चरित्र र आचरणमा सुधार ल्याउन जरुरी



हाम्रा विभिन्न राजनीतिक दल र तिनका नेताहरुले अपार जनसमर्थन जुटाएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन सफल भए तर संघीय शासन प्रणाली आएपछि नेताहरुको चरित्र र आचरणमा सुधार आउनेछ भन्ने जुन आमविश्वास थियो त्यसअनुसार उनीहरुमा कुनै सुधार आउन सकेन। नेताहरुले राजनीतिलाई वास्तविकरुपमा समाजसेवामा समर्पित गराउँछन् भन्ने विश्वास सर्वत्र थियो तर जनताका यी सबै आशा र विश्वासलाई हाम्रा राजनीतिक नेतृत्वले लगातार कुठाराघात गर्दै आइरहेका छन्।

संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारले जनचाहनाअनुसारका कामहरु गर्न सकेका छैनन् । उल्टो भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरिरहेका छन्। विगतदेखि नै संरचनागत प्रणाली र व्यवहारमा देखिएका भ्रष्टाचारजन्य प्रवृत्तिका कारण सुशासन कमजोर हुँदै गएको छ। भ्रष्टाचारविरुद्धमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशित गरेको पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार अपेक्षितरुपमा घट्न नसकेको देखाएको छ। सुशासन र समृद्धि एक–अर्काका परिपूरक हुन्।

जुन देशमा सुशासन कायम हुन्छ त्यो देशले सहजै किसिमले समृद्धि हासिल गर्न सक्छ। त्यसैले समृद्धिको पूर्वसर्त नै सुशासन हो । हामीकहाँ सुशासन बाहिरी भाषण मात्रै बन्न पुगेको छ। विगतका शासकीय अवस्था र अहिलेको शासकीय अवस्था फरक भएकाले अबका शासकहरुलाई पुरानै शासकको जस्तो विलासी जीवन बिताउने तथा भ्रष्टाचारमा लिप्त हुने छुट कदापि छैन। तर पनि कुशासन मच्चाउन अहिलेका शासकहरुले पहिलेका शासकहरुलाई उछिनेको अवस्था देखिन्छ, जुन निकै दुःखद हो।

सरकारी निकायले आफ्नो मातहत रहेका कार्यालयका भ्रष्ट कर्मचारीलाई कहिल्यै पनि कारबाही गर्न सकेका छैनन् । उल्टो तलदेखि माथिसम्ममा नै भ्रष्टाचारको जालो फैलने गरेको छ । माथिबाट तल कारबाही गर्नुको साटो भ्रष्टाचारमा माथिबाट तलैसम्म सेटिङ हुने गरेको छ। अधिकांश सरकारी कार्यालयमा पैसा नखुवाई सहजै काम हुन निकै कठिन छ। कतिपय सरकारी कार्यालयमा खुद्रे खालका भ्रष्टाचार हुने गरेका छन् । तर माथिल्लो लेबलमा भने नीतिगत (पोलिसी) तहमा नै भ्रष्टाचार हुने गरेको छ । नीतिगत तहमा हुने भ्रष्टाचार अत्यन्तै खतरनाक हुन्छ। हामीकहाँ अहिले पनि प्रधानमन्त्री, मन्त्री तथा उच्च तहका प्रशासकहरुको मिलेमतोमा नीतिगत तहका भ्रष्टाचार हुने क्रम रोकिएको छैन।

राजनीतिक नेतृत्व असल हुन सकेमा प्रशासन संयन्त्र स्वतः असल बन्न सक्छ । किनकि प्रशासनलाई सञ्चालन गर्ने प्रमुख दायित्व राजनीतिको हो। हामीकहाँ राजनीतिक नेतृत्व भ्रष्ट हुन पुग्दा त्यसको प्रभाव कर्मचारीतन्त्रमा पर्दै आएको छ, जसका कारण कर्मचारी संयन्त्र पनि भ्रष्ट छ। सरकारको नीति कार्यक्रम तथा योजनालाई कार्यान्वयनमा लैजाने भनेकै कर्मचारी संयन्त्रले हो। यदि त्यो संयन्त्र असल, इमानदार र सुशासनप्रेमी बन्न सक्यो भने सरकारको नीति तथा योजनालाई जनतासमक्ष सजिलैसँग लैजान सक्छ।

यसका लागि मुख्यरुपमा राजनीतिक नेतृत्वले आफ्नो आचरण र व्यवहारमा सुधार गरी प्रशासनिक नेतृत्वलाई पनि सत्मार्गमा हिँडाउन सक्नुपर्छ। त्यसो भएमा मात्रै मुलु्कमा सुशासन कायम भई विकासका कार्यहरु सशक्तरुपमा अघि बढ्नुका साथै सेवाप्रवाह पनि प्रभावकारी हुने विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्