तीन महिला मजदुरकाे मृत्युपछि कावासाेती सदरमुकाम दिनभर तनावग्रस्त



नवलपरासी ।

बाढी निकासका लागि निर्माण हुँदै गरेकाे नालामा ३ महिला मजदुरकाे मृत्यु भएपछि आक्रोशित स्थानीयले शुक्रवार कावासाेती नगरपालिका तोडफोड गरेका छन् ।

कावासाेती नगरपालिकाले निर्माण गर्दै गरेकाे ११ फिट गहिराे साे नालामा ढुङ्गा मिलाउँदै गरेका महिला मजदुरहरूकाे माथिबाट झरेको माटाेकाे ढिस्कोले पुरिएर बिहीबार मृत्यु भएको थियाे ।

मृतक परिवारलाई क्षतिपूर्ति र शव ब्यवस्थापनका लागि नगरपालिकामा छलफल भईरहेकै बखत आक्रोशित भिडले नगर प्रमुख बिष्णु भुसाल र पालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

बजारकाे विभिन्न चाेकमा सुरक्षार्थ खटिएकाे प्रहरी र स्थानीयबीच झडप हुँदा कावासाेती क्षेत्र तनावग्रस्त बनेकाे हाे ।

सोही क्रममा आक्रोशित भिड राेक्न प्रहरीले स्थानीय ईन्द्रचाेक नजिक केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेकाे थियाे ।
सोही क्रममा आक्रोशित भिडले पूर्व पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेपछि प्रहरीले त्यसलाई हटाएर यातायात सुचारू गरेकाे थियाे ।

नाला निर्माणमा पर्याप्त सुरक्षा व्यवस्था नमिलाई काम गर्दा कावासाेती ५ निवासी ५१ वर्षकी सेती राना,२६ वर्षकी तानमाया गाहा र २३ वर्षकी चमेली सिंजालीकाे मृत्यु भएको भन्दै स्थानीय आक्रोशित बन्दै आएका थिए ।

आक्रोशित भिडकाे ढुङ्गा प्रहारबाट ईन्द्रचाेक स्थित नगर प्रमुख भुसालकाे घरका सिसा फुटेकाछन् भने ढुङ्गा प्रहारबाट जोगिन प्रहरी पसेकाे स्थानीय टिभी हाउसमा पनि ढुङ्गा प्रहारबाट क्षति पुगेको छ ।

सोही क्रममा संजय श्रेष्ठलाई ढुङ्गा लाेगकाे छ भने पत्रकार कल्पना कुंवरकाे हातमा चाेट लाग्नुका साथै केही प्रहरीलाई पनि ढुङ्गालागेकाे प्रत्यक्षदर्सीहरूले बताएकाछन् ।

यसै सम्बन्धमा जिल्ला प्रहरी प्रवक्ता वेद बहादुर पौडेलले प्रहरी तर्फ ४ जना सामान्य घाइते रहेको र प्रदर्शनीकारी तर्फ कोही घाइते भएको जानकारी नआएको बताए ।

आक्रोशित स्थानीयले दोषीलाई कार्यवाही र मृतकका परिवारका  पक्षमा दवाव बनाई राख्न नगरपालिका अगाडि धर्ना दिएका छन् भने बजारका चाेक चाेकमा सुरक्षाकर्मी तैनाथ रहेका छन् ।

यसै बीच मृतक परिवार, आफन्तजन,  स्थानीय  जनप्रतिनिधि,नेपाल मगर संघ स्थानीय पदाधिकारी, सामाजिक व्यक्तिहरू बीच भएको छलफलबाट १० बुँदे सहमति भएको जनाइएको छ।

जसमा मृतक परिवारकाे बालबच्चा मुद्दती काेषमा ५ लाख तथा प्रति मृतक परिवार ५ लाख नगद राहत उपलब्ध गराउने सहमति भएको छ ।
त्यसै गरी प्रति मृतक परिवार नगरपालिकामा पुस्तान्तरण सहित १ जनालाई  राेजगारी,अवस्था हरी सुरक्षित आवासको सुनिस्चितता,बालबच्चालाई १२ कक्षा सम्म पढाइको सुनिश्चितता, काजकिरिया खर्च ५० हजार नगद उपलब्ध गराउँदै शव व्यवस्थापन खर्च पलिकाले व्यहाेर्ने सहमति भएको छ ।

साथै सहमतिमा नगरपालिका तर्फबाट मृतकहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटना स्थलमा मृतकहरूकाे स्थायी शालिक निर्माण गरी सुरक्षित गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्