जनकपुरमा बन्ने विनयतारा क्यान्सर सेन्टरको नक्सापास



जनकपुर ।

विनयतारा फाउन्डेसनले नेपालको जनकपुरमा बनाउन लागेको २०० बेडको अस्पतालका लागि नक्सा पास भएको छ। जनकपुर उप-महानगरपालिकाले अस्पताल निर्माण अनुमतिका लागि नक्सापास गरेको हो।

नेपालका साथै भारतको उत्तर प्रदेशलाई समेत लक्षित गरेर निर्माण गर्न लागिएको अस्पताल जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २५ मा बन्ने छ। नेपालको मधेश प्रदेशमा क्यान्सर अस्पताल छैन। भारतको उत्तर प्रदेशमा समेत गुणस्तरीय उपचार सेवाको अभाव छ।

अस्पतालले नेपालको दक्षिण र भारतको उत्तर भूभागका नागरिकका लागि विश्वस्तरीय क्यान्सर उपचार सेवा दिने लक्ष्य लिएको फाउन्डेसनका अध्यक्ष डा शाहले बताएका छन्। अस्पताल भवनको डिजाइन अमेरिकाकै चर्चित आर्कटेक्ट कम्पनीले फङ एन्ड चान आर्किटेक्ट्स्ले गरेको छ। अस्पताल भवन निर्माणमा कहलिएको उक्त डिजाइन कम्पनीले जुकरवर्ग सान फ्रान्सिसको जनरल हस्पिटल एन्ड क्यान्सर सेन्टर, क्यालिफोर्निया नर्थसाइट युनिभर्सिटी मेडिकल सेन्टरलगायत डिजाइन गरेको छ।

विश्वस्तरीय क्यान्सर अस्पताल बनाउन लक्ष्य लिएको फाउन्डेसनले भवन डिजाइनदेखि निर्माणसम्ममा कुनै सम्झौता नगर्ने जनाएको छ। फाउन्डेसनका अध्यक्ष डा शाहले भने,  ‘नक्सा पाससँगै नेपालमा विश्वस्तरको क्यान्सर उपचार सेन्टर बनाउने हाम्रो लक्ष्यले गति लिएको छ।’ आगामी बर्खापछि अस्पताल निर्माण सुरु गरिने तयारी गरिएको छ। फाउन्डेसनले उक्त भवन निर्माणका साथै मधेश प्रदेशमा क्यान्सर उपचार र सचेतना कार्यक्रम अघि बढाएको छ।

सन् २०१८ देखि २५ बेडको अस्पताल जनकपुरको कपिलेश्वर रोडमा सञ्चालनमा छ। जहाँ  किमोथेरापी,  सर्जरी,  आइसियु र ल्याबको व्यवस्था छ । जनकपुरकै पहिलोपल्ट हिस्टोप्याथोलोजी ल्याब उक्त सेन्टरमा खुलेको छ। स्थानीय गैरसरकारी संस्थासँग मिलेर यो वर्षदेखि क्यान्सरमा सचेतना कार्यक्रम पनि गर्दैछ। फाउन्डेसनसँग सहकार्य गरेर स्थानीय समुदायमा क्यान्सर सचेतना फैलाउन चाहने स्थानीय गैरसरकारी संस्थाका लागि केही दिनअघि मात्रै सार्वजनिक आह्वान गरिएको छ। भौतिक, प्रविधि र जनशक्ति सबै हिसाबले अस्पताललाई नमुना बनाउनले लक्ष्य लिइएको डा शाह बताउँछन्। ‘४ विघा जग्गामा बन्ने २०० बेडको अस्पतालको डिजाइनदेखि नै हामीले ध्यान दिनुका कारण त्यही हो। हामी नेपालको मधेश प्रदेशमा विश्वस्तरीय क्यान्सर उपचार सेवा दिने लक्ष्यसहित काम गरिरहेका छौँ,’ उनले भने।

अस्पताल निर्माणपछि मधेश प्रदेशको स्वास्थ्य चेतना र उपचारमा टेवा पुग्नुका साथै आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा फाउन्डेसनको छ। फाउन्डेसनले नक्सा पास भएका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘नक्सा पास भएसँगै नेपालको जनकपुरमा विश्वस्तरीय क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्यको अझै नजिक पुगेका छौँ। हाम्रो प्रयास, यहाँहरुको सबैको सहयोग र सद्भावले लक्ष्य पूरा हुने विश्वास लिएका छौँ।’
विनयतारा फाउन्डेसनको अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो।

फाउन्डेसन  सीएमई, क्यान्सर कंग्रेस जस्ता कार्यक्रम गर्ने अमेरिकाकै नेतृत्वदायी संस्थामध्ये पर्दछ। यस्ता कार्यक्रमबाट संकलित र सहयोगीबाट प्राप्त रकमबाट फाउन्डेसनले स्वास्थ्य सेवामा न्यून पहुँच भएको दक्षिण एसियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ।  बोनम्यारो प्रत्यारोपण केन्द्र,  होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्