माटोको अवैध कारोबारको आशंका



हेटौंडा ।

 सिमेन्टको क्लिंकर उत्पादनका लागि प्रयोग हुने आइरनसहित माटोको कारोबार अवैधरुपमा हुने गरेको पाइएको छ । पश्चिम नेपालमा रहेका सिमेन्ट उद्योगमा प्रयोग हुने गरी मकवानपुरको बकैया गाउँपालिका–४ बाट ४ महिनादेखि अवैधरुपमा माटोको कारोबार हुने गरेको आशंका गरिएको हो ।

बकैया गाउँपालिकाबाट हेटौंडा–१७, हटिया हुँदै पश्चिम नेपालको दाङ र भैरहवा लैजाने क्रममा नगर प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएसँगै अवैध कारोबार बाहिरिएको हो । कारोबारका क्रममा प्रयोग हुने राजस्व रसिद नपाइएको र पालिकाबाट काटिने रसिदबिना कार्यक्षेत्र पार गरेका क्रममा नगर प्रहरीको टोलीले शुक्रबार राति करिब १२ बजे फेला पारेसँगै नियन्त्रणमा लिइएको उपमहानगर राजस्व शाखाले जनाएको छ ।

हेटौंडा उपमहानगर राजस्व शाखा प्रमुख जगन्नाथ सापकोटाले कारोबारको विषयमा बुझ्ने क्रममा रहेको बताए । ‘हेर्दा अनौंठो प्रकारको माटोबारे जानकारी लिँदैछौं,’ उनले भने । प्रारम्भिक चरणमा सिमेन्ट उद्योगका लागि पठाउन लागेको भन्ने बुझेका छौं । राजस्व चुहावटको अवस्था देखिएकाले नियन्त्रणमा लिइएको उनले बताए ।

बकैयाको स्वबी, कालीदमार क्षेत्रबाट उत्खनन् गरी निकासी गर्दै आएको काठमाडौंको ट्युजर ल्याण्ड कम्पनीले पश्चिम नेपालको घोराही, अर्धाखाँची सिमेन्टका लागि पठाउन लागेको जनाएको छ । राजस्व नतिरिएको अवस्थामा १५ ट्रक उपमहानगर टोलीले नियन्त्रणमा लिएको छ । ट्रकमा लोड भएको माटो चुम्बकमा टाँसिने गरेको छ ।

नियन्त्रणमा रहेका १४ चक्केमा १६, १२ चक्केमा १४ र १० चक्केमा १२ घनमिटर बक्साइड आइरन माटो रहेको कम्पनीका सुन्दर रेग्मीले बताए । उनले पालिकामा राजस्व जम्मा गरेको, तोकिएको ठाउँ भन्दा बाहिर आएर रोकिएको अवस्थामा उपमहानगरले नियन्त्रणमा लिएको बताए । कम्पनीले ट्रकअनुसार १२ चक्केको ७ हजार ४ सय, १० चक्केको ६ हजार ४ सय रुपियाँ राजस्व काट्ने गरेको बताइएको छ ।

नियन्त्रणमा रहेका ट्रकमा लोड भएका आइरनसहित माटो ९ रुपियाँ क्युफिट दरले राजस्व हिसाब भएको छ । हाल ट्रकमा ३५ ग्रेडसम्म माटो लोड भइ पश्चिम नेपाल जान लागेको कम्पनीका रेग्मीले जानकारी दिए । बकैयाको सोही ठाउँबाट हेटौंडामा रहेको ऋद्धिसिद्धि सिमेन्टले पनि सोही मापदण्डको माटो क्लिंकर उत्पादनका लागि ल्याउने गरेको बताइएको छ । नगर प्रहरी टोलीले नियन्त्रणमा लिएका १५ ट्रकलाई उपमहानगरको आर्थिक ऐनअनुसार प्रतिट्रिप १८ हजारका दरले २ लाख ७० हजार रुपियाँ राजस्व संकलन गरी पठाउने तयारी गरिएको छ । यसअघि पनि उपमहानगरले ३ ट्रकलाई जरिवाना गरी छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्