बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर



 रौतहट । 

रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन विरोध स्वरुप स्थानीय युवाहरूले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर विरोध जनाएका छन्।

कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोशित युवाहरुको समूहले शुक्रवार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर विरोध जनाएका हुन् ।

नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाइमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरूले गुनासो गर्दै आएका थिए । फोहर फाले लगत्तै मेयर जैसवालको आग्रहमा युवा समूह, स्थानीय व्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरु लगायत सर्वपक्षीय आकस्मिक बैठक बसेका थिए ।

बैठकमा मेयर जैसवालले प्राविधिक कारणवश पछिल्लो तीन दिन देखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गल्ती स्वीकार गरेका थिए । बैठकमा मेयर जैसवाल र स्थानीय बिच दुई बुन्दे मौखिक सहमति भएको छ। बजार क्षेत्रको फोहर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमति भएको थियो ।

सहमति लगत्तै अपराह्न मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको थियो । मेयर जैसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्