सिद्धलेक गाउँपालिका : आर्थिक हिसाबबारे जानकारी नदिएसम्म गाउँ सभा हुन नदिने तीन दलको निर्णय सार्वजनिक



सीताराम अधिकारी

धादिङ ।

आर्थिक पारदशिर्षताको विषयमा व्यापक गुनासो आएको सिद्धलेक गाउँपालिकामा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आफूसमेत सहभागी भएर अपारदर्शी काम गरेको भन्दै गाउँपालिकाको कार्यपालिकामा सहभागी तिन दल आन्दोलित भएका छन् ।

सिद्धलेक गाउँपालिकाको दहत्तरबहत्तर ठेक्का बाहेकको रकम उठाएर पनि गाउँपालिकामा जम्मा नगरेको र गतवर्ष नै गाउँपालिकाको खातामा रकम जम्मा गर्न १७ लाख ३३ हजार ५ सय ५० रुपैयाँ पालिकाको खातामा जम्मा नगरेको आरोप लगाउँदै मुख्य  तिन दल आन्दोलनमा उत्रिएका हुन् ।

१५ जना मध्ये ११ कार्यपालिका सदस्यले विपक्षमा लागेपछि आफूले गरेका अनियमितताबारे सार्वजनिक हुन थालेका कारण सिद्धलेक गाउँपालिकामा प्रेस विज्ञप्ति, वाकयुद्ध र आरोप प्रत्यारोप शृङ्खला चलेको छ भने गाउँपालिका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सुशासनका लागि अनियमितता विरुद्ध उजुरी समेत परेको छ ।

हाल सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बाट निकासी भइरहेको खानीजन्य पदार्थ दहत्तरबहत्तर ठेक्का बाहेकको वातावरण शुल्क समेत गाउँपालिकामा जम्मा नभएको र बालुवा निकासी गर्ने ठेकेदारले अनियमित रुपमा उठाएर आम्दानी गरेपनि सरकारी खातामा नआएपछि अनियमितता विरुद्ध लागेको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमटि अध्यक्ष रामहरि बराकोटीले बताए ।

पटक पटक गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई सचिनका लागि लिखित रुपमा र मौखिक रुपमा आग्रह गर्दा नमानेपछि उपाध्यक्ष सबिता अर्याल सहितको १२ जनाको कार्यपालिका सदस्यले यस अघि बैठक बसी अनियमितताबारे उल्लेख गर्दै कारबाही गर्न र पालिकाको विभिन्न काम अनियमितता भएकोले ठेक्का लगायतका काम रोक्न निर्णय समेत गरेको थियो । तर गाउँपालिका अध्यक्षले पालिकाको काम नरोकिने भन्दै काम लगाउँदै आउनुभएको छ ।

दुुइवर्षको बिचमा ८ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेको सिद्धलेक गाउँ पालिकामा सवारी साधन खरिद गर्दादेखिका विभिन्न चरमा भएका योजना सम्झौता तथा विधि विपरीतका काम नगर्न पटक पटक भएका बैठकलाई समेत अटेर गरी  अन्य दलका कार्यकर्ता र जनप्रतिनिधिहरूलाई धम्की दिने गरेकोले पालिकाको  अनियमितता समाधान नभएसम्म गाउँसभा हुन नदिने नेकपा माओवादी केन्द्र सिद्धलेकका अध्यक्ष पुष्पराज थपलियाले बताए ।

गाउँपलिका अध्यक्षको प्रवृत्ति श्रोत साधनको दुरुपयोग गर्ने, आफू पक्षका कर्मचारीलाई मात्र सेवा सुविधा दिने, गाउँपालिका उपाध्यक्षले अनुगमनमा लिएर हिँडेको सवारी साधन समेत फिर्ता लिने, आफूलाई मन पराउने दूुइ वडाअध्यक्ष बाहेकको काम  नगर्ने लगायतका दादागिरी बन्द गर्न र पालिकामा जनताको विकासको आशालाई साथ दिँदै दलहरु र आफूनिकटका जनप्रतिनिधि आन्दोलमा उत्रिएर पारदर्शि हिसाब नभएसम्म गाउँ सभा हुन नसक्ने नेकपा एस सिद्धलेकका अध्यक्ष ईश्वरी अर्यालले बताउनुभयो ।

नेकपा एमाले, नेकपा एस, नेकपा माओवादी केन्द्रले प्रेस विज्ञप्ति प्रकाशन गरी सर्वपक्षीय सहकार्यको वातावरण बनाउन आग्रह गर्दै आर्थिक रुपमा पारदर्शी हिसाब सार्वजनिक गर्न, पालिकाको खातामा जम्मा गर्नु पर्ने रकम जम्मा गर्न आग्रह गरिएको छ । १५ जनाको सिद्धलेक कार्यपालिकामा १२ कार्यपालिका सदस्य गाउँपालिका उपाध्यक्षको नेतृत्वमा आन्दोलनमा छ भने गाउँपालिका अध्यक्ष समेत ३ जना अध्यक्षको पक्षमा देखिनुभएको छ ।

अनियमितताको  विषय उठेपछि गाउँपालिका अध्यक्षले हस्ताक्षर गरी जेठ २३ र २५ गते दुइओटा विज्ञप्ति प्रकाशन गरी  गाउँपालिका जनप्रतिनिधिहरूलाई अध्यक्षलाई सघाउन आग्रह  गरेका छन्  भने नसघाएमा कानुनको सहयोग लिने समेत उल्लेख गर्दै धम्की दिइएको छ ।

गाउँपालिकाको काम सकेर घर फर्कने समयमा बुधवार साँझ गाउँपालिका उपाध्यक्ष सबिता अर्यालको कार्यकक्षमा पुगेर गाउँपालिका अध्यक्ष खतिवडा सहित केही कर्मचारी तत्काल मिल्न धम्की दिँदै अन्यथा कार्यालय आउन नदिने बताएर आफूलाई धम्की दिएको उपाध्यक्ष अर्यालले बताए ।

आफूविरुद्ध समाचार आइरहेको विषयमा समेत गाउँपालिका अध्यक्षले आफूले केहीलाई पैसा दिएको समेत कर्मचारीहरु समक्ष बताएको र पत्रकार सीताराम अधिकारीको नाम नै लिएर उसलाई समाचार लेखिरहेकोले ठिक गर्ने धम्की समेत कर्मचारीहरु समक्ष बताएको नेपाल समाचारपत्रलाई जानकारी प्राप्त भएको छ ।

गाउँपालिका अध्यक्षको विपक्षीहरुलाई तहलगाउने र नीति नियम आफूले बोलेपछि हुन्छ भन्ने मनसायबाट प्रेरित भएका अध्यक्ष खतिवडाको शैली वडा अध्यक्षलाई समेत गाली गर्न थालेपछि अनियमितताको विषय उठेको मोटरुसाइकल समेत वडा नम्बर १ का वडा अध्यक्ष पेमा वाङ्ग्याल लामाले कार्यालयमा चाबी बुझाएर फिर्ता गरिदिएका छन् । अन्य वडा अध्यक्षले मोटरसाइकल फिर्ता गर्ने तयारी गरेको वडाअध्यक्षहरुले बताएका छन् ।

कार्यपालिका सदस्यहरुले समेत पालिकामा भएकाे अनियमितताकाे छानविन गर्न माग गर्दै पालिकामा दहत्तरबहत्तर ठेक्का बाहेककाे राजश्व पुरानाे वर्षकाे र अहिलेको जम्मा गर्न माग गरेका छन् । वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पालिकाको काम अपारदर्शी भएकाेले हिसाब नदेखाएसम्म गाउँ सभा नै गर्न नदिने बताएका छन् । पालिका अध्यक्षले जनताकाे काम नगरेकाेले  १५ मध्ये ११ कार्यपालिका सदस्यकाे बैठक बसी जनताकाे पक्षमा काम गर्नका लागि दिगो विकासका याेजना बारे समेत छलफल गरिएको वडा अध्यक्ष देव पुलामीले बताए ।

प्रतिक्रिया दिनुहोस्