एमाले एक्लैले बहुमत ल्याउने गरी ‘मिसन ०८४’ को अभियान : अध्यक्ष ओली 

 अरुको वैशाखी टेक्ने होइन, हातेमालो गरेर अरुलाई सँगै लैजाने हो 



भक्तपुर ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालमा एमाले एक्लैले बहुमत ल्याउने गरी ‘मिसन ०८४’ को अभियानमा होमिएको बताएका छन् ।

आज कौशलटारमा एमाले भक्तपुरको नवनिर्वाचित कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताए । उनले एमाले स्वार्थको पछि नलागी देश र जनताको हितमा लाग्ने पार्टी भएको बताए ।

अध्यक्ष ओलीले भने ‘आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि सँगै लिएर हिँड्ने हो, अरुको वैशाखी टेक्ने होइन, हातेमालो गरेर अरुलाई सँगै लैजाने हो ।’

अध्यक्ष ओलीले मिसन ८४ यतिकै नभनेको भन्दै देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याउन खोजेको बताए । पार्टीभित्र फाटो, विभाजन र गुटबन्दी गर्नेहरूलाई ठाउँ नरहेको बताउँदै उनले जीवन्त छलफल र विचार विमर्श गर्नलाई भने ठाउँ रहेको उल्लेख गरे ।

‘पार्टीभित्र आन्तरिक संघर्षका लागि ठाउँ छैन भन्दै पार्टी भित्र सङ्घर्ष भन्ने कुरा गलत भएको भन्दै अध्यक्ष ओलीले पार्टी भित्र छलफल हुनुपर्ने बताए ।
पार्टीभित्र एकताबद्धता पहिलो रोजाई हुनुपर्ने बताउँदै ओलीले  पार्टी एकताकै कारण पार्टी सुध्याउँछु भन्नेहरू असफल भएको उल्लेख गरे ।

हाम्रो सुझबुझ र सचेत एकताले हो अन्य शक्तिहरु असफल भएका भन्दै अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए मात्रै विपक्षीहरूसँग प्रतिस्पर्धा गर्न सकिने बताए ।

ओलीले एमालेलाई निर्णायक शक्ति बन्न नदिन एकपछि अर्को मिथ्या आरोप लाग्ने गरेको बताए ।

अहिले गिरीबन्धु टी स्टेटमा आफूलाई जोडेर भ्रम फैलाउने काम भएको भन्दै ओलीले कानुन बनाएपछि एमालेलाई आरोप लगाइएको दाबी गरे । ‘गिरीबन्धु टी स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन बनायौँ कानुन बनाएपछि बेचेर खान नपाइने भयो भनेर स्याल हुइँया मच्याइएको उनको भनाई थियो ।’
एकताका कम्बोडियाको टेलिकम कम्पनीमा ३ हजार करोड राखेको  र पशुपतिमा  १०८ केजी सुन चढाए भनेर पित्तल चढायो भनेर मिथ्या आरोप लगाइएको दाबी गरे ।

ओलीले स्वच्छ प्रतिस्पर्धामा आउन र वैचारिक सङ्घर्ष गर्न नेपाली कांग्रेसलाई  चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्