इतिहास रच्ने अवसर गुमाउँदै नेपाली क्रिकेट

सुपर–८ को होडबाट बाहिरियो



काठमाडौं ।

वेस्ट इन्डिजको किंग्सटाउनमा शनिबार भएको आईसीसी क्रिकेट टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा १ रनले हारेपछि नेपाली क्रिकेट टोलीले इतिहास रच्ने अवसर गुमाउँदै गएको छ। यो खेलमा जितेको भए नेपालले पहिलोपटक टेस्ट खेल्ने टोलीमाथि जित्ने ऐतिहासिक उपलब्धि हासिल गर्थ्यो । यद्यपि नेपालले बंगलादेशविरुद्धको खेलमा जित हासिल गरेमा सो उपलब्धि प्राप्त हुने अवसर बाँकी नै छ।

यस नतिजाले नेपाललाई जारी क्रिकेट टी–२० विश्वकपमा सुपर ८ मा पुग्ने सम्भावनासमेत समाप्त गरिदियो । सुपर–८ मा पुग्न नसक्दा नेपालले आगामी २०२६ को टी–२० विश्वकपमा सोझै खेल्ने मौकासमेत गुमायो । जारी विश्वकपअन्तर्गत सुपर–८ मा पुग्ने टोलीले दुई वर्षपछि हुने टी–२० विश्वकपमा सोझै खेल्ने पाउनेछन् । सुपर ८ मा नपुगेपछि नेपालले अब, एसियाको छनौट चरण खेल्नुपर्ने भएको छ।

नेपालले पहिले घातक बलिङ गरेर दक्षिण अफ्रिकाजस्तो विश्वकै उत्कृष्ट टोलीलाई १ सय १५ रनमै खुम्च्यायो । जसमा, दीपेन्द्रसिंह ऐरीले ३ तथा कुशल भुर्तेलले ४ विकेट लिएर जितको लागि १ सय १६ रनको सामान्य लक्ष्य तयार पारिदिए । तर, नेपालको ब्याटिङ १ सय १४ रनमा रोकियो । योसँगै जारी विश्वकपमा दोस्रोपटक दक्षिण अफ्रिका भाग्यमानी ठहरियो । यसअघि बंगलादेशविरुद्धको खेलमा दक्षिण अफ्रिकाले मात्र १ सय १३ रन रक्षा गरेर ४ रनको जित निकालेको थियो । यसपटक भने मात्र एक रनको जित निकाल्यो ।

यो नतिजासँगै समूह डी मा दक्षिण अफ्रिकाले सबै चार खेल जित्न सफल भयो । अंकतालिकामा बंगलादेशको ४ अंक छ भने नेदरल्यान्ड्सको २ अंक तथा नेपाल र श्रीलंकाको १–१ अंक रहेको छ । नेपालले सुपर ८ को सम्भावनालाई जीवित राख्न यो खेल जित्नै पर्ने थियो । तर, जित्न सकेन ।

साम्सी खलनायक

जिततिर लम्किरहेको अवस्थामा नेपालका लागि दक्षिण अफ्रिकाका बलर ताबरेज साम्सी खलनायक बने । उनको पहिलो ओभर र इनिङको आठौं ओभरमा कुशल भुर्तेल (१३ रन) र कप्तान रोहित पौडेल (०) मा आउट भए । यसले नेपाल ३५ रनमा दुई विकेट पतनको अवस्थामा रह्यो।

यसपछि आसिफ शेख र अनिल साहले सम्हालिँदै ३५ बलमा ५० रनको साझेदारी गर्दै नेपालको स्कोर ८५ मा पुर्‍याए। यो साझेदारी विपक्षी टोलीका कप्तान एडिन मार्करामले जमिसकेका अनिलको विकेट लिएर तोडेका थिए । अनिलले २७ रन बनाएका थिए।

१८ औं ओभरमा साम्सी फेरि एकपटक नेपालको ब्याटिङमा हाबी भए । यो ओभरको तेस्रो बलमा अनिलको स्थानमा आएका दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए। यसपछि नेपालका आशा बनेका आसिफ शेख पनि धैर्य गुमाउँदै छैटो बलमा आउट भए। आसिफले ४९ बलमा ४२ रन बनाएका थिए। यो ओभर सकिँदा नेपालको स्कोर ५ विकेटको नोक्सानीमा १ सय रन थियो र जितको लागि १२ बलमा १६ रन चाहिने थियो । १९ औं ओभरमा ८ रन बटुल्यो भने २० औं ओभरमा ६ रन मात्रै जोड्दा नेपाल पराजित भयो ।

नेपालको प्रदर्शनमा विश्वभरि कसले के भने ?

–‘अबको १० वर्षसम्म हेर्नैपर्ने टिम बन्नेछ नेपाल’ –सञ्जय मन्जरेकर (क्रिकेट कमेन्टेटर तथा भारतीय पूर्व क्रिकेटर)

–‘धेरै नजिक, लगभग जितेको । तपाईंहरूले आफ्ना प्रशंसकहरूलाई गर्व गराउनुभयो र मनोरञ्जन दिनुभयो । राम्रोसँग लडे’ –मुम्बई इन्डियन्स (आईपीएल टोली)

–‘अपत्यारिलो समर्थन, अपत्यारिलो खेल, अपत्यारिलो रात नेपाल, हामी सबैको मन जित्यौ नेपाल’ –चेन्नई सुपर किंग्स (आईपीएल टोली)
–‘नेपालका लागि मुटु टुक्रियो तर उनीहरूको लडाईं अतुलनीय थियो’– द भारत आर्मी

–‘शिर उचाल्नु टिम नेपाल । त्यो दक्षिण अफ्रिका थियो जसलाई आज लगभग तल पारिसकेका थियौ । तपाईंहरूसँग सबैभन्दा जोसिलो समर्थक छन् जसलाई तपाईंहरूले विश्वास दिलाउन सक्नुभयो । आशा छ कि ठूला दिनहरू आउनेछन् । – हर्ष भोगले (क्रिकेट कमेन्टेटर तथा भारतीय पत्रकार)

–‘विश्वले यो प्रतिस्पर्धामा गर्व गर्छ’ –राजस्थान रोयल्स (आईपीएल टिम)

–‘कस्तो खेल थियो ! नेपाल एकदमै अन्तरले हार्‍यो ! तर केटाहरूले राम्रो खेले’ –विक्रान्त गुप्ता (भारतीय मिडियाकर्मी)

–‘क्रिकेटकै अचम्म खेल, नेपाली क्रिकेटको रात थियो किनकि उनीहरू अफ्रिकाविरुद्ध क्रिकेटको सगरमाथामा पुग्न केहीले चुके, दक्षिण अफ्रिकाले एक रनले जित्यो, नेपालले क्रिकेटको संसारमा आफ्नो प्रतिष्ठा बढायो’ –एलन विल्किन्स (वेल्सका सञ्चारकर्मी तथा पूर्व इंग्लिस क्रिकेटर)

प्रतिक्रिया दिनुहोस्