रौतहटमा युवकको शव भेटियो, हत्या भएको आशंका



 रौतहट । 

रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपराह्न एक जना युवकको शव भेटिएको छ ।

गौर-४ टिकुलिया बकैया खोलाको बाँध नजिकै  स्थानीय शुभनारायण सहनीको छोरा २० वर्षीय युवक रोहित सहनीको शव भेटिएको हो ।

घरबाट शौच गर्न निस्किएका  उनको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् ।  जिल्ला प्रहरी प्रवक्ता तथा डिएस्पी गिरीले मृतक सहनीको शरीरमा कुनै प्रकारको दाग तथा कुटपिटको चिन्ह नदेखिएको बताएकी छिन् ।

मृतकको पाकेटबाट लागुऔषध गाँजा भरिएको चिलम जस्तो कुरा बरामद भएको छ । गाँजाको नशामा गर्मीको कारण बेहोस भएर पानीको कमीको कारण पनि मृत्यु हुनसक्ने अनुमान गरिएको छ । मृतकको नाकबाट रगत बगेको देखिन्छ।

मृतक शहनिको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ । सहनीको कसैले हत्या गरेको हो वा होइन अनुसन्धान तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने डिएसपी गिरीले बताएकी छिन् ।

उता मृतकका दाजु सञ्जय सहनीले कसैले कुटपिट गरी रोहितको हत्या गरेको दाबी गरेका छन् । उनले भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको कारण प्रहरीले गम्भीरता साथ अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

-सञ्जय मिश्रा

प्रतिक्रिया दिनुहोस्