स्कुल–स्कुलमा सम्पदा कक्षा सिकाउँदै कायस्थ



काठमाडौं ।

सम्पदा के हो ? मूर्त र अमूर्त सम्पदा भन्नाले के बुझ्नुहन्छ ? सम्पदा संरक्षण गरेन भने के हुन्छ ? यी र यस्ता दर्जनौं विषय गाँसेर काठमाडौंका यादवलाल कायस्थले सयौं विद्यार्थीलाई पढाइरहनुभएको छ। उमेरले तीन दशक पुग्नुभएका यादवलाले नेपालको संस्कृति संरक्षणकर्ताको रूपमा परिचय कमाइसक्नुभएको छ।

राजधानीका विभिन्न स्थानबाट हराएका मूर्ति पत्ता लगाउन होस्, वा मूर्त अमूर्त संस्कृति जोगाउन उहाँले गरेको योगदान अविष्मरणीय छ। ढुंगेधारा संरक्षण गर्ने मूल उद्देश्यका साथ अघि बढेका कायस्थले पछिल्लो समय दरबारमार्गको सोह्राहिटी अर्थात् तीनधारा पाठशाला नामकरण भएको धारा, नक्सालमा हालै नन्दीकेश्वर परिसरमा रहेको गाःहिटी पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यस्ता हराएका दर्जनौं ढुंगेधारा र सम्पदा पत्ता लगाइसकेको जिकिर गर्दै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘महानगरले हामीले उत्खनन गरेका सम्पदाहरू संरक्षण गरिरहेको छ। सम्पदा संरक्षण गर्ने विषय मैले मात्र जानेर भएन, घरघरमा सन्देश पठाउन स्कुल–स्कुलमा सम्पदा विषय पढाउन थालेको हुँ । पढाउँदा केही गाह्रो हुँदो रहेछ तर विद्यार्थीको जिज्ञासा सुन्दा त झन् मजा आउँछ।’

आजसम्म विद्यालयमा नपढाएको विषय पढाउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै उहाँले भन्नुभयो– ‘मैले कक्षामा पढाउँदा विद्यार्थीले सम्पदा के हो ? जानेकै थिएनन् । संरक्षण गर्ने विषय त परैको कुरा । आजसम्म नेपालमा यस्ता विषय पढाएकै छैन। सम्पदा के हो ? यसलाई संरक्षण गरेन भने के हुन्छ ? संरक्षण गर्दा नेपाललाई विश्वले कसरी चिन्छन् ? यी सबै विषय केन्द्रित गरेर सम्पदा कक्षा लिने गरेको छु।’

कायस्थले छाउनीको शंकरी, नोबल एकेडेमी, छात्रपाटी मावि, कंकेश्वरी आधारभूत विद्यालय, सरस्वती, कन्या मावि, नन्दीमाविलगायत ३४ विद्यालयमा ८ देखि १२ कक्षासम्मका करिब ४ सय विद्यार्थीलाई सम्पदाको विषयमा कक्षा लिइसक्नुभएको छ। नेपाल चिनाउन कहिलेकाहीँ ३–४ कक्षाका विद्यार्थीलाई पनि पढाउने गरेको जानकारी दिँदै कायस्थले एकपटकमा १० वटा विद्यालय छनौट गरी कक्षा सञ्चालन गर्ने गरेको बताउनुभयो ।

आफ्नै देशभित्र मात्र पाइने मौलिक सामग्री प्रयोग गरेर आफ्नै देशको शैली तरिकामा मानव कल्याणका लागि निर्माण गरिएका संरचनालाई सम्पदा भनिन्छ। नेपालमा पुरातत्व विभागले सय वर्ष नाघेका भनेर समयसीमा तोकेका संरचनालाई सम्पदा मान्छ। हाम्रो देशको आर्थिक समृद्धि ल्याउने सबैभन्दा महत्वपूर्ण पक्ष सम्पदा हो। यसले पर्यटन बृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ भन्दै विद्यालयमा पढाउन थालेको सम्पदाविद् कायस्थले बताउनुभयो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका सम्पदा सल्लाहकार रहेका कायस्थले काठमाडौंपछि उपत्यका हुँदै देशैभरका विद्यालयमा सम्पदाको परिचय र संरक्षण गर्ने विषयमा कक्षा सञ्चालन गर्ने बताउनुभयो। उहाँले आफूसँगै भावी पुस्ताले सम्पदाको बारेमा जानकारी पाउन सकून् भन्ने उद्देश्यले स्कुल स्कुलमा कक्षा सञ्चालन गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्