समाजलाई मान्य हुनेगरी आए टिकटकसँग आपत्ति छैन : सञ्चारमन्त्री शर्मा



काठमाडौँ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानूनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छिन्।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिनेगरी टिकटकमा सामग्रीहरु उत्पादन र प्रशारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानूनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन्।

‘टिकटकको विषय पनि उठाउनुभएको छ। हामीले टिकटक, क्याबिनटेबाट नै निर्णय गरेर हामीले बन्द गरेका हौँ। अहिले यो कानूनी रुपमा भन्ने हो भने बन्दकै अवस्थामा छ। हामीले बन्द त्यो बेलामा सामाजिक मूल्य मान्यता भन्दा धेरै बढी भएको थियो,’ उनले भनिन्, ‘त्यसकारण त्यसलाई बन्द गरेर गएका हौँ। अहिले पनि हाम्रो एनटिसी लगायतका ठूला सेवा प्रदायकबाट यो खुलिरहेको छैन। कुनै आग्रह, पूर्वाग्रह भएर भन्दा पनि त्यसलाई पूर्वीय दर्शनमा अडिएको हाम्रो परिवार र समाज हो। त्यस कारणले हाम्रो समाजअनुकुल हुनेगरी प्रयोग गर्नुपर्छ।’

सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री शर्माले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गइ व्यापक छलफल हुने विश्वास व्यक्त गरिन ।

उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमँ दर्ता गर्ने प्रक्रियामा रहेको पनि बताइन्।

‘नेपालका कानूनहरू, नेपालको समाजको महत्व आफ्नै छ। यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरू आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन। टिकटक नाममा हाम्रो कुनै समस्या होइन,’ उनले भनिन्, ‘टिकटकले जुन कन्टेनहरू दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ।’

प्रतिक्रिया दिनुहोस्