हामी पढेलेखेका मानिसलाई बौद्धिक वा बुद्धिजीवी भन्दछौं । बुद्धिजीवीहरु सूचनाका डिब्बा मात्र हुन् भन्न राम्रो हुन्छ । दिमागको देब्रे भागले गर्ने भनेको सूचना राख्ने मात्रै हो। तर्क–वितर्क, तथ्य–तथ्यांक, हर–हिसाब, नाफा–घाटा, लेन–देन, कसरी आफू माथि पर्ने, कसरी आफ्नालाई माथि तान्ने आदि काम गर्ने हाम्रो बायाँ दिमागले हो। ब्रह्माण्डका सारा सूचनाहरुको संग्रहण गरेर आफूलाई अब्बल देखाउने व्यक्तिलाई हामीले बुद्धिजीवी भनिआएका छौं। अनि हामी जीवनभरि पढेर यही कला सिक्दै आएका हुन्छौं। कथित बुद्धिजीवी मनुवाले वर्षौं लगाएर संग्रह गरेको सूचनाको आधारमा उसलाई राज्यले पदवी दिन्छ। यता सूचनाको भण्डार भएको तुजुक, अर्कोतिर राज्यको मान्यता। के चाहियो ? ऊ कसैलाई गन्दैन, कसैलाई सोझो मुखले बोल्दैन, बोल्यो भने आगो ओकल्छ ।
यस्तो लाग्छ– ऊ नहाँसेको ६ महिना भैसक्यो । अनुहारमा कुनै चमक छैन, शरीरमा कुनै औरा छैन, जीवनरस निकालेको उखुजस्तो । उसलाई हेर्दा मलाई दया लागेर आउँछ । अझ मजा त केमा आउँछ भने, ऊ विदेशी विश्वविद्यालयबाट पढेर आएको भन्ने गन्ध उसका प्रत्येक लवजहरुमा झल्किन्छन् तर उसमा जीवन हराइरहेको देखिन्छ, जिउनुको रस सुकिराखेको देखिन्छ । उसले बाँचेर हिँड्नुको सार्थकता बिर्सिरहेको म पाउँछु। यो सब देब्रे ब्रेनको करामत हो, जुन टुल प्रयोग गर्यो त्यसले गर्ने काम त्यहीअनुसार हुने हो । एक्सरे मेसिनबाट ज्वरो नाप्न सकिँदैन । ज्वरो नाप्न थर्मामिटर नै चाहिएजस्तै दया, करुणा, सद्भाव, मैत्री, प्रेम, शान्तिजस्ता भाव र व्यवहारको मापन गर्न देब्रे दिमागले सक्दैन । यसको निम्ति दायाँ दिमाग सक्रिय पार्नुपर्दछ, जुन हाम्रा विद्यालय र विश्वविद्यालयहरुको पाठ्यक्रममा समावेश गरिएका हुँदैन ।
हाम्रा बुद्धिजीवीहरु भेट्न सरकारी अड्डा, अदालत, विश्वविद्यालय जता जाऊँ सबै ठाउँमा देब्रे दिमागको बिगबिगी देखिन्छ। यस्ता मानिसप्रति मलाई असीम करुणा जाग्छ, उनीहरुको रवैया देखेर झन् हाँसो उठ्छ तर उसले कुरा बुझ्दैन, दम्भले गजधम्म परिराखेको हुन्छ। यो आम बुद्धिजीवीको मनोवृत्ति र कर्मव्यथा वा दुर्दशाको चित्रण हो।
धेरै वर्षअघि एकजना पश्चिमा विद्वान्ले जनसम्पर्क कौशल (सफ्ट स्किल्स) सम्बन्धी एकदिने कक्षा दिनुभयो । यसको अर्थ र फाइदाहरुबारे राम्रो जानकारी प्राप्त भयो । एक–दुईजना प्रोफेसरसँग मैले यसबारे जिज्ञासा राख्दा उहाँहरु अनभिज्ञ देखिनुभयो । म अरु केही पश्चिमा विद्धान्हरुको सम्पर्कमा रहेर छोटो समय काम गर्दा सफ्ट स्किल्ससम्बन्धी अवधारणामा उनीहरु अभ्यस्त भएको पाएको थिएँ । विदेशका प्रोफेसरहरु एकदमै प्रेरणादायी, सहयोगी र सहृदयी हुँदारहेछन् भनेर हाम्रा भाइ, छोराछोरीहरुले विदेशबाट खबर सुनाइराख्छन्। तर तिनीहरुकै देशमा पढेर आएका हाम्रा विद्वान्हरुले त्यो पाएनन् त भन्नै सकिन्न, बरु हाम्रा मानिसले त्यो संस्कृति उतै छोडेर आएछन् । केही त फरक छ होला हाम्रोमा र उनीहरुकोमा । भौतिकरुपमा हामी सम्पन्न नभए तापनि सिस्टम त राम्रो बनाउन सक्छौं होला नि । कामप्रतिको समर्पण र विद्यार्थीलाई भगवान् देख्ने अनि उनीहरुको सफलतामा आफ्नो सफलता देख्ने संस्कृतिको विकास त हामी गर्न सक्छौं होला नि । त्यो उनीहरुले प्रयोगात्मक रुपले गरेर अगाडि बढेका हुन्जस्तो लाग्छ । के रहेछ त जनसम्पर्क कौशल अर्थात सफ्ट स्किल्स ?
जनसम्पर्क कौशल प्रत्येक व्यक्तिमा निहित एक गैरप्राविधिक कुशलता हो, जुन व्यक्तिहरुको अन्तरक्रिया, संवाद र अन्य कार्यशैलीसँग सम्बन्धित छ । यी कौशलहरु व्यक्तिगत र व्यावसायिक जीवनका लागि अनुकूल र उत्पादनशील वातावरण सिर्जना गर्न आवश्यक छन् । जनसम्पर्क कौशलहरु जीवनशैलीसँग मात्र नभएर कामको तौरतरिका र संयोजन क्षमतासँग सम्बन्धित छन्।
यो व्यक्तिमा निहित व्यापक क्षमताको एकीकृत प्रक्षेपण हो, जुन निम्नानुसार रहेका छन् :
क) सम्प्रेषण कौशलहरु : पर्याप्त सूचना र तिनको कुशलतापूर्वक सम्प्रेषण गर्ने क्षमता ।
ख) टिम वर्क : सदस्य वा सहकर्मीहरुसँग राम्रो तालमेल, सामूहिक प्रयासमा योगदान गर्ने र फरक दृष्टिकोणहरुको मूल्यांकन ।
ग) समस्या समाधान र आलोचनात्मक चेत : परिस्थितिहरुको विश्लेषण गर्ने, निर्णय गर्ने र रचनात्मक र तार्किकरुपमा समस्याहरु समाधान गर्ने।
घ) भावनात्मकता : आफ्ना भावनाहरुलाई पहिचान गर्ने, बुझ्ने र व्यवस्थापन गर्नुको साथै अरुप्रति सहानुभूति राख्ने ।
ङ) लचकता : अग्रगामी परिवर्तनका लागि खुला रहनु र नयाँ परिस्थितिमा समायोग गर्न जान्नु ।
च) द्वन्द्व समाधान : असहमतिहरुलाई रचनात्मकरुपमा समाधान गर्न सक्ने क्षमता ।
छ) कार्य नैतिकता : विश्वसनीयता, जिम्मेवारी र आफ्नो कामप्रति बलिया प्रतिबद्धता ।
ज ) नेतृत्व : अरुलाई मार्गदर्शन गर्ने, प्रेरित गर्ने र साझा लक्ष्य हासिल गर्न अग्रणी भूमिका खेल्ने ।
मानवजीवनमा जनसम्पर्क कौशलता अति नै महत्वपूर्ण हुन्छ । मानिसको योग्यता छ तर यो कुशलता जीवनमा छैन वा अति कम छ भने ऊ उर्लंदो खहरेजस्तो हुन्छ । कवि शिरोमणि लेखनाथ पौड्यालले लेख्नुभएको छ–
‘कसैको लोकमा छैन एकैनास समुन्नति, अरुको के कुरा हेर, सन्ध्यामा सूर्यको गति ।
छोटो बढेपछि भारी फूर्ति ढाँचा बढाउँछ, उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।’
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति, घोच्ने ती जंगली काँडा पहिले नै तिखा कति ।
उपकारी गुणी व्यक्ति निहुँरिन्छ निरन्तर, फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र !’
अतः जनसम्पर्क कौशलको अभावमा मानिस कस्तोसम्म हुन्छ भन्ने कुरालाई बडो मार्मिक पाराले कविवरले प्रस्तुत गर्नुभएको छ । यस प्रकारले जनसम्पर्क कौशलले सूचनाको प्रभावकारी सम्प्रेषणलाई प्राथमिकतामा राखेको हुन्छ, जुन मानव अन्तरक्रियाको आधार हो । यस कौशलले अरुको भनाइलाई राम्रोसँग सुन्नुपर्ने कुरामा जोड दिन्छ र आफ्ना भनाइहरुलाई स्पष्टरुपमा अभिव्यक्त गर्ने कलाको विकास हुनुपर्ने कुरामा विषेश जोड दिन्छ । यसबाट व्यक्ति–व्यक्तिबीचको सम्बन्धमा मधुरता आउँछ । कार्यस्थलमा टिमसँग राम्रो तालमेल गर्न, परिवर्तशील वातावरणमा समायोजन गर्न, प्रभावकारीरुपमा संवाद गर्न र समस्या समाधानका उपायहरु खोज्न मद्दत मिल्छ । यसले कार्य संस्कृतिलाई योगदान गर्नुको साथै संगठनात्मक सफलता हासिल गर्न मद्दत पुर्याउँछ ।
मानव समाज अति तीव्ररुपमा परिवर्तन भइराखेको हुन्छ । मानिसका भावना, चाहना र आकांक्षाहरु, सोख र रुचिहरुसमेत क्षणक्षणमा परिवर्तन भइरहन्छ । यसै गरी विज्ञान र प्रविधिको अनेकौं चमत्कारहरुको कारण मानिसको व्यवहारमा समेत ठूलो रुपान्तरण हुँदै आएको छ। यस परिस्थितिमा विभिन्न चुनौतिहरुसमेत सँगसँगै मौलाउँदै गएको पाइन्छ। अतः जनसम्पर्क कौशलले यी सारा गतिशीलताहरुलाई बुझेर तिनीहरुसँग अनुकूलन गर्ने क्षमताको विकास गर्न सहयोग पु्र्याउँछ। अझ महत्वपूर्ण कुरो यसले व्यक्तिको आत्मगत अवस्था मजबुत पार्ने काम गर्दछ। आत्मप्रेम, उत्साह र उच्च नैतिकताको अभिवृद्धिसँगै एक व्यक्तिको व्यक्तित्व निर्माणको जग निकै बलियो बन्न जान्छ, जसलाई सानातिना बाधा, अवरोध, प्रलोभन, स्वार्थहरुले वश गर्न सक्दैन। यसको जगमा बन्ने समाज निकै नैतिकवान्, एकताबद्ध र कर्तव्यपरायण बन्दछ । समाजको उत्पादकत्व बढाउनुको साथै समग्र मानवजीवनको गुणस्तर सुधार गर्न मद्दत मिल्छ। यस प्रकार जनसम्पर्क कुशल मानवजीवनमा अपरिहार्य छ। जनसम्पर्क कुशलले सञ्चार, सम्बन्ध निर्माण, व्यावसायिक सफलता, अनुकूलता, व्यक्तिगत विकास, आपसी विश्वास र पारस्परिक सम्मानको वातावरण प्रवद्र्धनमा कोसेढुंगा साबित हुन्छ।
व्यक्तित्व विकासदेखि समाज र राष्ट्रको विकासको आधारस्तम्भको रुपमा रहेको यति महत्वपूर्ण कुरालाई हामीले हाम्रा शैक्षिक संस्थाहरुमा किन लागू गर्न सकेनौं ? निकोलो म्याकियाभेलीको शिक्षा नीतिलाई हुबहु लागू गर्दा हाम्रो समाज पूरै ध्वस्त भयो । हामी हाम्रा विरासतलाई तिलाञ्जलि दिँदै गएर समाजलाई कुरुप पार्दै छौँ । तर उनको नीति पश्चिमा देशहरुले प्रतिस्थापन गरेर सफ्ट स्किलजस्ता नयाँ नीति मात्र होइन हाम्रा पूर्वीय दर्शनहरुको अनुशरण गर्दै समाजलाई अझ बजबुत र एकताबद्ध पार्दै लगेका छन् । यति धेरै बेथिति, यति धेरै भ्रष्टाचार र अराजकता, यति धेरै कानुनी राज्यको मजाक, लाजै लाग्ने गरी अदालतलगायत संवैधानिक निकायहरुमा राजनीतीकरणलाई गणतन्त्रको जामाले धेरै ढाक्न सक्लाजस्तो लाग्दैन । सशस्त्र क्रान्तिपछि स्थापित व्यवस्थाले पनि गर्न नसकेको सुधार अब कुन र कस्तो व्यवस्थाले गर्ला ? फगत राजनीतिक परिवर्तनले यो सुधार हुनेवाला छैन । मिर्जा गालिबको चर्चित सायरीले यो विषयवस्तुको कति राम्रोसँग चित्रण गरेको छ– ‘इन्सान घर बदलता है, लिवास बदलता है, रिश्ते बदलता है, दोस्त बदलता है । फिर भी परेसान क्यों ? क्यों कि वो खुदको नहीँ बदल सकता है। उम्र भर गालिब ने उही भूल करता रहा, धुल चेहरे पे थी और आइना साफ करता रहा ।’
माथि कविवर लेखनाथ पौड्याल र उर्दू शायर मिर्जाले उठान गरेका कुराहरुबाट प्रस्ट हुन्छ, किन चुक्छ बौद्धिकवर्ग भनेर। हाम्रा कार्यालयहरुमा सर्वसाधारण गइसक्नुछैन बिचौलियाहरुको बिगबिगी छ, यदि बिचौलिया छैन भने पनि कर्मचारी बन्धुहरुको हालत माथि उल्लेख भएजस्तै छ। गाउँ तहको एउटा कर्मचारी वा जनप्रतिनिधिको गल्तीलाई पक्रेर उसको फेरो समायौँ भने केन्द्रसम्म हल्लिन पुग्दछ। कति बलियो कनेक्सन, कति राम्रो सञ्जाल ? नेपालको कुनै यस्तो निकाय छैन होला, जहाँ चार्वाकवादी बुद्धिजीवी नहुन्। ‘मै खाऊँ मै लाऊँ, सुखसयल वा मोज म गरुँ’ भन्ने प्रवृत्ति नै चार्वाकवादी प्रवृत्ति हो। यसलाई चिर्न कुनै क्रान्ति वा वादले सक्दै सक्दैन । बरु यसको निम्ति जनसम्पर्क कौशल र नैतिक मूल्यमा जोडी दिने छुट्टै क्रान्तिको आवश्यकता देखिन्छ । यसबारे बहस र चिन्तन गरौँ । हाम्रा सोंचहरु, कार्यशैलीहरु, भावनात्मक तथा संवेगात्मक पक्ष सबैतिर पुनर्विचार गरिनुपर्दछ । परिवर्तन सम्भव छ तर पहिला त्यो दिशातर्फ पाइला त चालेर हेरौँ ।
प्रतिक्रिया