नि:शुल्क रगत उपलव्ध गराउन पहल गर्ने छु : स्वास्थ्य राज्यमन्त्री खान



काठमाडौं ।

स्वास्थ्य राज्यमन्त्री हसिना खानले बिरामीका लागि नि:शुल्क रगत उपलव्ध गराउने विषयमा पहल गर्ने बताएकी छन् ।

विश्व रक्तदाता दिवसको अवसरमा गत शुक्रबार नेपाल स्वयंसेवी रक्तदाता समाजले आजोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

राज्यमन्त्री खानले रक्तदाताबाट निशुल्क लिइएको रगत शुल्क लिएर व्यापार भइरहेको गुनासोलाई राज्यले सम्वोधन गर्न जरुरी रहेको भन्दै यसमा आफ्नो पहल रहने बताईन् । त्यसअघि स्वयंसेवी रक्तदाता समाजले रक्त क्षेत्रमा गर्नु पर्ने सुधारका काम र सुझाव सहितका बुँदाहरु समेटिएको ज्ञापन पत्र राज्यमन्त्री खानमार्फत नेपाल सरकारका नाममा बुझाएका थिए ।

राज्यमन्त्री खानाले भनिन्, ‘निशुल्क दिएको रगतमा शुल्क लिएर व्यापार गरिरहेको गुनासोलाई हामीले सम्वोधन गर्न सकेका छैनौँ । यहि विषयलाई तपाईँहरुले नेपाल सरकारसमक्ष पेश गर्नु भएको ज्ञापन पत्रले सार्थकता पाउनु पर्दछ ।

यो विषयमा मन्त्रिपरिषदमा गम्भीर छलफलको लागि म पहल गर्ने छु । चाडैँ नै सकारात्मक सन्देश दिन यो सरकार सफल हुने विश्वास दिलाउन चाहन्छु ।’ सो अवसरमा राज्यमन्त्री खानले स्वयंसेवी रक्तदाता समाजले रक्तदानका क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरिन् ।

समाजका केन्द्रीय अध्यक्ष तथा सतक रक्तदाता प्रेमसागर कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जन भट्ट, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सदुर्शन नेपाल, समाजका प्राविधिक सल्लाहका डा. विशेष पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका डा कपेन्द्रशेखर अमात्य, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि कृतिसागर बराल, रेडियो नेपालका संगित शाखा प्रमुख मनराजा नकर्मी तथा श्रद्धाचारी गुरुमाँको सहभागिता थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज उपत्यका समन्वय समितिका संयोजक विजयकुमार महर्जनले स्वागत गरेको समारोहमा राज्यमन्त्री खानले रक्त संकलन थैली स्वयंसेवी रक्तदाता ममरीमैया रञ्जितकारलाई हस्तान्तरण गरी उद्घाटन गरिएको थियो ।

सोही अवसरमा अनकल डोनरको रुपमा प्रत्येक रक्त समूहबाट दुई दुई जना प्रतिनिधिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेगेटिम रक्त समूहबाट देवकुमार राजबहाक ए नेगेटिभ र निहालबिक्रम राणा विन्देश खनाल बी नेगेटिभ रहेका छन् ।

यस्तै गोकुलेश प्याकुरेल र प्रकाश जोशी ओ नेगेटिभ, पार्वती लामिछाने, राजु कर्माचार्य र हिरामाया अवाल एबी नेगेटिभ समूहका रहेका छन् । यस्तै ए पोजेटिभका सुशील तण्डुकार, बी पोजेटिभका न्हुछेरत्न बज्राचार्य बाबुराजा प्रजापति र एबी पोजेटिभका बिजयसागर प्रधान, दीपु तण्डुकार पनि सम्मानित भएका छन् ।

यस्तै ओ पोजेटिभ समूहका मुक्तिरञ्जन बज्राचार्य, तेज तण्डुकार र महेशकुमार श्रेष्ठ पनि सम्मानित भएका छन् । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष कर्माचार्यले स्वयंसेवी रक्तदानबाट संकलित रगत बिरामीका लागि पनि निशुल्क हुनुपर्ने बताएका थिए ।

उनले त्यसका लागि राज्यले आवश्यक निर्णय गर्न सक्ने भन्दै राज्यमन्त्री खानको ध्यानाकर्षण गराएका थिए । उनले अहिले पनि रक्तदानबारे भ्रम सिर्जना कायम रहेको भन्दै त्यसलाई चिर्नका लागि सम्पूर्ण स्वयंसेवी तथा सरोकारवालाहरु लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्