समस्याग्रस्त सहकारीको ३ अर्ब रुपियाँ हिनामिना

कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ



काठमाडौं ।

बचतकर्ताको झन्डै ३ अर्ब रुपियाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ललितपुरको लगनखेलमा केन्द्रीय कार्यालय रहेको कृषि विकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको छ।

बचतकर्ताहरूले आफूहरूको रकम उक्त सहकारीले ठगी गरेको उजुरी दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा सो सहकारी संस्थाका अध्यक्ष काठमाडौंको गोकर्ण बस्ने तेजविक्रम थापा, सञ्चालक तथा थापाकी श्रीमती सजना राजकर्णिकार, सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन्। पक्राउ परेकामध्ये अध्यक्ष थापा र राजकर्णिकार सहकारीको व्यवस्थापकको भूमिकामा रहेकाले थप कारबाहीका लगि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराइले जानकारी दिनुभयो ।

सो सहकारीमा बचतकर्ताको रूपमा रहेका ५ सय ६५ जनाभन्दा बढीले आफ्नो १ अर्ब जति रकम फिर्ता नगरेको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले थापालगायत ४ जनालाई खोजी गर्दै आएको थियो।

लामो समयदेखि आफ्नो बचतको रकम फिर्ताको माग गर्दै बचतकर्ताले सहकारी विभागदेखि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । सहकारी विभागले एक वर्षअघि नै उक्त सहकारीका सञ्चालकमाथि कारबाही अघि बढाउन प्रहरीलाई अनुरोध गरेको भए पनि उनीहरू फरार रहेकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन।

आकर्षक ब्याज दिने लोभ देखाएर बचत संकलन गर्ने गरेको सो सहकारीले बचतकर्ताले आफ्नो रकम माग गर्दा विभिन्न बहाना बनाएर पैसा दिन आनाकानी गरेको देखिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो सहकारीलाई गत वर्षको माघमा समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय पठाएको थियो।

सहकारी समस्याग्रस्त भएको घोषणासँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि थापा प्रहरी र बचतकर्ताबाट बच्न नाम परिवर्तन गरी लुक्दै आएको र उनले आफूलाई राज ठकुरी भएको बताउँदै आएको भेटिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।

सञ्चार उद्यमीसमेत रहेका थापाले टेलिभिजनको प्रेस कार्ड दुरुपयोग गरी राजठकुरीकोे नाममा आफूलाई विभिन्न ठाउँमा परिचय गराउँदै आएका थिए। उनले प्रहरीबाट बच्नका लागि गोकर्णमा आफ्नो घर हुँदाहुँदै भाडामा बस्दै आएको पनि अनुसन्धानको क्रममा पत्ता लागेको प्रहरीले जानकारी दिएको छ। थापाले सहकारीमा जम्मा भएको रकम दुरुपयोग गर्दै कृषि टेलिभिजनदेखि समिट अस्पतालसमेत खोलेको फेला परेको पनि प्रहरीले जानकारी दिएको छ।

उसअघि पनि उनी बैंकिङ कसुरको अभियोगमा पक्राउ परी कारबाही भोगिसकेका व्यक्ति रहेको पनि प्रहरीले जानकारी दिएको छ। शुरूमा उक्त सहकारीमा प्रमुख व्यवस्थापको रूपमा प्रवेश गरेका थापा २०६० सालदेखि भने अध्यक्ष भएर काम गर्दै आएका थिए। थापाले आफू अध्यक्ष भएपछि नै बचतकर्ताको रकम दुरुपयोग गर्दै आएको फेला परेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्