काठमाडौँमा मंगलबार चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुँदै 



काठमाडौँ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा आगामी मंगलबार चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना हुँदैछ । नेपालस्थित चिनियाँ दूतावाससँगको सहकार्यमा नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंको बौद्धस्थित होटल हयातमा असार ४ गते मंगलबार एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

परिषद्ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधीजस्ता विषय अध्यापन गराउने ३१ वटा सामान्य तथा विश्वप्रसिद्ध चिनियाँ विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने जानकारी दिएको छ । उक्त चिनियाँ शैक्षिक प्रदर्शनीको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छङ सोङले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले प्रत्येक स्टलहरुमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई चीनमा अध्ययन गर्दा हुने फाइदा र चिनियाँ विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्तिलगायतका विषयमा विज्ञहरुले जानकारीका साथै परामर्श दिने बताए । उनले भने – ‘निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भई आफ्ना छोराछोरीहरुको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन हामी अभिभावकहरुसँग अनुरोध गर्दछौं । साथै विद्यार्थी स्वयं सो प्रदर्शनीमा सहभागी भई आवश्यक जानकारी लिउन् भनेर हामीले यो प्रदर्शनीको आयोजना गरेका हौं ।’

चिनियाँ दूताबासका नियोग उपप्रमुख वाङ सिनले चीनको अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरूमा अध्ययन गरी नेपाली विद्यार्थीहरुले त्यहाँबाट आर्जन गरेको ज्ञान नेपालको आर्थिक, सामाजिकलगायत समग्र क्षेत्रको विकासमा उपयोगी हुने विश्वास व्यक्त गरे  । त्यसैगरी नेपाल चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन सरकारबाट नेपाली विद्यार्थीका लागि प्राप्त हुने छात्रवृत्ति केवल राजनीतिज्ञका छोराछोरीका लागि मात्र हो भन्ने भ्रमलाई चिर्न यस्तो खालको शैक्षिक प्रदर्शनी आवश्यक रहेको बताए । उनले  धेरैजसो अभिभावकले आफ्ना छोराछोरीको उच्च शिक्षाका लागि युरोप र अमेरिका रोज्ने गरेको र यसले पारिवारिक समस्या निम्तिरहेको जिकिर गर्दै भने – ‘त्यतातिर पढ्न गएका छोराछोरी विरलै मात्र स्वदेश फर्कने गरेका छन् । तर चीन पढ्न गएकाहरु भने विरलै मात्र त्यता अड्किएका छन् । उनीहरुले पढाइ सकेर स्वदेशमै फर्की स्वदेश र आफ्नो बुबाआमा दुवैको सेवा गर्नुका साथै राम्रै कमाई पनि गरिरहेका छन् । त्यसैले हामीले अब उच्च शिक्षाका लागि चीनलाई किन नरोज्ने ?’ उनले चीनमा अध्ययन गरी फर्किएका दक्ष तथा उच्चस्तरीय जनशक्तिले विभिन्न क्षेत्रमा काम गर्दै राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याइरहेको पनि बताए ।

चीनले हरेका वर्ष सरकारलाई विभिन्न विषयमा २ सयभन्दा बढी छात्रवृत्ति दिँदै आएको छ । पछिल्ला दिनमा सरकारी छात्रवृत्तिबाहेक निजी खर्चमा चीनमा पढ्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको बताइएको छ । चीनमा हाल एक सय ६० देशका पाँच लाख विद्यार्थीहरु विभिन्न विधामा अध्ययनरत रहेको बताइएको छ ।  नेपालमा सन् २००३ मा पहिलो चिनियाँ शैक्षिक प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्