमा ज्यान गुमाउनुपर्दा अबउप्रान्त छोरीहरूले नजन्मिने अभियान चलाएको प्रसङ्गले निद्रामा लीन यो समाजलाई बेस्सरी चिमोट्न सफल भएको छ । यो कविता पढ्दै गर्दा शरीरमा काँडा उम्रिएको भान हुन्छ ।
अचानक जुरुक्क उठ्यो गर्भवती महिलाको लास
र यत्नले बेरिन् आफ्नो आलो रगतले लत्पत कपडा
भुइँमा पोखिएको आफ्नो रगत शरीरभरि दलिन्
अनि सेतो कपडाले मुखसम्म छोपिने गरी
अस्पतालको शैय्यामा फेरि लमतन्न परिन् ।
हेर्दाहेर्दै त्यो सेतो कपडाको सिरानमा
क्रमशः छापिँदै गए– रगतका अक्षरहरू
अनि छापियो– एउटा विज्ञप्ति ।
पूजनीय आमा,
क्षमाप्रार्थी छु ।
देश, काल र परिस्थितिलाई बोध गरेर
अब उप्रान्त छोरीले नजन्मिने अभियान
मैले मैबाट थालेँ ।
–उही तिम्री
नजन्मिएकी छोरी । (विज्ञप्ति) ।
यसरी कविताहरूले समाजका विकृति, विसङ्गतिहरूलाई केलाउने प्रयास गरेका छन् र तिनलाई खरो व्यङ्ग्यवाण पनि हानेका छन् । यसमा सङ्गृहित कविताहरूले समाजमा देखिएका अन्याय तथा विभेदको विपक्षमा वकालत गरेका छन् । नारीहरूले भोग्नुपर्ने पीडालाई सरल ढङ्गमा प्रस्तुत गरिएको छ र पाठकलाई पनि त्यो पीडाको महसुस गराउने प्रयास गरिएको छ ।
लेखक आफैँ रङ्गकर्मी पनि भएको नाताले ‘रङ्गकर्मी’ शीर्षकको कवितामा नेपालमा रङ्गकर्मी अर्थात् कलाकर्मीले कस्तो परिस्थितिमा बाँच्नुपरेको छ भन्ने तथ्यलाई उजागर गरेका छन् । अरूको पीडा बाँच्ने रङ्गकर्मीले आफ्नो पीडा लुकाउनुपर्ने हुन्छ, दुनियाँको जिन्दगी बाँच्ने रङ्गकर्मीले आफ्नो जिन्दगी बाँच्न बिर्सिन्छ । दुनियाँको पीडा बाँच्ने रङ्गकर्मीले आफ्नो पीडा लुकाएर हाँस्नुपर्ने बाध्यता, यो पेसामा रहँदा आर्थिक आयआर्जन नभएका घरपरिवारको स्थिति पनि नाजुक हुने परिस्थितिको चित्रण यस कवितामा गरिएको छ ।
थाहा छ (मलाई)
आफ्नै मुटु रेटेर आफ्नै मनविरुद्ध उभिनु
कति गाह्रो कुरा हो
आफ्नै सपना कुल्चिएर
फुलाएको सपनाले बिर्सिदिँदा आफैँलाई
खिल परेको काँडाले कति बिझ्दो हो ।
र त सोध्छन् मेरा बाबा
‘केटा, मेरो अन्तिम सासमा
एक थोपा पानी पिलाउन पनि सक्लास् त तैँले ?’
दुनियाँको का बाँच्दाबाँच्दै
सवधानीका डम्फु बजाएर चेतनाका लहरहरू
घर, आँगन, मन, मस्तिष्कहरूमा लहराउँदा लहराउँदै
सपना र यथार्थक मझधारमा
टुङ्रुङ्ग लत्रिएको कर्मी–रङ्गकर्मी । (रङ्गकर्मी)
देशको नागरिक भएर पनि अनागरिक भई बाँच्नुपर्ने परिस्थितिलाई लेखकले ‘भष्मासुर’ कवितामा सुन्दर तरिकाले व्यक्त गरेका छन् । त्यसै गरी आफ्ना गल्तीहरू लुकाउन राजनीतिक तिकडम अपनाउने गरेको कालो सत्यलाई देखाउने प्रयास यसमा गरिएको छ । अनेकौँ विकृति र जटिलताबीच अगाडि बढ्दै गइरहेको देशमा एकदिन थितिले बास बस्नेछ, एकदिन सुशासन आउनेछ भन्ने आशा ‘सावधान’ कवितामार्फत व्यक्त गरिएको छ ।
वर्षौँदेखि विकासको प्रतीक्षामा बसिरहेको कर्णालीको दुःखलाई लेखकले ‘कर्णाली’ कवितामार्फत मार्मिक रूपमा प्रस्तुत गरेका छन् । देशको राजधानीले विकासको ठुलै छलाङ मारिसक्दा पनि अनेक सम्भावना बोकेको कर्णाली कतै कुनामा बसेर रोइरहेको छ । कुनै दिन सम्बन्धित पक्षको नजर पर्ला र विकास हुन सकिएला भन्ने आशामा कर्णाली आजसम्म पनि तुइन हल्लाइरहेको छ । कर्णालीका जङ्गलहरूमा हरिया डलर कुहिरहेका छन् । कुनै दिन त पवित्र हुन पाइएला नि भनेर रजस्वलाको पीडामा छट्पटिरहेकी युवतीले पूरै कर्णालीलाई अपवित्र बनाइरहेको दृष्टान्त लेखकले प्रस्तुत गरेका छन् ।
देशको स्वतन्त्रताको लागि पटक–पटक गरेर लाखौँ युवाले रगत बगाइसकेका छन् । यद्यपि अझै देशको व्यवस्थामा स्वार्थ र विकृति मात्र देखिन्छ । गणतान्त्रिक देश नेपालमा अझै कलम स्वतन्त्र हुन नसकेको गुनासो ‘नाथे मान्छे’मा व्यक्त गरेका छन् लेखकले । ‘क्रान्तिको रङ’ कवितामा जनताको क्रान्ति खेर गएकोमा दुःख व्यक्त गरिएको छ ।
मान्छेहरूमा मानवीयताभन्दा सिद्धान्तले बढी मूल्य पाउँदा लेखक अचम्मित पनि भएका छन् । सत्य र भ्रमबीचको फरक केवल दृष्टिकोणको हुने सुन्दर विचारलाई लेखकले ‘जून’ कवितामा कलात्मक ढङ्गले व्यक्त गरेका छन् । यस्तै ‘मानिस हराएको सूचना’मा वर्तमान मानिसहरू अनेक वाद र सिद्धान्तभित्र हराएकोले खोक्रो भएको प्रसङ्गलाई उद्धृत गरेका छन् ।
यस्तै–यस्तै भाव र प्रसङ्गहरूको सुन्दर सङ्गालो हो यो कृति । सरल भाषाशैलीको संयोजनले कविता सम्पूर्ण पाठकका लागि बोधगम्य नै रहेको छ । कविताको भावअनुरूप सुन्दर तथा कलात्मक चित्रको प्रयोगले कृति थप सुन्दर देखिएको छ र ती चित्रहरूले कविताको मर्मलाई सजिलै पाठकको मनसम्म पुर्याउने कोसिस गरेका छन् ।
प्रस्तुत कृतिमा नेपाली भाषासँगै नेपाल भाषाको पनि प्रयोग गरिएको छ । कविताकृतिको एकातर्फको पेजमा नेपाली भाषाबाट कविता राखिएको छ भने अर्कोतर्फको पेजमा सोही नेपाली भाषाको कविताको नेपालभाषामा अनुवाद गरेर राखिएको छ । यसबाट लेखकको मातृभाषाप्रतिको मोह तथा मातृभाषाको संरक्षणको प्रयास देखिएको छ । लेखकको यो कार्य सराहनीय छ ।
सद्भाव थिएटरले प्रकाशित गरेको यस कृतिमा जम्माजम्मी ३६ वटा कविता सङ्गृहित रहेका छन् । लामाछोटा कविताहरूको बीचमा केही एकदम छोटा कविताहरू पनि छन्, जसलाई कविता भन्न अलि अप्ठेरो होला तर त्यसको भाव निकै शक्तिशाली रहेको छ । यस कृतिका अधिकांश कविताहरूमा शब्दसँगै भावको सुन्दर संयोजनले ती कविता पढ्दा आनन्दानुभूति सजिलै गर्न सकिन्छ ।
प्रतिक्रिया