हामीमा एउटा बिर्सने बानी छ । हामी त ‘हामी को हौँ’ भन्ने कुरालाई नै बिर्सन पुग्छौँ । हामीले हाम्रो स्वभाव के हो, हाम्रो प्रकृति के हो, हाम्रो चाहना के हो भन्ने कुरालाई नै भुल्छौँ । हामी ‘हाम्रो आवश्यकता के हो’ भन्ने कुरालाई पनि बिर्सन्छौँ । कुन कुरालाई बिर्सेको अवस्थामा हामीले हाम्रो जीवनमा ‘यी सबै कुरा के हुन्, यो सबै के भइरहेको छ, मलाई किन गलत भइरहेको छ, कसैलाई किन सही भइरहेको छ’ भनेर बुझ्न सक्दैनौँ ?
यी सबै कुरालाई हामी बिर्सन पुग्छौँ । यथार्थमा अज्ञानता तपाईँभन्दा टाढा छैन अनि ज्ञान पनि तपाईँभन्दा टाढा छैन । सुख पनि तपाईँभन्दा टाढा छैन र दुःख पनि तपाईँभन्दा टाढा छैन। तपाईँ आफ्नो जीवनमा जहाँ पुग्नुभए पनि, जेसुकै गरिरहनुभएको भए पनि सुख र दुःख दुवै कुरा तपाईँकै साथमा हुन्छन् । ज्ञान र अज्ञान पनि तपाईँसँगै रहेका हुन्छन् । असलपन र खराबपन पनि तपाईँसँगै हुन्छन् ।
तपाईँको जीवनमा सबै कुरा भएर पनि केही पनि छैन । दुवै कुरा हुन्छन्। तपाईँ आफ्नो कोठामा पसेपछि छेस्किनी लगाउनुहुन्छ तर तपाईँ त्यहाँ एक्लै हुनुहुन्न । अरू थुप्रै कुराहरू तपाईँसँगै त्यो कोठाभित्र आइसकेका हुन्छन्। तपाईँ पनि हुनुहुन्छ, जीवन पनि छ अनि मृत्यु पनि छ। त्यो कोठामा सबैथोक छन्– ज्ञान पनि छ, अज्ञान पनि छ, अँध्यारो पनि छ र उज्यालो पनि छ। अनि, ती सृष्टिकर्ता पनि त्यही कोठामा रहेका छन्। यदि हामीले कोठाको ढोका थुनेर बत्तीलाई निभाइदियौँ भने अँध्यारो हुनेछ। ढोका पहिलादेखि नै बन्द थियो तर अँध्यारो कहाँबाट आयो ? किनभने, त्यो तपाईँसँगै आयो । धर्म पनि तपाईँसँगै छ अनि अधर्म पनि तपाईँसँगै छ । तपाईँ जहाँ पुगे पनि यी सबै कुरा हुनेछन्। यसमा एउटा मात्र फरक कुरा छ । यदि तपाईँलाई यी सबै कुरा आफ्नै साथमा हुन्छन् भन्ने कुरा थाहा छ भने तपाईँले चाहेको कुरालाई शिरोधार्य गर्नुहोस् । प्रेम पनि तपाईँसँगै आएको छ र घृणा पनि तपाईँसँगै आएको छ । यदि तपाईँ जिउन सिक्नुहुन्छ भने प्रेमलाई अँगाल्न सिक्नुहोस्, घृणालाई होइन। ज्ञानलाई आफ्नो निकटमा आमन्त्रण गर्न सिक्नुहोस् तर अज्ञानलाई आउन नदिनुहोस् । आफ्नो जीवनमा प्रकाशको चाहना छ भने त्यसलाई प्रज्वलित तुल्याउन सिक्नुहोस् । त्यसपछि त अँध्यारो पनि स्वतः हट्नेछ ।
यदि तपाईँ आफ्नो जीवनलाई अलिकति मात्रै भए पनि परिवर्तन गर्न चाहनुहुन्छ भने केवल तीन सेकेन्ड सोच्नुहोस् । कुनै कार्य गर्नुभन्दा पहिला सोच्नुहोस् । के गर्न लागिरहेको छु भनेर केवल तीन सेकेन्ड सोच्नुहोस् अनि त्यसपश्चात् आफूले गर्न चाहेको कार्य गर्नुहोस् । किनभने, क्रोध पनि तपाईँकै साथमा हुन्छ अनि क्षमा पनि तपाईँसँगै हुन्छ । तपाईँले तीन सेकन्डमा तपाईँलाई क्रोध चाहिएको छ या क्षमा भन्ने कुरालाई छनोट गर्न सक्नुहुन्छ । क्षमाले प्रेमलाई उजागर गर्छ । प्रेमले प्रकाश पैmलाउँछ । प्रकाशले आनन्द प्रदान गर्छ । केवल तीन सेकेन्डमा । किनभने, तपाईँ पहिला काम गर्नुहुन्छ अनि पछि सोच्नुहुन्छ । यसैकारण तपाईँको जीवनमा दुःख हुन्छ ।
हामीले गर्ने सबै कुरामा दुई प्रकृतिको सम्भाव्यता छ– राम्रो पनि हुन सक्छ र नराम्रो पनि हुन सक्छ । हामीले सोच–विचार गरेर हाम्रो भुल्ने प्रकृतिका विषयमा ध्यान दिनु आवश्यक हुन्छ । अनि, के पनि कोसिस गर्नु आवश्यक छ भने मैले नभुलूँ अर्थात् मलाई अत्यन्तै आवश्यक रहेको त्यस चीजलाई नभुलूँ । यदि तपाईँलाई यस कुराको हेक्का रह्यो भने तपाईँको जीवनमा स्वतः परिवर्तन आउनेछ । हामी यो संसारमा कुनै परिवर्तनको अपेक्षा राख्छौँ भने त्यो परिवर्तन संसारबाट नभएर तपाईँबाट शुरु हुनुपर्छ ।
तपाईँले जे–जति गरिरहनुभएको भए पनि त्यो आनन्द प्राप्तिका लागि हो । किनभने, तपाईँ दुःखलाई सहन गर्न सक्नुहुन्न । मानिस हुनुको नाताले तपाईँको प्रकृति नै तपाईँले दुःखलाई सहन नसक्नु हो । तथापि, अपार सुखलाई तपाईँ सहन गर्न सक्नुहुन्छ । मानिसका लागि सुखको कुनै सीमा नै हुँदैन तथापि अलिकति मात्रै दुःखले उसलाई हैरान बनाइदिन्छ । हरेक चीजमा सुख पनि छ अनि दुःख पनि छ । यद्यपि तपाईँले आफ्नो जीवनमा ‘सुख चाहिन्छ या दुःख’ भनेर चुन्नु आवश्यक छ । दुःख चाहिनासाथ दुःख उपलब्ध हुन्छ । सुखको अपेक्षा गरेका दिन त्यो सुख पनि उपलब्ध हुन्छ । यदि तपाईँले यो मेरो कुरालाई बुझ्नुभयो भने आफ्नो जीवनमा एकदमै धेरै परिवर्तन ल्याउन सक्नुहुन्छ ।
एउटा कथा छ । एउटा गाउँमा एकजना निकै प्रतिष्ठित सन्तको आगमन भएछ । रानीले यो कुरा थाहा पाउनासाथ उनी उत्सुकतापूर्वक भेट्नलाई भनेर त्यहाँ पुगिछन् । रानीले सन्तसँग पनि जिज्ञासा राखेर सोधिन्, ‘कृपया ! मलाई मेरो भविष्य बताइदिनुहोस् ?’
त्यसपछि सन्त भन्छन्, ‘मलाई तिम्रो भविष्यका बारेमा राम्रो ज्ञान छ । तिम्रो कारणले युद्ध हुनेछ अनि त्यसमा अत्यधिक धेरै मानिस मर्नेछन् । रानीले पनि आत्तिँदै भनिछन्, ‘म मेरो कारणले युद्ध नहोओस् भन्ने चाहन्छु अर्थात् मेरा कारणले मानिसहरूको मृत्यु नहोओस् भन्ने चाहन्छु । कृपया ! कुनै उपाय बताइदिनुहोस् ।’
‘यदि तिमीले तीनवटा कार्य गर्यौ भने यो सबै केही पनि हुनेछैन । तीनवटा कार्य, तिमीले केवल तीनवटा काम गर्नुपर्छ ।’ रानीले भनिन्, ‘के हो त्यस्तो…?’ त्यसपछि सन्त भन्छन्, ‘एक, कसैलाई अपमान नगर्नू। दोस्रो, यदि तिमीलाई कसैले अपमान गर्यो भने पनि क्रोधित नहुनू । तेस्रो कुराचाहिँ, यदि कसैले तिम्रो अपमान गरिहाल्यो र तिमीलाई रिस उठिहाल्यो भने पनि बदला नलिनू ! यी तीनवटा कुरालाई यदि तिमीले अपनायौ भने तिम्रो कारणले कुनै युद्ध हुनेछैन ।’
तपाईँ पनि आफ्नो जीवनमा यी तीन कुरालाई अपनाउनुहोस् । कसैलाई अपमान नगर्नुहोस् । कसैले तपाईँलाई अपमान गरिहाले पनि नरिसाउनुहोस् । यदि रिस उठिहाल्यो भने पनि बदला नलिनुहोस् । यदि तपाईँले यी तीनवटा काम गर्नुभयो भने तपाईँ पनि शान्ति र आनन्दले आफ्नो जीवनलाई बिताउन सक्नुहुन्छ ।
तपाईँका बीचमा धेरै समस्या छन्– पारिवारिक समस्या, व्यापारको समस्या, घरको समस्या, सबै कुराको समस्या छ । तर, वास्तविकता के हो ? एकातिर त तपाईँका अनेकौँ समस्या छन् । यही कारणले तपाईँ दुःखी बन्नुहुन्छ। अर्कोतिर यो मानव शरीर दुःखी हुने साधन होइन भनेर भनिएको छ । दुःख त तब हुन्छ जब प्राप्त भएको चीजलाई तपाईँले दुरुपयोग गर्नुहुन्छ। माटाको गाग्रोलाई तपाईँ चाहे पानीले भर्नुहोस् या अरू केही चीजले नै भर्नुहोस् । तर, त्यसलाई हथौडाको रूपमा प्रयोग गर्नुभयो भने त्यो गाग्रोको दुरुपयोग हुनेछ । गाग्रो त फुट्नेछ। ठीक यसै गरी, हामीलाई यो जुन मानिसको शरीर प्राप्त भएको छ, यसको दुरुपयोग हुनु भनेको के हो ? यो जुन प्रयोजनका लागि प्राप्त भएको छ, तपाईँले यसैलाई उपेक्षा गर्नुभयो । यो जसको कृपाद्वारा प्राप्त भएको छ, तिनैलाई भुल्नुभयो । त्यसैले वास्तविकता के हो अनि के भइरहेको छ ?
यो केही यस्तै खालको कुरा हो। मानौँ, जङ्गलको बीच भागमा एउटा स्थान छ। जहाँ रुख पनि सुकेको छ। नदी पनि सुकेको छ। पानी कतै पनि छैन अनि एउटा छाप्रो छ। त्यस छाप्रोबाट रुँदै गरेको आवाज आइरहेको छ। आमा पनि रोइरहेकी छिन्। बुबा पनि रोइरहेका छन्। बालबच्चा पनि रोइरहेका छन् । बच्चाहरू दुःखी छन्, किनकि उनीहरूलाई भोक लागेको छ। आमा चिन्तित छिन्, किनकि बालबालिका दुःखी छन् । अनि बुबा दुःखी छन्, किनकि आमा र बालबालिकाको चिन्ताले सताइरहेको छ। तिनका लागि खानेकुरा कहाँबाट ल्याउनु ? त्यसका लागि केही उपाय नै छैन । सबै प्रयास सकिएको छ । अब के गर्ने भन्ने बारेमा उनलाई उपाय नै फुरिरहेको छैन ! उनी गरिब छन् । उनीसँग केही पनि धन–सम्पत्ति छैन । उनी आपूmसँग कुनै पनि क्षमता छैन, अलिकति पनि बल छैन भनेर सोच्न थाल्छन् । उनको केवल एउटा सानो झुप्रो छ, अरू केही पनि छैन । झुप्रोको आडैमा एउटा सानो कुवा छ तर त्यो पनि सुकेको छ ।
यस्तो अवस्थामा यदि कोही आऊन् अनि उनलाई भनून्, ‘किन रोइरहनुभएको छ ?’ उनी आफ्नो बिलौना सुनाउँछन्, ‘मेरो यस्तो हालत भइरहेको छ । मसँग केही पनि छैन ।’ अनि ती व्यक्तिले ती गरिब मानिससँग भन्छन्, ‘तपाईँ रुनु आवश्यक छैन । तपाईँसँग प्रशस्तै धन–सम्पत्ति छ । सुन छ, असर्फी छ अनि त्यो धन तपाईँकै छाप्रामुनि गाडिएको छ । त्यसलाई खन्नुहोस् । जति निकाल्न सक्नुहुन्छ, निकाल्नुहोस् । अब जानुहोस् अनि आफ्नो परिवारका लागि जे–जति खाद्यान्नका सामग्री ल्याउन चाहनुहुन्छ, सबै चीज लिएर आउनुहोस् ।’
यस्तो व्यक्तिले के गर्नुपर्छ ? उनी रोइरहनुपर्छ या उनले यसो भन्नुपर्छ– ‘के साँच्चै मेरो छाप्रामुनि सुनको खानी छ ? म हेर्न चाहन्छु ।’ ‘तपाईँले बताइदिनुभयो, अब तपाईँ जानुहोस् अनि म भोलि निकालौँला’, उनले यस्तो त भन्नुहुँदैन होला । हुँदैन ! तपाईँ त्यहीँ उभिइरहनुभएको छ, उनी जान्छन् अनि उनले त्यो स्थानलाई राम्रोसँग खन्छन् । त्यहाँ उनले सुनको खानी भेटाउँछन् । उनी असाध्यै खुशी हुन्छन् । खुशी हुँदै उनी आफ्ना बालबच्चाका लागि पिउने पानी, भोजनादि सारा चीजको प्रबन्ध गर्छन् । त्यसपछि उनले बिस्तारै–बिस्तारै त्यो धनको खानीलाई अझै निकाल्न सक्छन् । अब आफ्नो लागि ठूलो घर बनाउन सक्छन् या त सारा धन बोकेर कतै अन्यत्र जान पनि सक्लान् । अब उनी आफ्नो इच्छाअनुसार जे पनि गर्न सक्छन् ।
कतिपय मानिसहरू आफूलाई निर्धन सम्झेलान् । तर, यो कुरा धनको होइन, आनन्दको कुरा हो । उनीहरूको जीवनमा आनन्द छैन। उनीहरूको जीवनमा निराशा छ । उनीहरूको जीवनमा यस्तो– यस्तो कुरा भएको छ, जसले गर्दा तिनले आफूले आफूलाई भाग्यमानी ठान्दैनन्। यो श्वास आइरहेको छ, गइरहेको छ तर उनीहरूले आफूलाई भाग्यशाली छु भनेर महसुस गर्दैनन् । उनीहरू जीवित त छन् तर पनि स्वयंलाई भाग्यशाली ठान्दैनन् । यही त सुन हो, यही त चाँदी हो, जुन तपाईँभित्र छ। ‘यो संसारको कुनै पनि धनी मानिसले एउटा श्वास पनि किन्न सक्दैन । यति धेरै अनमोल चीज : जोसँग अर्बाैँ पैसा हुन पनि सक्ला तर उसले एउटै मात्र श्वासलाई पनि किन्न सक्दैन । तर, तपाईँ हरेक दिन त्यही श्वास लिइरहनुभएको छ ।’ जब तपाईँ यी सारा कुराहरू बुझ्न थाल्नुहुन्छ र अझ राम्रोसँग जान्न थाल्नुहुन्छ अनि भाग्यमानी त तपाईँ हुनुहुन्छ नै ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया