जब अमरेशकुमार संसद्को  रोष्टममा नबोली उभिइरहे…



काठमाडौँ।

स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गरे ।

त्यसअघि संसद् देखावटी मात्र भएको बताएका उनले मन्त्रीहरुले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाए । ‘यहाँ छलफल भैरहेको छ, स्वास्थ्य मन्त्रीज्यु हुनुहुन्न । म प्रश्न गर्न चाहन्छु । स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यही उभिरहन्छु’ अमरेशले भने ।

त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोस्टममै रोकिन सिंहलाई आग्रह गरे । ‘माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानु भएको हुनसक्छ । यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एकछिन धैर्यतासाथ रहनुहोला’,सभामुख घिमिरेले मुस्कुराउँदै भने ।

४० सेकेण्ड बढी अमरेश रोष्टममा नै मौन बसेका थिए । स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भने,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’

त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेश प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गरे । ‘के कारणले मधेशमा रेफरल अस्पताल छैन ?’

उनले मधेशमा काजमा परेका एमबीबीएस डाक्टरहरु काठमाडौंमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन । सरकारले मधेश प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेश प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’ उनले प्रश्न गरे ।

यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभइ विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाएका छन् ।

सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्