रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित



काठमाडौं ।

सिरिल रामाफोसा दक्षिण अफ्रिकाको राष्ट्रपतिमा पुन: निर्वाचित भएका छन् ।

दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबीच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक सिरिल रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

दक्षिण अफ्रिकाको नयाँ सरकारमा रामाफोसाको एएनसी, सेन्टर-राइट डेमोक्रेटिक एलायन्स (डीए) र साना दलहरू सामेल छन् ।

विजयपछिको भाषणमा रामाफोसाले नयाँ गठबन्धनको प्रशंसा गरेका थिए । उनले भने, ‘नेताहरूले हाम्रो देशका सबैको हितका लागि मिलेर काम गर्नेछन् भन्ने मतदाताहरूले अपेक्षा गरेका छन् ।’

चर्को राजनीतिक नाटकका बीचमा यो सहमति भएको हो । एएनसीका महासचिव फिकिले म्बालुलाले गठबन्धन सम्झौतालाई ‘उल्लेखनीय पाइला’ भनेका छन्।

रामाफोसा सन् २०१८ मा पहिलो पटक दक्षिण अफ्रिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सत्ता संघर्षपछि ज्याकोब जुमालाई राष्ट्रपति र एएनसी नेताको रूपमा प्रतिस्थापित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्